अन्नपूर्णका युवालाई ट्रेकिङ गाइड तालिम

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७९
annapurna training (2)

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाका युवालाई आर्थिक पुनरुत्थान र जीविकोपार्जनसँग जोड्ने उद्देश्यले सोमबारदेखि ट्रेकिङ गाइड तालिम सुरु भएको छ । नवप्रवद्र्धन साझेदारी कार्यक्रमअन्तर्गत पर्यटनमैत्री प्रविधिमैत्री नमूना अन्नपूर्ण गाउँपालिका परियोजनामार्फत तालिम सुरु गरिएको हो ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको प्राविधिक सहयोगमा सुरु भएको तालिममा पदयात्रासँग सम्बन्धित विभिन्न सैद्धान्तिक र प्रयोगात्मक कक्षामार्फत् सहभागीलाई प्रशिक्षण दिइनेछ ।

पन्ध्र दिनसम्म सञ्चालन हुने तालिममा अन्नपूर्ण गाउँपालिकाका ११ वटै वडाका करिब ३५ जना युवा सहभागी छन् । तालिममा सहभागीलाई पर्वतीय प्रशिक्षण प्रतिष्ठानको सहयोगमा परीक्षा सञ्चालन गरिनेछ । उत्तीर्ण युवालाई लाइसेन्ससमेत दिइने कार्यक्रम संयोजक एवं सूचना प्रविधि अधिकृत ई. सूर्य तिमिल्सिनाले बताए ।

तालिममा प्रमुख प्रशाकीय अधिकृत खेमराज देवकोटाले गाउँपालिकाले एकीकृत पर्यटक सूचना केन्द्र सञ्चालन गर्न लागेको जानकारी दिए । उनले गाउँपालिका क्षेत्रभित्र आवश्यक दक्ष जनशक्ति गाउँपालिकामै उत्पादन गर्ने र बेरोजगार युवालाई पर्यटन र रोजगारसँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गर्न लागिएको बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशका सचिव मनमाया भट्टराई पंगेनीले बेरोजगार युवालाई देशमै केही गर्ने वातावरण तयार गरेर अन्नपूर्ण गाउँपालिकाले सराहनीय काम गरेको बताइन् ।

कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले काठमाडौं गएर लिनुपर्ने तालिम गाउँपालिकाले गाउँमै आयोजना गरेको हुँदा तालिमको भरपुर सदुपयोग लिन सहभागीलाई आग्रह गरिन् ।

अन्नपूर्ण आधार शिविर, घान्द्रुक जस्ता पर्यटकीय गन्तव्य रहेको पालिकामा पहिलो पटक स्थानीयस्तरमै निशुल्क रुपमा तालिम सञ्चालन गर्न लागेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width