करको दरमा सुधार आवश्यक

सम्पादक
असार १९, २०७९

संघीय सरकारको वार्षिक बजेट निर्माणको क्रममा आखिरी समयमा कर दरमा थपघट गरेको जुन कुरा बाहिर आएको थियो, त्यसको परिणाम बजारमा देखिन थालेको छ । बजारमा माल सामानको भाउ वृद्धि भएको छ भने उद्योगीहरु सरकारले कच्चा पदार्थको आयातमा भन्सार बढाएबाट उत्पादित सामानको भाउ वृद्धि भई त्यसले आयातीत तयारी सामानसँग प्रतिस्पर्धा गर्न नसकिने भयो भनेर आन्दोलनको बाटो रोज्न थालेका छन् । सरकारको कर नीतिका कारण स्टिल तथा वायर, घिउ, तेल र सेनिटरी प्याड उत्पादन गर्ने उद्योगहरु संकटमा परेका छन् । विराटनगरमा सम्पन्न उद्योग वाणिज्य महासंघ प्रदेश १ को चौंथो सभामा सरकारी नीतिको कडा विरोध गरिएको छ । र करको दरमा परिवर्तन नगरिएमा आन्दोलनमा उत्रने निर्णय गरेको छ । यसअघि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पनि अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको बेला गरेका त्रुटि नसच्याए महासंघ पनि सडकमा उत्रने चेतावनी दिएका छन् ।

देशको अर्थतन्त्र बिगँ्रदै गएको छ । व्यापार घाटा बढ्दै गएको छ । व्यापार घाटा कम गर्न राष्ट्र बैंकले केही कदम चालेको थियो । तर त्यो कदम प्रभावकारी हुन सकेन । सरकारका अर्थमन्त्री र राष्ट्रबैंकका गभर्नरबीचको असमझदारीले पनि केही हदतक यसमा प्रभाव पारेको छ । संसदमा अर्थमन्त्रीको राजीनामासमेत मागिएको छ । आर्थिक विश्लेषकहरु यो मन्त्रीबाट आर्थिक स्थिति सुध्रने आशा गर्न सकिँदैन भन्न थालेका छन् । सामान्य अवस्थामा अर्थ मन्त्रालय जसले पनि चलाउँछन् । चलाएका उदाहरण पनि छन् । तर संकटको अवस्थामा सुधार्नुपर्ने बेलामा तथा बौद्धिक चातुर्यता र कुशलता देखाउनुपर्ने बेलामा अर्थ र आर्थिक क्षेत्रको सूत्रहरु जानेका र विकल्प दिन सक्ने खारिएका व्यक्तिको आवश्यकता पर्दछ । आर्थिक क्षेत्रमा उत्पन्न परिस्थिति र विवादलाई अरु क्षेत्रको विवादलाई जसरी तन्काएर राख्नु हुँदैन । जति छिटो विवादको समाधान गरिन्छ, उति त्यसको कुशलता परिलक्षित हुन्छ ।

भन्न त बजेट भाषणमा स्वदेशी उद्योगलाई प्रोत्साहन दिने उल्लेख छ । वर्षौंदेखि बन्द भएका उद्योगहरु सञ्चालन गर्ने कुरा पनि गरिएको छ । कुरामात्र गरेर के गर्ने लिखतमा त्यसको विपरीत कुरा परेको छ । नेपालमा सञ्चालित उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको आयातमा भन्सार दर बढाएर कसरी उद्योगहरु निराश भएका छन् । कतिपय ठाउँमा उद्योगीहरु सडकमा सुधार ल्याउन सरकार निजी क्षेत्रसँग हातेमालो गरी जान तयार भएको आश्वासन दिएका छन् । प्रधानमन्त्री देउवाको आश्वासनअनुसार करको दरमा छिटो सुधार गर्नुपर्नेमा हामी जोड दिन चाहन्छौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width