मैत्रीपूर्ण क्रिकेटमा नेपालको जित

आदर्श समाज सम्वाददाता
माघ ७, २०७६
Nepali National Team vs Malaysia 11

पोखरा । नेपालको राष्ट्रिय क्रिकेट टोलीले पाहुना टोली मलेसियासँगको मैत्रीपूर्र्ण एक दिवसीय क्रिकेटमा जित निकालेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालको भ्रमणमा रहेको टोलीलाई फराकिलो १ सय ३५ रनले हरायो । तीन खेलको श्रृंखलामा नेपालले १ को अग्रता बनाएको हो ।

नेपालले प्रस्तुत गरेको २ सय ७८ रनको लक्ष्य पछ्याएको मलेसिया ३७ दशमलव २ ओभरमा १ सय ४२ रनमा समेटिन पुग्यो । मलेसियाका लागि सेइद अजिज र एइनुल हाकिमले समान २८/२८ रन बनाए । भिरनदिप सिंहले २४ र महम्मद अफिफले १६ रनको योगदान दिए । पाहुना टोलीका अन्य ब्याटस्म्यानले गतिलो ब्याटिङ गर्नै सकेनन् ।

पाहुना टोलीलाई सामान्य स्कोरमा समेट्न करण केसी र कमलसिंह ऐरीले समान ३/३ विकेट लिए । कुसल मल्लले २ विकेट लिन सफल भए । अबिनाश बोहोरा र पारस खड्काको नाममा १/१ विकेट रह्यो । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाएर २ सय ७७ रनको उच्च योगफल तयार पारेको थियो ।

नेपालको जितमा आरिफ शेखले शतकीय १ सय १ रनको योगदान गरे । आरिफले १ सय ५ बलमा ७ चौका र ५ छक्का प्रहार गरे । सन्दीप जोराले ५८ र करण केसीले २५ रन जोडे । कप्तान ज्ञानेन्द्र मल्ल १९, पारस खड्का १५, कुशल मल्ल १४ र सुबास खकुरेल १२ रनमा पेभेलियन फर्किए । मलेसियाका महम्मद अफिफ र प्रभानदिप सिंहले समान ३/३ विकेट लिए । नाजरिल रहमानले २ विकेट लिए ।

मैत्रीपूर्ण दोस्रो खेल मंगलबार हुनेछ । पाहुना टोली सुनसरीको इनरुवामा सम्पन्न मनमोहन स्मृति कप क्रिकेट खेल्न नेपाल आएको थियो । नेपालको टोली भने माघको तेस्रो साता नेपालमै हुने अमेरिका र ओमानसँग आइसीसी विश्वकप लिग–२ को तयारी स्वरुप पोखराको बन्द प्रशिक्षणमा छ ।

Related News

सम्बन्धित समाचार

hero news full width