आदिकविको सम्झना

सम्पादक
असार ३०, २०७७

१. आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती विविध कार्यक्रम साथ मनाईएको छ । वि.सं. १८७१ असार २९ गते तनहुँको रम्घामा जन्मिएका भानुभक्तको जन्मदिन असार २९ लाई हरेक वर्ष भानुजयन्तीका रुपमा मनाउने गरिन्छ । यसवर्ष कोरोना संक्रमणका कारण गरिएको लकडाउन तथा अविरल वर्षाबीच पनि भानु जयन्तीमा जुन उत्साहजनक सहभागिता भयो, त्यो आदिकविप्रतिको श्रद्धाभक्तिको नमूना हो । भानुभक्तको वि.सं. १९२५ मा निधन भयो । अहिले डेढसय वर्षपछि पनि उनी उत्तिकै लोकप्रिय छन् ।

२. संस्कृतमा लेखिएको अध्यात्म रामायणलाई भानुभक्तले नेपाली भाषामा अनुवाद गरे । अनुवाद मात्र गरेनन् त्यसलाई नेपाली मौलिकतामा ढाले । नेपाली जनजिब्रोमा सहजै टाँसिने गरी भाषा शैली र छन्द अलङ्कारको प्रयोग गरे । जसका कारण उनको रामायण जनजनमा भिज्यो व्यापक वन्दै गयो, त्यसकै कारण त्यतिवेलाका धेरै कवि बीच उनी आदिकवि ठहरिए ।

३. भानुभक्तका आफ्ना मौलिक रचनाहरु पनि थुप्रै छन् । उनका भक्तमाला, प्रश्नोत्तरमाला, वधुशिक्षा आदि कृतिहरु छन् । वधुशिक्षा आलोचित पनि भयो । वधुशिक्षामा भानुभक्तले तत्कालीन समाजमा नारीप्रति समाजको कस्तो दृष्टिकोण थियो, त्यसको उल्लेख गरेका छन् । तत्कालीन आस्थाको चित्रणलाई भानुभक्त कै धारणा भनी आलोचना भएको हो । तथापि उनका धेरै कृतिमा गहिरो भक्तिभाव र जीवन दर्शनको अनुभूति हुन्छ ।

४. भानुभक्तले हाम्रो समाजका विकृति विसंगतिलाई औंल्याएका छन् । भ्रष्टाचार, अत्याचार, व्यभिचारप्रति तीखो व्यङ्ग्य गरेका छन् । अड्डा अदालतको ढिलासुस्ती र भ्रष्टाचार तथा कारागारको अवस्था चित्रण गरेका छन् । भानुभक्तले कारागारमै रहेका बखत रामायण लेखेका थिए । उनका बावुको पालामा भएको सरकारी हिसाव फस्र्यौट उनले कारागारमा बसेर चुकाउनु परेको थियो ।

५. भानुभक्त स्वदेशमा मात्र होइन, विदेशमा पनि उत्तिकै सम्मानित छन् । राजा स्वदेशमा मात्र पुजिन्छन्, विद्वान सर्वत्र पूजिन्छन् भन्ने उक्तिका नमूना पनि भानुभक्त बनेका छन् आज संसारमा जहाँ जहाँ नेपाली भाषीहरु छन्, त्यहाँ त्यहाँ उनको स्मरण गरिन्छ । उनी नेपाली जातीय भाषिक एकताका प्रतीक हुन् । भानुभक्तलाई चिनाउने कवि मोतिराम भट्ट हुन् । उनले भानुभक्तको जीवन चरित्र लेखेर उनको योगदानबारे सबैलाई जानकारी गराएका थिए । यस अवसरमा भानुसँगै मोतिराम भट्टको योगदान पनि स्मरणीय छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width