पोखरा । पोखराका विकास शाक्यले समयमै भेन्टिलेटर नपाउँदा ज्यान गुमाउनुपर्यो । स्याङ्जाकी धनमाया गुरुङलाई पनि भेन्टिलेटरका लागि अस्पताल डुलाउँदा डुलाउँदै उनको बाटोमै मृत्यु भयो । ६ वटा अस्पताल चहार्दा समेत उनलाई भेन्टिलेटर उपलब्ध भएन । कास्की अन्नपूर्णका राजेश कार्कीले उपचारको लागि अस्पताल खोज्दै हिड्दा बाटैमा ज्यान गुमाए ।
पछिल्लो समय गण्डकीमा यस्ता घटनाहरु नियमितजस्तो घटिरहेको छ । पोखरा लेकसाइडका ईश्वरी न्यौपाने बिरामी भएर अस्पताल भर्ना भए । कोरोना संक्रमित उनको श्वासप्रश्वासमा समस्या बढ्दै गयो । भेन्टिलेटरमा नराखी उनको उपचार सम्भव नहुने भएपछि चरक अस्पतालले अन्यत्र लैजान भन्यो । जसोतसो मनिपालमा भेन्टिलेटर खोजेर उपचार गराइयो । उनी निकै कठिन अवस्थाबाट स्वस्थ भएका छन् ।
लक्षणसहितका कोरोना संक्रमितलाई भेन्टिलेटर अति आवश्यक छ । श्वासप्रश्वास समस्या हुनेहरुलाई त झन् यो अनिवार्य जस्तै हो । गण्डकीमा सरकारी र निजी अस्पतालहरुमा ५४ वटा भेन्टिलेटर भएको तथ्याङ्क छ । तीमध्ये केही सञ्चालनमा छैनन् । सरकारले अब भेन्टिलेटर थप्न चासो देखाएको छैन । त्यसैले नागरिक स्तरबाटै चन्दा उठाएर भेन्टिलेटर किन्ने अभियान सुरु गरिएको छ ।
नेपाल भेन्टिलेटर सर्भिस कास्की गठन गरेर यहाँका अगुवाहरुले भेन्टिलेटर र उच्च क्षमताको अक्सिजन उपकरण खरिद गर्न लागेका हुन् । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतामा ५ सदस्यीय समूह गठन गरिएको छ । समितिमा डा सरोज कोइराला, विप्लव पौडेल र सुनिल गोशेली सदस्य तथा सचिवमा रामकृष्ण ज्ञवाली छन् ।
तत्काल भेन्टिलेटर र हाई फ्लो नजल क्यानुला (उच्च क्षमताको अक्सिजन उपकरण) १० वटा खरिद गर्ने समूहले जनाएको छ । त्यसपछि प्रदेशभरि २० वटासम्म उपकरण पु¥याउने लक्ष्य छ । तर त्यसका लागि आर्थिक अभाव छ । अहिले समूहले एउटा भेन्टिलेटर र ३ वटा अक्सिजन उपकरण खरिद गरिसकेको छ । ‘पोखरासँग भगिनी सम्बन्ध गाँसेका सहरहरुसँग हारगुहार गर्छौं । भूकम्पको बेलामा जस्तै सहयोग गर्नुहुन्छ भन्ने लागेको छ,’ अध्यक्ष पालिखेले भने, ‘अहिलेको बेला भेन्टिलेटर कसलाई कतिबेला चाहिन्छ थाहा नै छैन । आवश्यकता छैन भन्ने कुनैपनि मान्छे रहेनन् । हामीले सुरुवात गरेका छौं । तर आर्थिक समस्या छ ।’ उनले प्रदेश सरकार, पोखरा महानगरपालिकासहित विदेशमा रहेका दाताहरुसँग समेत सहयोगका लागि आग्रह गर्ने बताएका छन् ।
अभियानमा समूहका सदस्यहरु पालिखेसँगै गोशेली र पौडेल, रोटरी इन्टरनेशनल क्लब ३२९२ का पूर्व डिष्टिक गभर्नर किरणलाल श्रेष्ठले क्लबबाट १÷१ लाख तथा युवाउद्यमीहरुको समूहले २ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । व्यवसायी आनन्दराज बतासले एउटा मेसिन खरिद गर्ने आश्वासन दिएको संस्थाले जनाएको छ । जीवन बचाउने उद्देश्यले अभियान सञ्चालन गरिएको पालिखे बताउँछन् । ‘कोरोनाको कारण गम्भीर प्रकृतिका कुनै पनि बिरामी अकालमा मर्नु नपरोस भन्ने उद्देश्य हो । कसैलाई भेन्टिलेटर चाहियो भने हामी उपलब्ध गराउछौं,’ उनी भन्छन्, ‘यहाँका निजी र सरकारी अस्पतालसँग समन्वय भैसकेको छ ।’ पोखरामा भेन्टिलेटर तथा क्यानुल स्टक राख्ने र बिरामीलाई आवश्यक पर्दा न्यूनतम शुल्कमा उपलब्ध गराउने छ ।
निजी अस्पतालले भेन्टिलेटरको ३ हजार र नजल क्यानुलाको ७ सय भाडा तिर्नुपर्छ भने सामुदायिक अस्पतालहरुले भेन्टिलेटरको २ हजार र नजल क्यानुलाको ५ सय तथा सरकारी अस्पतालले भेन्टिलेटरको १ हजार र क्यानुलाको ३ सय रुपैयाँ प्रतिदिन भाडा तिर्नुपर्छ । यसरी उठेको रकम परिचालनमा प्रयोग हुने समूहले जनाएको छ । संस्थाका सदस्य डा सरोज पोख्रेलले हरेक अस्पतालमा भएका भेन्टिलेटर व्याकअपको रुपमा राख्नाले गम्भीर कोरोनाका बिरामीहरुले समयमा भेन्टिलेटर नपाएको बताए । उनका अनुसार संक्रमितमध्ये ५ प्रतिशतलाई भेन्टिलेटरमा राख्नुपर्छ । अरु बिरामीलाई समेत उच्च क्षमताको अक्सिजन दिनुपर्छ ।
रोटरी इन्टरनेशनल क्लब ३२९२ का पूर्व डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले क्लबको पहलमा भेन्टिलेटर सहितको उपकरणहरु ५० प्रतिशत छुटमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । रोटरीले ५० प्रतिशत छुटमा प्रदेश सरकार र पोखरा महानगरलाई भेन्टिलेटर दिने बताएको थियो । तर दुवै सरकारले यसमा चासो दिएनन् । समूहले भेन्टिलेटर र नजल क्यानुलाको सहज सहयोगसँगै यहाँका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई सञ्चालनको लागि तालिम आयोजना गर्ने सचिव रामकृष्ण ज्ञवालीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
hero news full width
मुख्य समाचार
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१