कालीगण्डकी डाइभर्सन रोक

सम्पादक
असार १४, २०७८

पाल सरकारले कालीगण्डकी डाइभर्सन बहुद्देश्यीय आयोजनाको कार्यालय बुटवलमा खोलेको छ । जसै कार्यालय खुल्यो, उसै विरोध पनि चर्कियो । त्यसो त यो परियोजनाको विरोध अहिले सुरु भएको होइन । नेपाल सरकारले २०७१ को नीति तथा कार्यक्रममा यसलाई समेटेदेखि नै यसको विरुद्ध आवाज उठेको थियो । नीति तथा कार्यक्रममा बर्सेनि समेटिए पनि योजना भने अगाडि बढेको थिएन । अहिले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले डाइभर्सन कार्यालयको भवन उद्घाटन गरे । उनले न त गण्डकी प्रदेशवासीलाई सोधे, न त अरुका कुरा सुने । चुनावी स्वार्थका लागि प्रयोग गरेको नारालाई सार्थक बनाउन उनले योसम्मको हर्कत गरेका हुन् भन्ने कतैबाट छिपेको छैन । बुटवललाई लुम्बिनी प्रदेशको राजधानी बनाउने उनको प्रयास त बिफल भयो । आफ्ना मतदाता रिझाउन उनले डाइभर्सन कार्ड प्रयोग गरेका छन् ।
बुटवलमा हर्षोल्लासका साथ कार्यालय खुल्दा गण्डकीबासीलाई चिन्ता थपेको छ । छलफलको चरणदेखि नै विरोधमा रहेको गण्डकी प्रदेशले डाइभर्सन नगर्न संघ सरकारलाई चेतावनी दिएको छ । गण्डकी र लुम्बिनीका लाखौं नागरिकको सरोकारसँग जोडिने भएकाले डाइभर्सन दुखद आयोजना हो । कालीगण्डकी नदीमात्रै नभई सभ्यतासँग जोडिएको छ । पर्यापर्यटनदेखि इको सिस्टममा पनि सम्बन्धित छ । यसलाई सही तरिकाले चलायमान नगराए गण्डकीका बस्ती र जनजीवनलाई पनि ठूलो दीर्घकालीन असर पर्ने देखिन्छ । देश संघीयतामा गएपछि यस्ता निर्णय गर्दा प्रदेश सरकारसँग पनि समन्वय गर्नुपर्छ । गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘शिर छेदन’ (टाउकै काटिए पनि) भए पनि डाइभर्सन आयोजना अघि बढ्न नदिने बताएका थिए । संसदमा विपक्षी सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले डाइभर्सन प्रदेशको हित विपरीत भएकाले कुनै हालतमा कार्यान्वयन नहुने बताएका थिए । अहिले सरकार फेरिएको छ । तर डाइभर्सनबारे धारणा फेरिएको छैन ।
कालीगण्डकी नदीको पानी डाइभर्सन गरी तिनाउ खोलामा मिसाएर बिजुली र सिँचाइ गर्ने योजना छ । अध्ययनअनुसार १ सय २६ मेगावाट विद्युत उत्पादन हुनेछ भने ३ जिल्लाका १ लाख हेक्टर जमिनमा सिँचाइ गर्ने योजना छ । संघ सरकारले गण्डकी प्रदेशसँग कुनै सरोकार नै नराखी एकलौटी रुपमा आयोजना सञ्चालन गरेर दुई प्रदेशबीच द्वन्द्व बढाउन खोजिएको भन्दै असन्तुष्टि पोखेको छ । २०७१ सालको नीति तथा कार्यक्रममा डाइभर्सनको योजना समावेश गरिएको थियो । चौतर्फी विरोध भयो, काम अघि बढेन । १ खर्ब ८० अर्ब रुपैयाँ लाग्ने आयोजनामा २ वटा सुरुङ बन्नेछ । पाल्पाको पीपल डाँडामा ड्याम बनाएर २७ किलोमिटर सुरुङमार्गबाट पाल्पाको तिनाउ २ दोभानमा पानी झार्ने योजना छ । त्यहाँबाट अर्को ७ किलोमिटरको सुरुङ निर्माण गरी नहर बनाएर खेतीयोग्य जमिनमा पानी लगिनेछ । प्रदेशसभामै चर्को विरोध भएपछि संघ सरकारले सरसल्लाह गरेको भए हुन्थ्यो । केबल राजनीतिक लाभ लिनका निम्ति गण्डकीका जनाताको हितमाथि खतरा मोल्ने अधिकार संघ सरकारलाई छैन । यो आयोजना तत्काल रोकिनुपर्छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width