नागरिक उड्डयनमा आशलाग्दो लक्षण

सम्पादक
वैशाख १५, २०७९

हाम्रो देशको नागरिक उड्डयन क्षेत्रमा विगत केही समयदेखि आशलाग्दा लक्षण देखिन थालेका छन् । संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) को प्रतिनिधि मण्डलले नेपालमा आएर हाम्रो उडान सुरक्षाको नियामक निकायअन्तर्गत पालना गर्नुपर्ने ८ क्षेत्रका सूचकहरुको बिस्तृत जाँच गरेपछि आशलाग्दो लक्षण देखिएको हो । आइकाओको प्रतिवेदनमा नेपालले ७०.१ अंक पाएको उल्लेख छ । यो अंक एसिया क्षेत्रका हवाई यातायात नियमनकारी तथा सेवा प्रदायक निकायको दाँजोमा ९ प्रतिशत र विश्वको औसत दरभन्दा ४ प्रतिशत बढी हो । यो अंकले हाम्रो हवाई यातायातको सुरक्षालाई सुनिश्चित गरेको छ । यसले हाम्रो हवाई यातायातलाई युरोपियन युनियनका देशहरुमा पुग्न बाटो खोलिने अपेक्षा गरिएको छ । पहिले अर्थात् एक दशक अगाडि सुरक्षाको कारण देखाएर हाम्रो हवाई यातायातलाई इयुका देशहरुमा प्रवेश गर्न रोक लगाइएको थियो ।

हवाई यातायातको चर्चा गर्दा नेपाल एयरलाइन्सको वाइडबडी ए ३३० विमानले भर्खरै सिधा साउदीको रियादसम्म उडान भएको उल्लेखनीय छ । हाम्रो हवाई यातायातले एकातिर विदेशतिर आफ्नो गन्तव्य खोज्दै छ भने अर्कोतिर भैरहवामा निर्मित हाम्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले दुई हप्तापछि व्यावसायिक उडान भर्ने भएको छ । भगवान् बुद्धको जन्मस्थल लुम्बिनीलाई लक्ष्य गरेर निर्माण गरिएको विमानस्थलले बुद्धजयन्तीको दिनदेखि व्यावसायिक उडान भर्नु अर्काे महत्वपूर्ण कुरा हो । नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान भर्न कोही आउने हुन् कि होइनन् भनी सोधिरहेको बेला कुवेतको ख्यातिप्राप्त विमान कम्पनी जजिरा एयरलाइन्सले व्यावसायिक उडान भर्ने तत्परता देखाएको छ ।

यसैबेला पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्माणको अन्तिम चरणमा पुगेको छ । गौतम बुद्ध विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले हाम्रो उड्डयनको क्षेत्र ठूलो बनाउने छ । नेपाल एयरलाइन्सको लागि पनि यो ठूलो अवसर हो । नेपालको ध्वजावाहक जहाज कम्पनी सधैं नोक्सानमा गएको गुनासो धेरै सुनिन्छ । अब त्यसले पनि फेदैदेखि सोच्नुपर्‍यो । अरु विमान कम्पनी सबैले नेपालबाट नाफा कमाएर लगेका छन् भने त्यो कम्पनी सधैं किन घाटा हुन्छ । अब घाटा हुने छुट त्यसलाई हुँदैन । त्यसले आफ्नो प्रशासनिक यन्त्र चुस्त र फुर्तिलो पार्नुपर्‍यो । व्यवस्थापनमा व्यापक सुधार गर्नुपर्‍यो । कहिलेकाहीं राजनीतिक हस्तक्षेप भएको कारण त्यो कम्पनी घाटा भएको भन्ने सुनिन्छ । हाम्रा नेताहरुले जहाँ पनि हस्तक्षेप गर्ने गरेका छन् । जहाँ तिनीहरुले हस्तक्षेप गरेका छन्, त्यहीं बिग्रेको छ । त्यसकारण त्यो हस्तक्षेप हुनुभएन । कम्पनीका पदाधिकारीहरुले पनि अनुचित हस्तक्षेप कम्पनीलाई नै घाटा हुने हस्तक्षेप गर्न दिनुभएन । आखिर कम्पनीको जिम्मेवारी त पदाधिकारीकै हो । कसको पालामा नाफा भयो, कसको पालामा घाटा भयो भन्ने त जनताले हेरिहेका हुन्छन् । यस्तोमा सजग र सतर्क हुनु आवश्यक छ ।

Related News

सम्बन्धित समाचार

  • बुद्धजयन्तीको कार्यक्रम सुरु

    सम्पादक वैशाख २६, २०७९
    बुद्ध जयन्ती परम्परागतरुपमा साप्ताहिक कार्यक्रम राखेर मनाउने गरिएको भए तापनि कोभिड–१९ को महामारीका कारणले बितेका २ वर्ष बुद्धजयन्ती समारोह हुन…
  • विप्लवको पार्टी विभाजित

    सम्पादक वैशाख २३, २०७९
    पहिले अपेक्षा गरिएअनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विभाजित भएको छ । विभाजनको बेला कम्युनिष्ट पार्टीमा जुन लक्षण…
  • निर्वाचनमा युवाको सक्रियता

    सम्पादक वैशाख २२, २०७९
    केही महिना पहिले राजनीतिक पार्टीहरुका अधिवेशन र महाधिवेशन भएका थिए । ती अधिवेशन महाधिवेशनअन्तर्गत भएका चुनावमा युवाहरु खुब आकर्षित भएका…
  • वेद विद्याश्रमलाई हाम्रो शुभकामना !

    सम्पादक वैशाख २१, २०७९
    कास्की पहिलेदेखि नै शिक्षादीक्षामा ख्याति प्राप्त स्थान हो । शिक्षा दीक्षाका लागि काशी कि कास्की भनेर त्यसै भनिएको होइन ।…
  • सरकारको अधुरो कदम

    सम्पादक वैशाख १९, २०७९
    सरकारले देशमा आउन लागेको आर्थिक संकट हटाउने अभिप्रायले जेठ १ गतेदेखि लागु हुने गरी सरकारी कार्यालयहरु हप्ताको २ दिन बिदा…

hero news full width