संरक्षक टेनिस च्याम्पियन

आदर्श समाज सम्वाददाता
पौष १५, २०७६
Machchhapuchhe Open & Vetrans Tennis Final_Fotor

संरक्षकभुषण बज्राचार्य पोखरामा सम्पन्न माछापुच्छ्रे ओपन टेनिस प्रतियोगिताको मेन्स सिंगलतर्फ च्याम्पियन बनेका छन्। सोमबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा प्रणव खनालमाथि ३–६, ७–६ र ६–३ को कठिन नतिजा निकाल्दै संरक्षक च्याम्पियन बनेका हुन्।

च्याम्पियन बनेसँगै संरक्षकले उक्त स्पर्धाको उपाधिलाई आफ्नो पोल्टामा पारेका छन्। उनले ५० हजार, ट्रफी पुरस्कार पाए। दोश्रो स्थानमा चित्त बुझाएका प्रणवले २५ हजार सहित ट्रफी पुरस्कार प्राप्त गरे।

प्रतियोगिता अन्तर्गत ३५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा कमल भण्डारीले उपाधि रक्षा गरेका छन्। कमलले गोरखाका राजु श्रेष्ठलाई ६–३, ६–३ को सोझो सेटमा हराएका थिए। जितसँगै कमलले ५० हजार सहित ट्रफी उचाले। दोश्रो स्थानका राजुले २५ हजार सहित ट्रफी पुरस्कार प्राप्त गरे।

टेनिसकै ४५ वर्षमाथिको एकल स्पर्धाको उपाधि भने चन्द्र लामाले आफनो पोल्टामा पारे। फाइनलमा विमल गुरुङलाई ६–४, ७–५ को सोझो सेटमा पराजित गर्दै चन्द्रले उपाधि उचाल्न सफल भए। जितसँगै चन्द्रले २० हजार र उपविजेता विमलेले १० हजार सहित ट्रफी प्राप्त गरे।

प्रतियोगिता अन्तर्गत ५५ वर्षमाथिको एकल उपाधि भेट्रान च्याम्पियन कमल थापाको पोल्टामा पुग्यो। फाइनल खेलमा थापाले पोखरेली खेलाडी अनिल तुलाचनलाई ७–६ र ६–२ कै सोझो सेटमा पराजित गरे। थापाले २० हजार तथा तुलाचनले १० हजार सहित ट्रफी पुरस्कार प्राप्त गरे।

त्यस्तै, ६५ वर्षमाथिको एकल स्पर्धामा ज्ञानेन्द्र ताम्राकार प्रथम बने। ज्ञानेन्द्रले फाइनलमा दिपक श्रेष्ठलाई ४–२, ४–० को सोझो सेटले पराजित गरे।

प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंकका गण्डकी प्रमुख भुवनसिंह खत्री, प्रायोजक ट्रयाङ्कुलिटी स्पाका पोखरा प्रतिनिधि दिपेन्द्र पहारी, नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, टेनिसका अग्रज प्रशिक्षक शरद लामा लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गरे। आयोजक टेनि संघ कास्कीका अध्यक्ष दोर्जे लामाले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरे।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै