कास्कीको मादीमा एउटै फार्मका दुई सय ८० बाख्रा मरेपछि…   

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०८०
goat photo

फाइल तस्बिर

कास्की ।  मादी गाउँपालिका–१२ स्थित एक बाख्रा फार्ममा रोगका कारण दुई सय ८० बाख्रा मरेका छन् । लिपेयानीस्थित नारायणप्रसाद बरालले सञ्चालन गर्नुभएको स्पाइम स्मृति मल्टिप्रपोज एग्रो फार्मका बोयर जातका बाख्रा तीन सातामा निमोनियाका कारण मरेका हुन् ।

बरालले पछिल्ला २० दिनमा अधिकांश बाख्रा मरेर खोर रित्तै भएको र अहिले तीन वटामात्र बाँकी रहेको जानकारी दिनुभयो । बाख्रामा सुरुआतमा घाँस, दाना, पानी नखाने, सिगान बगाउने लगायतका लक्षण देखा परेको बताइन्छ ।

सुरुआतमा गत पुसमा केही बाख्रा बिरामी भएपछि औषधि गरेर निको भए पनि अहिले पछिल्लो दुईदेखि तीन सातामा सबै बाख्रा मरेको बरालले बताउनुभयो । “सुरुमा पुस अन्तिमतिर केही बाख्राले नाकबाट सिगान बगाउने, घाँसपानी नखाने, झोक्रयाउने भएपछि गाउँपालिकाका पशु प्राविधिकलाई बोलाएर उपचार गरेपछि ठीक भएका थिए”, बरालले भन्नुभयो, “तर अहिले पुनः पहिलाकै समस्या देखियो र बीस दिनमा सबै बाख्रा मरे ।”

बरालले बाख्रा मर्न थालेपछि प्राविधिकलाई बोलाएर उपचार गर्दासमेत कम नभएको बताउनुभयो । पशु प्राविधिकले रोग पत्ता लगाउनका लागि ल्यावमा परीक्षण गर्दा क्रोनिक निमोनिया पुष्टि भएको थियो । थप क्षति हुन नदिनका लागि इन्जेक्सन लगाएको भए पनि काम नगरेको बरालले बताउनुभयो । बरालले रोगका कारण ठूलो सङ्ख्यामा बाख्रा मरेपछि अनुमानित रु डेढ करोड क्षति पुगेको उल्लेख गर्नुभयो ।

बरालले केही बाख्रोको बीमा गरेपनि तीन महिनाभन्दा साना पाठापाठीको नभएको जानकारी दिनुभयो । पेसाले शिक्षक बरालले विसं २०७४ देखि व्यावसायिक रुपमा बाख्रापालन व्यवसाय गर्दै आउनुभएको थियो । बाख्रासँगै उहाँले कुखुरापालन गर्नुभएको छ । बरालले गत वर्ष बाख्रापालनबाट रु ३८ लाखको आम्दानी गर्नुभएकामा यसवर्ष रु ५० लाखको बिक्री गर्ने योजना बनाउनुभएको थियो ।

“सानो उमेरदेखिनै कृषि गर्ने चाहनाले बाख्रा र कुखुरा पाल्न सुरु गरेँ । अहिले एकाएक सबै सकियो, ठूलो क्षति हुँदा धेरै पीडा भएको छ”, बरालले भन्नुभयो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले मरेका पशुको प्रयोगशालामा ल्याएर थप परीक्षण भइरहेको जानकारी दिनुभयो ।

हालसम्म निमोनियाका कारणले क्षति पुगेको भए पनि अन्य कारणसमेत खोजी भइरहेको पाण्डेले बताउनुभयो । “विज्ञ केन्द्रमा समेत ढिला गरी जानकारी आएको थियो । त्यसपछि हामीले रोग नियन्त्रणका लागि केन्द्रबाट र प्रयोगशालाबाट समेत पशु चिकित्सकलाई पठाएर परीक्षण गरेका हौँ । धेरै ढिला भएकाले उपलब्धि भएन”, उहाँले भन्नुभयो ।

सो वडाका अध्यक्ष कृष्णराज दाहालले बरालद्वारा सञ्चालित बाख्रा फार्म पालिकाकै नमुना भएको भन्दै उक्त क्षतिले आफूहरुलाई समेत दुखित बनाएको बताउनुभयो । पीडित किसानलाई राहतका लागि पालिका, प्रदेश सरकार लगायतसँग पहल गरिने दाहालले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

  • अन्नपूर्णमा धानखेती तालिम

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका वडा ३ र ४ मा धान खेतीसम्बन्धी तालिम भएको छ । अन्नपूर्ण गाउँपालिका कृषि शाखाको आयोजनामा…
  • किसानलाई मौरीसहितको घार अनुदानमा   

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    दमौली । बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । उनीहरू आय बढाउन…
  • ‘कुखुरा कल्याणमा केज प्रणाली अनुपयुक्त’

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । नेपालमा अण्डा उत्पादनका लागि प्रयोग भइरहेको केज प्रणाली कुखुरा कल्याणका लागि उपयुक्त नरहेको अधिकारकर्मीले बताएका छन् । एनिमल…
  • पशु स्वास्थ्य प्राविधिकलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । पशु स्वास्थ्य तथा पशु सेवा परिषद् ऐन र यसका प्रावधानका बारेमा पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा काम…
  • माझठानाका कृषकलाई तालिम

    आदर्श समाज सम्वाददाता चैत्र २१, २०८०
    पोखरा । पोखरा २८, माझठानामा एकीकृत शत्रुजीव (आइपिएम) तालिम भएको छ । कृषि ज्ञान केन्द्र, कास्कीको आर्थिक सहयोगमा गत २…

hero news full width