शान्ति, मैत्री, अहिंसाको आलोक फैलिओस्

सम्पादक
वैशाख २२, २०८०

आज बुद्धजयन्ती हो । बुद्धजयन्ती उपलक्ष्यमा विश्वका विभिन्न भागमा बुद्धको गुण स्मरण गरेर यो जयन्ती मनाउने गरिन्छ । बौद्ध देशहरुमा सप्ताहव्यापी कार्यक्रम राखेर धुमधाम साथ यो दिवस मनाउँछन् भने विश्व संस्था संयुक्त राष्ट्र संघले आजको दिन सार्वजनिक बिदा घोषणा गरेर बुद्ध र बुद्ध धर्मप्रति श्रद्धा र सम्मान व्यक्त गर्ने गरेको छ । यो हाम्रो लागि अत्यन्त खुसीको कुरा हो कि नेपालमा जन्मेका एक नेपाली एक नेपालको राष्ट्रिय विभूतिको विश्वभर पूजा गर्ने गरिएको छ । तर हाम्रै देशमा यसको त्यति प्रचारप्रसार भएको छैन । यहाँ बत्तीमुनि अध्याँरो झैं भएको छ । तर सधैँ यसरी बस्नु राम्रो होइन । हामीमा यो प्रस्ट हुनु पर्दछ कि शान्तिमैत्री र अहिंसाले युक्त भएको बौद्ध दर्शन नेपाल र नेपालीको साझा दर्शन हो । राष्ट्रिय दर्शन हो । यो हाम्रो विशेषता हो । यसैबाट हाम्रो चिनारी पनि भएको छ र नेपाललाई विश्वले बुद्धको देश भनेर चिन्ने गरेको छ ।

भगवान् बुद्धलाई उनका समकालीन धर्मगुरुहरुले अनेक विशेषताले सुशोभित पार्ने प्रयास गरेका थिए । कतिपयले उनलाई देवता भनेर पूजा गर्न खोजेका थिए भने केहीले त उनलाई ईश्वर नै भनेका थिए । तर, उनले न आफूलाई देवता भने न त ईश्वर नै स्वीकारे । उनले आफूलाई मानिस नै भने र मानिस भएर नै सबै कामकुरा गरे । मानिस भएरै मानवताको प्रतिष्ठा बढाएकाले उनलाई महामानव भन्ने गरिएको हो । उनका शिक्षा, सिद्धान्त र उपदेशहरु व्यावहारिक छन् र तिनीहरु विज्ञानसम्मत छन् । उनको पञ्चशीलको सिद्धान्तलाई आज सबैले आवश्यक ठानेका छन् । २५०० वर्ष पहिलेका उनका ती कुरा आज पनि उत्तिकै महत्वका रहिरहनु ठूलो हो । त्यसले उनको समसामयिकतालाई अरु प्रस्ट पारेको छ ।

उनको जन्मभूमि पवित्र लुम्बिनी नेपालको अत्यन्त महत्वपूर्ण धार्मिक सम्पदा हो । त्यसको महत्व मनन गरेर भारतका सम्राट अशोकले लुम्बिनीमा आएर अशोक स्तम्भ खडा गरेका थिए भने संयुक्त राष्ट्रसंघका महासचिव उ थान्तले लुम्बिनीको पुनर्निर्माण गरे । प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा बृहत्तर लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिले केही गर्ने अपेक्षा गरिएको थियो तर त्यो सेलाएर गयो । लुम्बिनी विकासको लागि केही संस्था आए । तिनीहरुले अलमलमात्र गरे । काम गरेनन् । लुम्बिनीको काम अझ पनि पूरा भएको छैन । जसले गर्दा लुम्बिनीप्रतिको एउटा आकर्षक जति बढ्नु पर्ने हो, त्यो भएको छैन । बुद्धजयन्तीको एउटा उल्लेखनीय कुरा के छ भने बुद्धजयन्ती समारोह समिति, कास्कीले बुद्धजयन्तीको दिन हत्या हिंसा बन्द गरेर मासु र मासुजन्य परिकारको बिक्री वितरण, प्रयोग र उपभोग नगरिदिन सार्वजनिक अपिल गरेको छ । अन्तमा हामी बुद्धजयन्तीको उपलक्ष्यमा विश्वमा शान्ति, मैत्री र अहिंसाको आलोक फैलियोस् भन्ने कामना गर्दै सबैको सुख, शान्ति, आयु, आरोग्यको मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width