भाषा, साहित्य र संस्कृति संरक्षण गर्न पुस्तकालय

आदर्श समाज सम्वाददाता
असाेज २, २०७७
asafal

हेमजा, २ असाेज । पृथ्वीनारायण क्याम्पस पोखरा नेपाली विभागले नेपाली भाषा, साहित्य र संस्कृति संरक्षणका लागि विभागीय पुस्तकालय स्थापना गर्ने भएको छ । सोको लागि विभागले करिब १ हजार बढी पुस्तक संकलन गरिसकेको जनाएको छ।

शुक्रवारसम्म ५५ सृष्टाले पुस्तक उपलब्ध गराएको विभागीय प्रमुख प्राडा कुसुमाकर न्यौपानेले जानकारी दिए।नेपालका विभिन्न स्थान लगायत अमेरिका र बेलायतबाट समेत सृष्टाले पुस्तक हस्तान्तरण गरिसकेको उनले बताए ।

पछिल्लो समय प्राडा रविलाल अधिकारी, सहप्राडा बाबुराम अधिकारी, सहप्रा ईश्वरमणि अधिकारी, साहित्यकार असफल गौतम लगायतले पुस्तक हस्तान्तरण गरेका छन्।

गत साउन ८ मा विभागीय प्रमुख नियुक्त न्यौपानेले त्यसबीचमा विभिन्न सेमिनार तथा पुस्तकालय स्थापना कार्यलाई महत्व दिँदै आएको बताए।

पुस्तकालय स्थापनासँगै विद्यार्थी र प्राध्यापक प्रत्यक्ष रुपमा विभागसँग जोडिने, पठन संस्कृतिको विकास हुने, नेपाली भाषा, साहित्य र संस्कृतिबारे अन्तक्र्रिया हुने विभागको विश्वास रहेको पनि प्रमुख न्यौपानेले बताए।

विशेषगरी अनुसन्धान तहका विद्यार्थीलाई लक्षित गरी आफूहरुले पुस्तकालय स्थापना गरिरहेको विभागीय सदस्य समेत रहेका पुस्तकालय संयोजक उपप्रा निर्मल सापकोटाले बताए ।

पुस्तकालयलाई गण्डकी प्रदेशकै उदाहरणीय बनाउने विभागको लक्ष्य छ ।

पुस्तकालय स्थापनासँगै अध्ययन, अध्यापन तथा अनुसन्धान कार्यमा थप सहजता आउने विश्वास गरिएको छ । । जसका लागि प्राध्यापक, साहित्यकार, विभागीय सदस्य लगायतले पुस्तक उपलब्ध गराइरहेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width