वितरणमुखी नीति तथा कार्यक्रम

सम्पादक
जेठ २६, २०७९

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उक्त नीति तथा कार्यक्रम गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभामा वाचन गरी सार्वजनिक गरेका हुन् । प्रदेश सभाको बजेट अधिवेशनमा बजेटभन्दा पहिले सरकारले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्ने परम्परा छ । त्यही परम्पराको निर्वाह गर्ने सन्दर्भमा प्रदेश प्रमख गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । २८६ बुँदामा उल्लेख गरिएको यो नीति तथा कार्यक्रम कृषि, स्वास्थ्य र पर्यटनलाई महत्व दिइएको छ । संसद्को चुनावको पूर्व सन्ध्यामा आएको बजेट भएकोले यो बजेटलाई चुनाव केन्द्रित र वितरणमुखी बजेट भनिएको छ ।

नीति तथा कार्यक्रममा केही नौलो कार्यक्रम ल्याउन खोजेको देखिन्छ । खास गरेर यसले स्वास्थ्य क्षेत्रमा आफ्नो दृष्टि फराकिलो पारी हेर्न खोजेको छ । प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा ५० शैयाको मिर्गौला प्रत्यारोपण अस्पताल स्थापना गर्ने उल्लेख छ । अहिले पोखराका अस्पतालहरुमा डायलासिस गर्ने गरिएको छ । मिर्गौला प्रत्यारोपण गर्ने गरिएमा त्यो पोखरेलीहरुको एक वरदान नै हुनेछ । कार्यक्रममा डायलासिस सेवा गोरखा लमजुङ र मध्यविन्दु जिल्ला अस्पतालमा विस्तार गर्ने बताइएको छ । नीति तथा कार्यक्रममा प्रदेशका सबै नागरिकले कोभिडविरुद्धको पूर्ण खोप लगाइसकिएको र १९ प्रतिशतले बुस्टर डोजसमेत लगाएको जानकारी गराइएको छ । एउटा उल्लेखनीय कुरा के छ भने कृषि क्षेत्रमा महिलालाई संलग्न ‘महिलाको जिम्मेवारी कृषिको रोजगारी’ कार्यक्रम ल्याएर ३ वर्षभित्र गण्डकीलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उल्लेख गरिएको छ ।

पर्यटन क्षेत्रमा विकासका लागि पनि केही कार्यक्रम ल्याउने संकल्प गरेको छ । नीति तथा कार्यक्रममा ‘हनिमुन टुरिजम’ को अवधारणालाई महत्वका साथ अघि सारिएको छ । सरकारले प्रदेशका केही रमणीय स्थलहरुलाई आकर्षक हनिमुन गन्तव्यको रुपमा प्रवद्र्धन गर्ने उल्लेख छ । पर्यटनको विकासका लागि महाभारत पदमार्ग निर्माण र गण्डकी ट्रेल निर्माण गर्ने नयाँ कार्यक्रम ल्याउने उल्लेख पनि कार्यक्रम छ । नीति तथा कार्यक्रममा दलित बस्तीमा भौतिक र सामाजिक सुधार कार्यक्रममार्फत् नमूना आदर्श बस्ती निर्माण गर्ने कुरा पनि लेखिएको छ । कोभिडबाट मृत्यु भएका आमाका बालबालिकालाई शिक्षामा पहुँचको सुनिश्चितता गर्न कोभिड छात्रवृत्ति सञ्चालन गर्ने प्रतिबद्धता पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तो नीति तथा कार्यक्रमलाई नेताहरुले आ–आफ्नै किसिमले हेर्छन् र आ–आफ्नै किसिमले टीका टिप्पणी गर्दछन् । जसलाई स्वाभाविक भनिन्छ । यो कार्यक्रम वितरणमुखी छ, यो निश्चय नै हो । तर यसको कार्यान्वयन गरिएमा यो परिणाममुखी पनि हुन सक्छ । त्यसकारण हामी सरकारलाई यसको कार्यान्वयन पक्षमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिन चाहन्छौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width