‘अडिएका पाइला’ लिई आए विष्णु सापकोटा

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०८०
bishnu sapkota

काठमाडौं । विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’ लोकार्पण भएको छ । काठमाडौंको प्रज्ञा–प्रतिष्ठानको डबलीमा शनिबार आयोजित एक कार्यक्रममा लेखक मञ्जुश्री थापा र लेखक विष्णु सापकोटाले पुस्तक लोकार्पण गरे ।

कार्यक्रममा लेखक तथा अनुवादक मञ्जुश्री थापाले पुस्तकमा बौद्धिक तहका युवाहरूको एउटा जेनरेसनको चित्रण रहेको बताइन् । सापकोटाले यति सुन्दर उपन्यास ल्याएकामा उनले बधाईसमेत दिइन् । ‘विश्लेषणात्मक विचार लेख्नुहुने विष्णुजीले किन उपन्यास लेख्नुभयो भनेर ममा प्रश्न उब्जिएको थियो, उपन्यासकै विषयवस्तु गैरआख्यान विधामा पनि लेख्न मिल्थ्यो,’ लेखक मञ्जुश्रीले भनिन्, ‘पढ्दै गर्दा थाहा पाएँ, उपन्यासको विषय भावना हो, हरेक पात्रको भित्री संसार खुलाएर, नजिकबाट लेख्न मिल्छ । उहाँले प्रेममा हुने भावनात्मक गल्तीलाई नजिकबाट यस उपन्यासमा दर्साउनुभएको छ ।’

पुस्तकमा त्रिभुवन विश्वविद्यालयको आन्तरिक वातावरणको राम्ररी चित्रण गरिएको छ । ‘यो क्याम्पस नोबेल हो, यो एउटा प्रेम कथा हो । यो उत्तरद्वन्द्वकथा हो, यस उपन्यासमा क्रान्तिपछिको युवापुस्ताले खोजेको परिवर्तन र उनीहरूमा रहेको दुविधाको राम्ररी चित्रण गरिएको छ,’ थापाले भनिन्, ‘हाम्रो समाज कति तरल छ भनेर त्रिभुवन विश्वविद्यालयका माध्यमबाट देखाइएको छ । म आफू त्रिभुवन विश्वविद्यालय नपढेकी हुनाले पुस्तकमा उल्लेख गरिएका विषयवस्तुले मलाई अति नै छोए । चासोपूर्वक पढें ।’
पुस्तकमा पात्रहरू एकै उमेरका रहेको र जसले के गर्दा ठीक, के नगर्दा ठीक भन्ने उमेरका युवाहरूको चित्रण गर्ने उनको भनाइ छ ।

पुस्तकबारे लेखक नारायण वाग्लेले यस उपन्यासमा प्रेममा राजनीति र राजनीतिमा प्रेमको चित्रण भएको बताए । उपन्यासको पाण्डुलिपिसमेत पढेका लेखक वाग्लेले भनेका छन्, ‘पात्रहरू सबै एउटै तरिकाले बोल्छन् भन्नु यो उपन्यासको एउटा आलोच्य पक्ष होला, तर यो कथाको यो पनि एउटा शैली सावित हुन पुग्नेछ । यसमा कीर्तिपुरको गजब चित्रण छ, जो भोगेर मात्र लेख्न सकिन्छ ।’

अडिएका पाइलाका लेखक विष्णु सापकोटा आजबाट उपन्यासका पात्रलाई बिदाई गरेको भन्दै भावुक भए । ‘मैले उपन्यास लेख्नुपर्ने भएर लेखेको हुँ,’ सापकोटाले भने, ‘मैले सपनामा एक चिज देखें, त्यो चित्र मलाई बारम्बार स्मरणमा आइरह्यो । कथा घट्यो अनि उपन्यास लेखें । लेख्न बसौं भनेर उपन्यास लेखेको हैन ।’

को हुन् सापकोटा ?  
बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट एमफिल गरेका विष्णु सापकोटा दर्शन र सिद्धान्तमा रुचि राख्छन् । त्रिभुवन विश्वविद्यालयमा केही वर्ष अङ्ग्रेजी साहित्य प्राध्यापन गरेका उनी अहिले एक अन्तर्राष्ट्रिय संस्थाको नेतृत्वदायी भूमिकामा क्याम्बोडियामा कार्यरत छन् । उनले दुई दशकदेखि समाज, साहित्य र राजनीतिमाथि लेख्दै आएका छन् । ‘अडिएका पाइला’ उनको पहिलो उपन्यास हो ।

उपन्यासबारे  
तीक्ष्ण दिमाग र पाको स्वभावकी अनसूया दर्शनमा रुचि राख्छिन् । भर्खर विश्वविद्यालयको पढाइ सकेर अध्यापन थालेका अस्तित्व विद्यार्थीबीच प्रिय छन् । जीवनका गहिरा प्रश्नको मन्थनमा आफैंसँग रमाइरहेका तिनै अस्तित्वलाई एक नियतिजन्य भेटले अनसूयासँग जोड्छ । एकअर्कासँगको सामीप्य उत्कर्षमा पुगेका बेला उनीहरु थाहै नपाई सामाजिक रूपमा टाढा हुन थाल्छन् ।

जीवनका बाटा अलग हुन थाले पनि उनीहरू दुवैको समय त्यही बिन्दुमा रोकिए जस्तो हुन्छ, जतिखेर उनीहरू भौतिक र मानसिक रूपमा सँगै हुन्छन् । कथाको एक नाटकीय मोडमा संवेदनशील वन्दनाको निर्दोष प्रवेश हुन्छ । अनसूया र अस्तित्वको खास समस्या के होला भनेर बुझ्दाबुझ्दै उनी आफू स्वयम् उनीहरुको जटिलताको अंश बन्न पुग्छिन् ।
अनौठो प्रेमकथालाई सूक्ष्म रूपमा बुनिएको उपन्यास अडिएका पाइलामा पात्रका सम्बन्ध पटाक्षेप हुँदै गर्दा पाठकले एउटा बौद्धिक उडान भरेको महसुस गर्नेछन् ।

Related News

सम्बन्धित समाचार

  • बेलायतमा ‘प्रकट’ र ‘पारिजात’को स्मरण

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेलायत शाखाले साउथ ह्यारोमा विविध कार्यक्रमका साथ साहित्यकार प्रकट पगेनी शिवको श्रद्धान्जली सभा…
  • ७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताउनुभएको छ । शनिबार गण्डकी…
  • नरहरिको उपन्यास ‘शान्ति’ लोकार्पण

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । शिक्षासेवी तथा साहित्यकार नरहरि भट्टराईको शान्ति नायक उपन्यास शनिबार लोकार्पण गरिएको छ । शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको…
  • ‘क्यानभास’ मा धार्चेको कलासंस्कृति र भूगोल

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    काठमाडौं । मनास्लु र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारका रूपमा रहेको गोरखाको धार्चे गाउँपालिकाका कलासंस्कृति र भूगोललाई ‘क्यानभास’ मा उतारिएको…
  • गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवको…

hero news full width