डा. भेषबहादुर थापाको पुस्तक ‘राष्ट्र–परराष्ट्र’ लोकार्पण

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०८०
rastra pararastra

पोखरा ।  पूर्वपरराष्ट्रमन्त्री, पूर्वराजदूत एवम् नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. भेषबहादुर थापाको आत्मसंस्मरणात्मक पुस्तक ‘राष्ट्र–परराष्ट्र : एकतन्त्रदेखि गणतन्त्रसम्म’ लोकार्पण भएको छ । काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा मंगलबार आयोजित एक विशेष समारोहबीच सांसदद्वय डा. स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ, पत्रकारद्वय सुधीर शर्मा, हरिबहादुर थापा र लेखक डा. भेषबहादुर थापाले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।

पुस्तकमा डा. थापाले आफूले बाँचेको परिवेश, अपनाएको पेसा र सङ्गत गरेका पात्रहरूको सुन्दर एवम् सजीव चित्रण गरेको सांसद डा. स्वर्णिम वाग्लेले बताए । ‘यस पुस्तकमा काजी खलकको कथा, कर्तव्य, दायित्वको सन्तुलन, पात्रहरूका विराट् सम्बन्धहरूको कूटनीतिक व्याख्या छ,’ डा. वाग्लेले भने, ‘डा. थापाको यो पुस्तक कर्तव्य र सेल्फ इन्ट्रेस्टको सन्तुलन हो । जिम्मेवारीको सामाजिक र आर्थिक पक्षको डकुमेन्टेसन पनि हो ।’

पुस्तकमा डा. थापाले आफ्नो कर्मजीवन एवम् पारिवारिक जीवन आदि विविध पक्षको चित्रण जीवन्त रूपमा आए पनि कतिपय विषयवस्तुमा थप व्याख्या र विस्तार आवश्यक रहेको सांसद सुमना श्रेष्ठले बताइन् । ‘म जस्ता युवाका लागि देशको अतीतको ज्ञान दिन यो पुस्तक सहयोगी छ । मलाई लाग्छ, अर्को यस्तै पुस्तक पनि डा. थापाको आउनुपर्छ ।’

पुस्तक पुस्ता हस्तान्तरणको एउटा दस्तावेज रहेको उनको भनाइ छ । नेपालको कूटनीतिदेखि शासन–प्रशासनसम्मका विषयमा रहेका वास्तविकता पुस्तकमा रहेकाले यसले वर्तमान पुस्तालाई देशको विगत बुझाउन सहयोग पुग्ने उनले जनाइन् ।

डा. भेषबहादुर थापाले जीवनको ६५ वर्ष राज्यका लागि कूटनीतिक जिम्मेवारीमा बिताएको भनिदिए पनि हुने लेखक तथा पत्रकार सुधीर शर्माले बताए । ‘यो पुस्तक पढ्दा उहाँ नेतृत्वको भन्दा पनि देशप्रति उत्तरदायी रहेको बुझ्न सकिन्छ,’ उनले भने, ‘उहाँलाई राजाको मान्छे भन्ने गरिए तापनि राजदरबारसँगै टसल परेको पनि देखिन्छ ।’ पुस्तकमा आवश्यकताभन्दा बढाइचढाइँ गरी केही पनि नलेखिएको उनले जनाए ।

पुस्तकमा डा. थापाले २००७ सालपछि नेपाल कसरी फरक हुँदै आयो, वैदेशिक सम्बन्ध कसरी अघि बढ्यो, पञ्चायतकालीन समयको शासन–प्रशासन केकसरी चल्यो आदि विषयमा व्याख्या–विश्लेषण गरेको शर्माको भनाइ छ । त्यति मात्र नभएर राजदरबार, राजा र वैदेशिक सम्बन्ध आदिमा पनि पुस्तकले विशेष जानकारी दिने उनले बताए । भारत होस् या अमेरिका, अथवा दौत्य सम्बन्ध भएका अरू कुनै देश, तिनीसँगको कूटनीतिक सम्बन्ध कसरी अघि बढ्यो भन्ने विषयमा पनि पुस्तक विशेष रहेको उनको भनाइ छ ।

डा. भेषबहादुर थापाको जीवनीमा आधारित पुस्तक ‘राष्ट्र–परराष्ट्र’ पत्रकार हरिबहादुर थापाले सहलेखन गरेका हुन् । कार्यक्रममा पत्रकार थापाले पुस्तक लेखनको अनुभवसमेत साझा गरे । ‘यो पुस्तक ०७० साउनमा लेख्न सुरु गरिएको हो । तर डाक्साबको पारिवारिक वियोगका कारण काम बीचमा रोकियो । अनि हामीले पनि पुनः पुस्तक लेखन अघि बढाउन उहाँलाई आग्रह गर्न सकेनौं । पछि मात्र उहाँकी छोरी मञ्जुश्रीको पहलमा यो पुस्तकलेखन सकियो ।’

