समालोचक न्यायधीश र लेखक अभियुक्त : सरुभक्त

अशोक थापाको कथा संग्रह सन्तापको धूनमाथि परिचर्चा

आदर्श समाज सम्वाददाता
असाेज ४, २०७९
Santapko dhun

पोखरा। साहित्यकार सरुभक्तले लेखक अभियुक्त र समालोचक न्यायाधीशको भूमिकामा रहने विचार व्यक्त गरेका छन् । कथाकार अशोक थापाको कथा संग्रह सन्तापको धून को परिचर्चा कार्यक्रममा उनले सो धारणा राखेका हुन् । कुनै पनि साहित्यकारको कृति प्रकाशित भइसकेपछि उक्त लेखक अभियुक्तका रूपमा उभिने, अधिवक्ताका रूपमा पाठकहरूले विभिन्न बहसहरू गर्ने र समालोचकले फैसला गर्ने उनको भनाइ थियो ।

समालोचकले नजिक र टाढाको लेखकलाई हेरेर कसैलाई गाली बर्साउने त कसैलाई देवत्वकरण गर्ने गरेको वर्तमानलाई इङ्गित गर्दै उनले समालोचकहरूले पछिल्लो समय न्यायाधीशको झैँ निष्पक्ष भूमिका निर्वाह गर्न नसकेकोमा चिन्ता व्यक्त गरे । साथै उनले समालोचकहरूले पनि आफ्नो कार्यमाथि पनि समालोचना हुन्छ भन्ने सत्यलाई सधैँ आत्मसात गर्दै कृतिमाथि निष्पक्ष दृष्टिकोण प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।

समालोचकसमेत रहेका डा. अशोक थापा कथाकारका रूपमा प्रवेश गरेकाले उनले दुईओटा डुङ्गामा खुट्टा राखेको उल्लेख गर्दै सरुभक्तले निकै सुझबुझसँग अगाडि बढ्न आग्रहसमेत गरे ।

पुस्तकमाथि समीक्षा प्रस्तुत गर्दै प्रा.डा. रामचन्द्र पोखरेलले लेखकले नेपाली समाजको आफ्नो युगको यथार्थ चित्र प्रभावकारी ढङ्गबाट प्रस्तुत गरेको बताए । पुस्तकले मानवीय संवेदनालाई स्पर्श गर्दै नवीनता पस्कन सकेको भन्दै प्रशंसा गरे ।

कृतिमाथि टिप्पणी प्रस्तुत गर्दै आख्यानकार गनेस पौडेलले कृतिको लेखनशैलीले आफूलाई प्रभावित तुल्याएको धारणा राखे । उनले अगाडि थपे–‘संस्कृतिविनाको साहित्य साहित्य हुँदैन।’ अशोकले यस कृतिमा नेपाली कथाको किस्सा शैलीलाई बडो गजबले कथामा प्रस्तुत गरेको बताए । साथै उनले कथा प्रस्तुत गरिरहँदा केही कथामा समालोचकीय व्यक्तित्वको प्रभावले कथानकमा असर परेको भन्दै आगामी कृतिमा त्यसलाई कम गर्न सुझावसमेत दिए ।

कृतिको समीक्षा गर्दै समीक्षक रीता अधिकारीले पुस्तकमा आमाको कथा, पुरुष सत्ताको हैकम आदि विषयलाई निकै मर्मस्पर्शी ढङ्गबाट कथामा उठान गरिएको बताइन् । नारीले भोग्ने पीडा, नारीमाथिका विभेद, विद्यालयीय प्रेम लगायतका सन्दर्भलाई सुन्दर भाषामा प्रस्तुत गरिएकाले कृति पठनीय बनेको निष्कर्ष प्रस्तुत गरिन् ।

लेखक अशोक थापाले पहिले ठुलाठुला विषय खोज्दै हिँड्नाले लामो समयसम्म साहित्य सिर्जना गर्न नसकेको अनुभव सुनाए । साथै उनले जुन दिनदेखि सिर्जनाका लागि मसिना विषय नै बढी प्रभावकारी हुने कुरा महसुस भयो, त्यस दिनदेखि सिर्जना गर्न थालेको बताए ।

‘सन्तापको धून’ कथा सङ्ग्रहको प्रकाशक संस्था पेज टर्नरका प्रवन्ध निर्देशक भरत पौडेलले प्रकाशनका क्षेत्रमा बामे सर्दै गरेको संस्थाले निकै सुन्दर कृतिलाई पहिलो कृतिका रूपमा पस्कन पाएकोमा खुसी व्यक्त गरे । पुछारसिटे अभियानका सुरज उपाध्यायको अध्यक्षतामा भएको सो कार्यक्रममा अभियानकै सन्दीप अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन सञ्जीव पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts