भाषा वैज्ञानिक पोखरेलको निधन

सम्पादक
फागुन १४, २०७५

१. नेपाली भाषाको उन्नयनका लागि विशिष्ट योगदान पुर्याएका भाषा वैज्ञानिक प्राध्यापक बालकृष्ण पोखरेलको आइतवार विराटनगरमा निधन भयो । उनी ८६ वर्षका थिए । उनी उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । उनको निधनबाट नेपाली भाषाविज्ञानको फाँटमा अपूरणीय क्षति भएको छ ।

२. उनले कथा, कविता लेखे, नाटक र निबन्ध लेखे, समालोचन र अनुसन्धानात्मक कृतिहरु छन् । त्यति मात्र होइन, उनले नेपाली बृहत् शब्दकोष निर्माणमा पनि उत्तिकै योगदान पुर्याएका थिए । उनले विभिन्न छद्म नामबाट पनि साहित्यिक रचनाहरु प्रकाशित गर्ने गर्दथे ।

३. एकताका नेपाली साहित्यमा चर्चित झरोर्वादी आन्दोलनका उनी अगुवा थिए । उनले पाँच दशकभन्दा लामो समय अध्ययन र अन्वेषण गरी ७५ हजार शब्दको “नेपाली– अंग्रेजी– नेपाली– कोष” प्रकाशित गरेका थिए । उनले नेपाली भाषको स्थलगत अनुसन्धान र अन्वेषण गरेर त्यसको काल विभाजनसमेत गरेका थिए ।

४. उनले विराटनगरको महेन्द्र मोरङ कलेज र त्रिभुवन विश्व विद्यालयमा प्राध्यापन पनि गरे । उनी अहिलेका भाषा विशेषज्ञहरुका रुपमा चिनिएका प्रध्यापकहरुका पनि गुरु थिए । उनले नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेर पनि सेवा गरे । उनी त्यस प्रतिष्ठानका आजीवन सदस्य थिए । प्रतिष्ठानमा रहेर उनले भाषाको क्षेत्रमा उल्लेख्य काम गरेका थिए ।

५. नेपाली भाषा स्वतन्त्र भाषा हो । यसको स्वतन्त्रताको रक्षार्थ उनले अथक परिश्रम गरेका थिए । अंग्रेजीवाजले नेपालीभाषामा अंग्रेजी शब्द घुसाउँदा स्तरीय देख्दथे भने हिन्दी भाषामा अभ्यस्तहरुले हिन्दी भाषा घुसाउन चाहन्थे । त्यस्तै संस्कृत भाषाप्रेमीहरुले साहित्यमा मिठास ल्याउने भन्दै संस्कृतका शब्दहरुको अत्यधिक प्रयोग गर्ने गर्दथे । तर प्रा.पोखरेलले ती सबैलाई अतिक्रमण भन्दै त्यसको विरोध गर्ने गर्दथे ।

६. नेपाली भाषाको अन्वेषण गर्ने क्रममा उनी कर्णाली प्रदेश पनि पुगी उनले १४ वर्ष लगाएर खस जातिको इतिहास लेखे । त्यहाँ प्रचलित खस भाषा, सामाजिक चलन, चल्ल र मल्ल राजाहरुको पालामा त्यहाँ भएको बुद्ध धर्मको प्रचार र त्यसका अवषेशहरु देखे । उनले आफनो पाँचसय वर्ष भन्ने कृतिमा त्यसको राम्रो र विस्तृत व्याख्या गरेका छन् ।

७.     प्राध्यापक पोखरेल नेपालीभाषाका एक रत्न नै मानिन्छन् । उनको तुलनात्मक अध्ययनले साहित्य र भाषामा नयाँ प्रकाश पारेका छन् । त्यसले आगामी दिनहरुमा पनि राम्रो दिग्दर्शन गनेर्छ । त्यस्ता भाषा सेवक मात्र होइन, भाषा वैज्ञानिकलाई गुमाउनु यस क्षेत्रका लागि ठूलो क्षति हो । उनी भाषाविज्ञानको क्षेत्रमा अविस्मरणीय रहिरहनेछन् ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width