राजनीतिमा विश्वासको संकट

सम्पादक
चैत्र ९, २०७७

केही महिनादेखि प्रधानमन्त्री केपी ओलीको चौतर्फी विरोध भइरहेको छ । प्रतिनिधिसभा ब्यूतिएपछि नैतिकताको हिसाबले पनि प्रधानमन्त्रीले राजीनामा गर्नुपर्दछ भन्नेहरुको संख्या अरु बढेको छ । तैपनि उनले राजीनामा गरेका छैनन् । उनको सरकार टिकाउनलाई समर्थन गरिरहेको माओवादी केन्द्रका नेताहरुले पनि उनको अगाडि औंला तेर्साएर राजीनामा दिनु पर्ने नैतिकताको पाठ घोकाउँदै छन् । त्यसलाई पनि उनले किञ्चित ख्याल गरेका छैनन् । जसको समर्थनमा सत्ता टिकेको छ त्यसमा भनेको पनि नमान्नु अचम्म मान्नुपर्ने अवस्था हो । अब त सरकारलाई समर्थन गरिरहेको माओवादी केन्द्रले किन सरकारलाई दिँदै आएको समर्थन आजसम्म फिर्ता गरेको छैन भनी नैतिकताको औंला केन्द्र समक्ष पनि तेर्साउने गरिएको छ ।

माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई एकदिन पनि सत्तामा टिकाउन हुन्न भनी मुखले भन्ने तर आफूले समर्थन फिर्ता नगर्ने, त्यसको भूमिका संदेहास्पद छ । उता नेपाली कांग्रेसका नेताहरुको बोली पनि फेरिएको छ । हिजो प्रधानमन्त्री हुनका लागि खुट्टा उचालेका शेरबहादुर देउवा पनि सक्रिय भएनन् भनी उनकै पार्टीका नेताहरुले भन्ने गरेका छन् । हिजो ती नेताहरुले कांग्रेसले ५ वर्षका लागि प्रतिपक्षमा बस्ने म्यान्डेट पाएको पनि भनेका थिए । अर्काेतिर सत्ताको निर्णयक शक्ति मानिएको जनता समाजवादी पार्टीका नेताहरु पनि पूर्व पश्चिम फर्केर बसेका छन् । तिनीहरु सिद्धान्त र विचार मान्ने कि पार्टीको मुद्दालाई प्राथमिकता दिने भन्नेमा विभाजित छन् । डा. बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादव वैकल्पिक सरकारको पक्षमा छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो आफ्नो मुद्दालाई ओलीले पूरा गर्छु भनेमा किन उनलाई समर्थन नगर्ने भन्ने पक्षमा छन् ।

देशको राजनीतिमा अन्योल र अस्थिर त्यसै पनि थियो । अब विश्वासको संकट पनि थपिएको छ । कसले कसलाई विश्वास गर्ने, कसले कसलाई विश्वास नगर्ने समस्या छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगर्नु एउटा रहस्यमय हो भने नेका सभापति देउवा यस्तो बेलामा सक्रिय नहुनु अर्काे समस्या हो । वैकल्पिक सरकार गठन गर्नमा निर्णायक शक्ति भनिएको जसपाले अझसम्म पार्टीगत निर्णय नगर्नु पनि रहस्य हो । सरकार बाहिर यस्तो रहस्य–रहस्यको वातावरण हुनु प्रधानमन्त्री ओलीलाई अरु चलखेल गर्न अवसर दिनु हो । हिजोभन्दा आज उनको चलखेल अरु बढेको छ । जुन उनका क्रियाकलाप र गतिविधिले अरु छर्लंग पारी देखाइरहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width