यो पुस्तक डा. भेषबहादुर थापाले देखेको, भोगेको अनुभव रहेको पत्रकार थापा बताउँछन् । पुस्तक नितान्त डा. थापाको अनुभवमा आधारित रहेको र देश चिन्नुपर्छ भन्नेले यो पुस्तक पढ्नुपर्नेमा उनले जोड दिए ।  ‘डा. थापाले २० वर्ष नेपालमै बसेर र २० वर्ष विदेशमा बसेर नेपालका लागि काम गरेकाले पुस्तकको नाम ‘राष्ट्र–परराष्ट्र’ राखिएको हो,’ उनले भने ।

संस्थागत ज्ञानलाई लिपिबद्ध गर्ने परिपाटी कम रहेको परिप्रेक्ष्यमा यो पुस्तकले संस्थागत ज्ञानको अभावलाई पूर्ति गर्ने पुस्तक प्रकाशक फाइनप्रिन्टका प्रकाशक अजित बरालले बताए । ‘राज्य सञ्चालनको जिम्मेवारी पाएका केही व्यक्तिले मात्रै यो पुस्तक पढे भने यो पुस्तकले सार्थकता पाउँछ,’ उनले भने ।

कार्यक्रममा लेखक डा. थापाले आफ्नो व्यावसायिक जीवनलाई पछि फर्केर हेर्दा पुस्तकले यस रूपमा आकार लिएको जनाए । त्यसैले पुस्तकमा आफूले आफ्नो निजी जीवनभन्दा पनि व्यावसायिक जीवन र देशका लागि जुट्दा–खटिँदा देखे–भोगेको अवस्थालाई चित्रण गरेको उनको भनाइ छ ।

को हुन् थापा ?
अमेरिकाको क्लेरमन्ट कलेजमा विद्यावारिधि गर्दागर्दै २४ वर्षको सानो उमेरमा राष्ट्रिय योजना परिषद्का सदस्यसचिव भएका डा. भेषबहादुर थापासँग नेपालको आर्थिक तथा कूटनीतिक मामिलामा छ दशकभन्दा लामो अनुभव छ । नेपाल राष्ट्र बैङ्कका गभर्नर, अर्थमन्त्री, परराष्ट्रमन्त्री र अमेरिका अनि भारतका लागि राजदूत भइसकेका थापा पछिल्लो समय नेपालका तर्फबाट नेपाल–भारत प्रबुद्ध समूहका संयोजक थिए ।

अमेरिकाको विश्वविद्यालय क्लेरमन्टमा पढिरहेका २४ वर्षे भेषबहादुर थापालाई राजा महेन्द्रले राष्ट्रिय योजना परिषद्को सदस्यसचिव बनाए । त्यसपछि उनी अर्थसचिव भए । नेपाल राष्ट्र बैङ्कका गभर्नर बने । राजा वीरेन्द्रका पालामा अर्थमन्त्रीको जिम्मेवारीसमेत पाए । ४० वर्ष नकट्दै यी महत्त्वपूर्ण जिम्मेवारी पाएका थापा पछि परराष्ट्रमन्त्री पनि बने; अमेरिका तथा भारतका लागि राजदूतसमेत भए । अझ पछि नेपाल–भारत प्रबुद्ध समूहअन्तर्गत नेपालतर्फका संयोजक बने ।

अस्थिर परिवर्तनहरुबाट गुज्रिएको नेपालको लामो कालखण्डलाई डा. थापाले प्रत्यक्ष हेर्न र भोग्न पाए । यस पुस्तकमा उनले त्यही समयलाई पुनर्दृष्टि दिने जमर्को गरेका छन् । २००७ सालको परिवर्तन, २०१७ सालको प्रतिपरिवर्तनदेखि गणतन्त्र नेपालसम्मका राजनीतिक आरोहअवरोह, आर्थिक मामिला, परराष्ट्र नीति तथा कूटनीतिक अभ्यास जान्न पुस्तक उपयोगी छ । यो पुस्तक देशको आर्थिक, राजनीतिक र कूटनीतिक पाटाहरुको ‘भित्रिया वृत्तान्त’ हो ।

Related News

सम्बन्धित समाचार

  • बेलायतमा ‘प्रकट’ र ‘पारिजात’को स्मरण

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेलायत शाखाले साउथ ह्यारोमा विविध कार्यक्रमका साथ साहित्यकार प्रकट पगेनी शिवको श्रद्धान्जली सभा…
  • ७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताउनुभएको छ । शनिबार गण्डकी…
  • नरहरिको उपन्यास ‘शान्ति’ लोकार्पण

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । शिक्षासेवी तथा साहित्यकार नरहरि भट्टराईको शान्ति नायक उपन्यास शनिबार लोकार्पण गरिएको छ । शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको…
  • ‘क्यानभास’ मा धार्चेको कलासंस्कृति र भूगोल

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    काठमाडौं । मनास्लु र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारका रूपमा रहेको गोरखाको धार्चे गाउँपालिकाका कलासंस्कृति र भूगोललाई ‘क्यानभास’ मा उतारिएको…
  • गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवको…

hero news full width