नमूना विद्यालयको नमूना काम

सम्पादक
पौष ११, २०७८

गलकोट नगरपालिका ३ का नमूना माध्यमिक विद्यालयलाई सरकारले तोकिएको सूचक पुगेको भन्दै नमूना माध्यमिक विद्यालयमा सूचीकृत गरेपछि त्यस विद्यालयको चर्चा बढेको छ । मानिसहरुले त्यस विद्यालयमा के–के छन् र शिक्षकहरुले के कसरी पठाउँछन् भन्दै विद्यालयको विशेषताबारे सोधखोज गरिरहेका छन् । विद्यालय सामान्य नै हो । तर त्यहाँ पढ्नेले पूmल रोप्नुपर्ने, तरकारी फलाउनुपर्ने जस्ता कृषिको कामसमेत गरिने भएकाले त्यो विशेष भएको छ । विद्यालयमा पढाउने कृषि विज्ञानअन्तर्गत काउली, मुला, गोलभेंडालगायत सागसब्जी हराभरा देखेपछि मानिसहरु छक्क पर्दछन् । विद्यालयमा कृषि विज्ञानको अतिरिक्त, मल्टिमिडियाको प्रयोग पनि गर्ने गरिएको छ । सरकारी विद्यालय भए तापनि त्यस विद्यालयमा अंग्रेजी माध्यमबाट पनि पढाउने गरिएको छ ।
त्यस विद्यालयमा भएको त्यो कृषि र कम्प्युटरको पढाइले २०१५ सालमा पोखराको राष्ट्रिय बहुद्देश्यीय विद्यालयको स्मरण गराएको छ । अहिलेको राष्ट्रिय माध्यमिक विद्यालयलाई त्यसबेला राष्ट्रिय बहुद्देश्यीय विद्यालयमा भनिन्थ्यो । त्यस विद्यालयमा व्यावसायिक शिक्षाको नाममा सचिवालय विज्ञान, गृह विज्ञान, सिकर्मी, कृषि विषयक शिक्षा पढाइन्थ्यो । कृषिमा पनि फार्मिङ र पोल्ट्री छुट्टाछुट्टै विषय बनाइएको थियो । पोल्ट्रीबाट विद्यालयले कुखुराको फुल र कुखुरा बेच्ने पनि गर्दथ्यो । विद्यालयको पढाइ सकिएपछि विद्यार्थीले जीविकोपार्जनका लागि जागिरै खान नपरोस्, आफ्नै खुट्टामा उभिन सकोस् भनेर अन्य विषयका अतिरिक्त ती विषय पनि राखिएको थियो । त्यसबेला त्यो विद्यालयलाई पनि नमुना विद्यालयको रुपमा हेरिएको थियो । त्यसले राम्रो परिणाम दिँदै थियो । सबैले प्रशंसा पनि गर्ने गर्दथे । तर त्यत्तिकैमा पञ्चायती व्यवस्था लागु गरियो । त्यो व्यवस्था लागु भएपछि बिपी कोइराला प्रधानमन्त्री हुँदा अपनाएको भन्दै सरकारले त्यो विद्यालयबाट व्यावसायिक विषयहरु हटाएको थियो । शिक्षामा अपनाइएको एउटा दूरदृष्टि अवधारणालाई विना कारण अविवेक किसिमले तुहाइएको थियो ।
अहिले गलकोटको नमुना विद्यालयमा प्रधानाध्यापक देवेन्द्र खत्रीले परिकल्पना गरेर विद्यालयमा कृषिको विषयलाई प्राक्टिकल रुपमा पठनपाठनको व्यवस्था गरेर विद्यालयलाई जेजसरी सञ्चालन गरिरहेका छन्, त्यो समसामयिक छ । विद्यालयको त्यो व्यवस्थाले विद्यालयप्रति आकर्षण बढेको छ । विद्यार्थीहरुमा सकारात्मक सोचको विकास भएको छ । जसले गर्दा विद्यार्थीहरुको ध्यान अध्ययनमा केन्द्रित भएको छ र विद्यालयको पनि प्रगति भएको प्रष्ट देखिएको छ । विद्यालयमा त्यस्तै गरेर अन्य व्यावसायिक विषय पढ्न पाउने छन् । त्यसो भएमा विद्यालयको आकर्षण अरु बढ्नेछ । हामी नमूना विद्यालयका प्रधानाध्यापक खत्री र सहयोगी शिक्षकहरुको उच्च मूल्यांकन गर्दै सरकारको नमूना माविको रुपमा सूचीकृत भएकोमा विद्यालय परिवारलाई बधाई ज्ञापन गर्न चाहन्छौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width