एनटिसीको फोरजी सेवा ढोरपाटनमा पनि

आदर्श समाज सम्वाददाता
फागुन २३, २०७८
Dhorpatan ma 4 Gd

पोखरा । नेपाल टेलिकमले ढोरपाटनमा चौंथो पुस्ताको फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । वि.सं २०७५ वैशाखमा माइक्रो वेभ रेडियो लिंकमार्फत टुजी र थ्रिजी सेवा बिस्तार गरेको टेलिकमले शनिबारदेखि फोरजी सेवा शुभारम्भ गरेको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिए ।
उनले ढोरपाटन उपत्यका पर्यटकीय एवं धार्मिक महत्व बोकेको गन्तव्य भएकोले टेलिकमले उक्त क्षेत्रमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान गरी उच्च गतिको इन्टरनेट (मोबाइल डाटा) र गुणस्तरिय एचडी कल सुविधाको भिओ एलटिईसहितको फोरजी सेवा सञ्चालनमा ल्याइएको बताए । शर्माले भने,‘भौगोलिक विकटता र दूरदराजमा रहेका नागरिक अनि त्यहाँ पुग्ने पर्यटक लक्षित यो सेवा शुभारम्भ गरेका हौं यसबाट स्थानीयबासी र त्यहाँ पुग्ने पर्यटकहरु लाभान्वित हुनेछन् ।’
यसभन्दा पहिला उक्त टावरमा विद्युत नहुँदा सोलार सेटमार्फत टावर सञ्चालनमा थियो जसका कारण हिमपात र राम्रोसँग घाम नलागेको समयमा नेटवर्क डिस्टर्ब हुने समस्या थियो अब भने विद्युत जडान भएसँगै उक्त समस्या हटेको छ । ढोरपाटन भुजीखोला लघु जलविद्युत आयोजनासँगको समन्वय, जनप्रतिनिधि, त्यहाँ रहेको नेपाली सेना र स्थानीयवासीको सहयोगमा नेपाने डाँडामा विद्युत सेवा पु¥याइएको हो । विद्युत पु¥याउन टेलिकमले समेत बजेट व्यवस्थापन गरेको थियो ।
बागलुङ सदमुकामदेखि १ सय २४ किलोमिटर पश्चिममा अवस्थित ढोरपाटन नगरपालिका ९ नेपाने डाँडामा २५ मिटर अग्लो स्थायी संरचनासहितको टावर निर्माण गरी आफ्नो सेवा प्रवाह गरेको टेलिकमले जनाएको छ ।
फोरजी सेवा सञ्चालनमा आएसँगै ढोरपाटन नगरपालिका वडा नं ९ का फल्लेघर, पाखाथर, छ्यान्तुङ गुम्बा, उत्तरगंगा, बिजौरी खोला, गहुँखेत, नबिगाउँ, भण्डारी गाउँ सँगै ढोरपाटन उपत्यकाका झण्डै ३ हजार घरधुरी र त्यहाँ घुम्न जाने पर्यटकहरु प्रत्यक्ष लाभान्वित भएको ढोरपाटन भुजीखोला लघु जलविद्युत आयोजनाका अध्यक्ष चुनाबहादुर घर्तीमगरले जानकारी दिए ।
समुन्द्र सतहदेखि ३ हजार २ सय मिटरको उचाइमा अवस्थित पर्यटकीय स्थल ढोरपाटन उपत्यकामा मोबाइल सेवा सञ्चालनको लागि ढोरपाटन नगरपालिका वडा नं ८ को बोबाङमा रिपिटर स्टेसन राखी माइक्रोवेभ रेडियो लिंकमार्फत् सेवा सञ्चालन गरिएको छ ।
अब कपिलवस्तु सालझण्डी देखि ढोरपाटनसम्मको सडकअन्तर्गत बोबाङदेखि ढोरपाटन उपत्यका र ढोरपाटन सिकार आरक्ष सम्मका भूभागमा मोबाइल सेवा पुगेको ढोरपाटन नगरपालिका वडा नं ९ का वडा अध्यक्ष हरिबहादुर घर्तीले बताए ।
यस अघि टेलिकमले उक्त स्थानमा विसं २०६३ देखि पुरानो भिस्याट प्रविधि प्रयोग गरी तार लाइन टेलिफोन, क्रमश सिडिएमए सेवा र जिएसएम टुजी सेवा सञ्चालन गरेको थियो । भिस्याट प्रविधिमा भ्वाइसमा सीमित क्षमता र डाटा चलाउन नमिल्ने भएकोले ढोरपाटनवासी र त्यहाँ पुग्ने पर्यटकहरुले सञ्चार सेवा सहजै उपभोग गर्न पाएका थिएनन् ।
भौगोलिक विकटता विविध कठिनाईका बाबजुत ग्रामीण क्षेत्रका जनतालाई सञ्चारको पहुँचमा जोड्न टेलिकमले ढोरपाटन उपत्यकामा जिएसएम मोबाइल सेवालाई स्तरोन्नति र विद्युतीकरण गर्न १ वर्षदेखि गृहकार्य गरिरहेको थियो ।
फोरजी मोबाइल सेवा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा गुणस्तरीय भ्वाइस तथा मोबाइल डाटामार्फत इन्टरनेट चलाउन सहज भएको टेलिकमले जनाएको छ । ढोरपाटन उपत्यका पर्यटकीय र सिकार आरक्षणको हिसाबले अत्यन्तै महत्वपूर्ण ठाउँ हो । त्यहाँ पुग्ने पर्यटक र उपत्यकावासीले यस क्षेत्रको प्रचारप्रसार र सूचना आदानप्रदानका निमित्त मोबाइल सेवा सञ्चालन भएसँगै सहज भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width