अप्ठेरोमा परेका जनताका लागि रकमान्तर : प्रवक्ता खड्का

आदर्श समाज सम्वाददाता
असार १७, २०७८
kumar khadka

फाइल फाेटाे

पोखरा । प्रदेश सरकारले पछिल्लो समय गरेको रकमान्तर विषयमा प्रदेश सरकारले आफ्नो धारणा स्पष्ट पारेको छ । अनियमितता, असारे बजेट र कार्यकर्ता पोस्नका लागि बजेट बाँडिएको समाचार सम्प्रेषण हुँदा प्रदेश सरकारप्रति अन्याय हुने प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले बताए । जनता अप्ठेरो परेको बेला सहजताका लागि रकम रकमान्तर गर्दा भ्रष्टाचार वा कुनै अपराध नहुने उनको भनाइ थियो । ‘मनाङमा पहिरोले बिजुली बलेको छैन, लमजुङको दोर्दीमा गाडी नै हिँडेन,’ उनले भने, ‘मनाङ र दोर्दीमा त्यस्तो होला भनेर पहिलाको सरकारले बजेटमा त राखेको छैन ।’ केही योजनामा बजेट खर्च नहुने भएपछि ढुकुटीमै फर्किने रकम जनताको आवश्यकताका आधारमा रकमान्तर गरेको उनले प्रष्ट्याए । जनताको घर भत्किन लाएपछि असारमा बजेट आएर भदौमा अख्तियारी दिएर असोजमा बनाउन लगाउँदा बाढीले सरकारी नियम नबुझ्ने उनको भनाइ थियो ।
जनताको घर र धन बचाउनका लागि पनि थप कार्यक्रम ल्याएर प्रदेशबासीको ज्यान धन बचाएको उनले जानकारी दिए । ‘सरकार नयाँ छ, यसका पनि त प्राथमिकता छ,’ उनले भने, ‘अर्को वर्ष हाम्रो सरकार निरन्तर भयो भने त असारमा कहाँ थप बजेट ल्याउँछौं,’ उनले भने, ‘सरकार नै असारमा बन्यो त जेठमा कसरी हामीले रकमान्तर गर्न सक्छौं ।’ रकमान्तर गर्नु गलत हो भने जनतालाई जस्तो समस्या परे पनि परुन् तर कानुन मान्नुपर्छ भनेर पनि लेखिदिनुपर्ने उनको भनाइ छ । रकमान्तर भएर गएका बजेट थोरै पनि चुहावट भएमा आफूहरुलाई खबर गर्न उनले आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width