मोदीमा कृषि उद्यमको प्रवद्र्धन र बजारीकरण मेला

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७८
modi pradarsani newsd

पर्वत । ‘स्थानीय उत्पादनले स्टलहरु भरिभराउ, आकर्षक सामग्रीले सबैतिर झकिझकाउ । पालिकाभरिका हजारौं किसानहरु एउटै ठाउँमा भेला भएका थिए । गाउँगाउँमा उत्पादन भएका उद्यमका सामग्री र कृषि उपजले प्रदर्शनीमा स्टल भरभराउ थिए । दर्शकहरु आफ्नै गाउँघरमा उत्पादित आकर्षित र अनौठा सामग्रीहरुमा केन्द्रित भएका थिए । कोही कोदोको मम खाँदै थिए त कोही स्थानीय कला सांस्कृतिक क्रियाकलापमा रमाउँदै थिए । यो दृश्य थियो, पर्वतको मोदी गाउँपालिकाको । मोदी गाउँपालिकाले जिल्लामै नमुना रुपमा स्थानीय लघु उद्यम तथा कृषि उद्यमको विकास, प्रवद्र्धन र बजारीकरण गर्न र स्थानीय उद्योमीलाई प्रोत्साहन र हौसला प्रदान गर्ने उद्देश्यले पालिकामा पहिलोपटक प्रदर्शनी मेला आयोजना गरेको छ ।
सातौं उद्योग दिवस–२०७८ को अवसरमा वडा नं.२ पातीचौरमा ३ दिने लघु, घरेलु कृषि पशु उद्यम प्रर्दशनी कार्यक्रम यहीं मंसिर ९ गते सुरु भई ११ गते सकिएको छ ।
उद्घाटन कार्यक्रममा मोदी गाउँपालिका अध्यक्ष प्रेम पौडेलले पालिकाको विकास र समृद्धिका लागि उद्यम क्षेत्रमा देशभरकै स्थानीय सरकारहरुले भन्दा नमुना कार्यक्रम संचालन गरि परिणाममुखी कार्य गरेको बताए ।
शिक्षा,स्वास्थ्य, पूर्वाधारसँगै कृषि,पर्यटनलाई जोड दिँदै स्थानीय स्रोत साधनको प्रयोग गरी उद्यमशीलताका कार्यक्रमहरु सञ्चालन गरेको उनले बताए । तिनै तहका सरकार र कर्मचारीहरुसँग सकारात्मक समन्वय सहकार्य गर्दै जनमुखी कार्यक्रम सञ्चालन गरेको पौडेलले दाबी गरे । उनले भने, ‘हाम्रो कार्यकाल सकिनै लाग्यो, चुनावताका जनतालाई बोलेका कुरा पूरा गर्दै छौं, हाम्रा गतिविधि बाहिर त्यति प्रचार नभए पनि हामी परिणाममुखी काम गरेका छौं । ‘लघु,घरेलु उद्योम कृषि र पशु उद्यमको प्रवद्र्धन र बजारीकरणमा उक्त कार्यक्रमले टेवा पु¥याउने पौडेलको भनाइ थियो । कार्यक्रममा पालिकाकी उपाध्यक्ष तथा उक्त कार्यक्रमका संयोजक सेती महतले सबैसँग सहकार्य गर्दै योजनाबद्ध तरिकाले दिगो र प्रभावकारी कार्यमा जोड दिएको बताइन् । आफू पनि एक उद्यमी भएको र सबैलाई उद्यममा लाग्न प्रोत्साहन गर्दै उद्यमशीलको विकास र प्रवद्र्धनका लागि नमुना र अनुकरणीय कार्य गर्दै आइरहेको बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले स्थानीय उत्पादनको प्रवद्र्धन उद्यमीहरुलाई प्रोत्साहन, बजारीकरण र प्रचारप्रसार गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताए । स्थानीय उत्पादन, कृषि,पर्यटन, कला र संस्कृतिको प्रवद्र्धनमा कार्यक्रमले जोड दिएको उनले बताए । प्रदर्शनीमा १५ वटा स्टलमा पालिकाभित्रका ८ वटै वडाहरुमा उत्पादित वस्तुहरुलाई समावेश गरिएको छ । पालिकाभित्रका लघु उद्योगमा उत्पादित अल्लोका सामनहरु, ढाका तथा उनीका होजियारी सामग्रीहरु, नेपाली हाते कागज, कृषि उपज, सिस्नो पाउडर, लप्सीका परिकार, होम स्टेका परिकारहरु प्रदर्शनीमा राखिएको थियो ।
समारोहमा जिल्ला समन्वय समिति पर्वतका सदस्य नन्दलाल सुवेदी, मोदी गाउँपालिका वडा १ का अध्यक्ष गौप्रसाद गुरुङ, मोदी ७ का अध्यक्ष वसन्तबहादुर गुरुङ, उद्यम विकास शाखा प्रमुख सीता शर्मा लगायतले बोलेका थिए ।
मोदीमा कृषिका २२ वटा कार्यक्रम संचालन ।
कृषि शाखा प्रमुख कृषि अधिकृत मनीषा महतले मोदी गाउँपालिकामा कृषिको क्षेत्रमा किसानमुखी नवीनतम कार्यक्रम सञ्चालन भएको बताइन् । पालिकालाई कृषिमा आत्मनिर्भर बनाउन र किसानलाई आयआर्जनमा जोड्न विभिन्न किसिमका २२ वटा कृषि कार्यक्रम सञ्चालन गरिएको उनले बताइन् । महतले भनिन्, ‘किसानहरुलाई उत्पादनमा प्रोत्साहन गर्न अनुदान तथा औजार वितरण गर्दै आएका छौं । ‘कृषिमा आधुनिकीकरण, प्रविधियुक्त बनाउने, विविधीकरण र बजारीकरणमा जोड दिएका छौं ।’ रैथाने बालीको संरक्षण, मोदी नमुना प्रांगारिक कृषि गाउँ, साना सिँचाइ मर्मत लगायतका कार्यक्रम सञ्चालन भएको बताइन् । विद्यार्थीलाई कृषि पेसाको महत्व बताउन देशमै नमुना कार्यक्रमका रुपमा पालिकाभित्रका ११ वटा माध्यमिक विद्यालयमा कृषि कार्यक्रम सञ्चालन गरिनेसमेत कृषि अधिकृत महतको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width