प्रधानमन्त्री कोइरालाको सम्बोधनको महत्त्व

सम्पादक
माघ ११, २०७१

१. संविधान अब सहमतिबाट बनाउने कि प्रक्रियामा लगेर बनाउने भन्ने सम्बन्धमा राजनीतिक पाटीहरूबीच गम्भीर मतभेद भएको र त्यही मतभेदका कारणले एक सातादेखि संविधानसभाको बैठक अवरुद्ध भई अन्यौल उत्पन्न भएको बेलामा प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रको नाममा सम्बोधन गर्दै निराशप्रायः भएका जनतालाई आश्वस्त पार्ने प्रयास गरेका छन्। उनले सबै राजनीतिक दलसँग विनम्र अनुरोध गर्दै राष्ट्रिय एकता र मेलमिलापको उदात्त भावनाले लोकतान्त्रिक सङ्घीय गणतन्त्रात्मक संविधान निर्माण गरौं भनी आह्वान गरेका छन्।

१. प्रधानमन्त्री कोइरालाले शुक्रबार बेलुकी गरेको त्यो सम्बोधनमा माघ ८ गते संविधान घोषणा गर्न नसकिएकोमा दुःख प्रकट गर्दै त्यो साझा संकल्प केही राजनीतिक दलहरूका अस्वाभाविक अडान र लोकतान्त्रिक विधिको बेवास्ता गर्ने प्रवृत्तिको कारण संकटमा परेको उल्लेख गरेका छन्। उनले ५ गते मध्यरातमा भएको घटना सम्झँदै संविधानसभा उत्तेजनात्मक गतिविधि, तोडफोड, अराजक व्यवहारको प्रदर्शनी बन्न गएको उल्लेख गरेका छन्।

३. उनले संविधान निर्माण कार्यमा धक्का लागेको कारणबारे आफ्नो विचार व्यक्त गरी संविधानसभाबाट संविधान बन्नै सक्दैन भन्ने राजनीतिक निष्कर्ष र मोर्चामा आवद्ध दलहरूसँग मिसिएर बन्द र हडतालको विकल्पमा जाँदा संविधान निर्माणका प्रयासमा गम्भीर धक्का लागेको बताएका छन्। उनले त्यसो भनेर एकीकृत माओवादी र मधेसवादी दलहरूसँग आफ्नो असन्तोष व्यक्त गरेका छन्।

४. आफ्नो सम्बोधन भाषणमा प्रधानमन्त्री कोइरालाले संयमित किसिमले द्वेष र हिंसा तथा उत्तेजनालाई बढावा दिन उत्प्रेरित गर्ने कार्य हुनुलाई आफूले दुर्भाग्यको रूपमा लिएको बताएका छन्। उनले जस्तोसुकै परिस्थिति सिर्जना गरे पनि आफूले बहुसङ्ख्यक नेपाली जनताको संविधान बनाउने चाहनालाई उग्र, अराजक र अलोकतान्त्रिक व्यवहारको निसाना बन्न दिने छैनौं भनी जनतालाई आश्वस्त पारेका छन्।

५. उनले जनतालाई निराश पार्ने स्थिति आउन दिनुहुँदैन भन्दै जनता हतोत्साहित भए राष्ट्र र राष्ट्रियता कमजोर हुने मनन गर्दै आफूले लोकतान्त्रिक विधि र प्रक्रियाबाट संविधान बनाई मुलुकलाई लामो सङ्क्रमणबाट जतिसक्दो चाँडो निकास दिनु अनिवार्य ठानेको बताएका छन्। त्यसको साथै उनले देश संवेदनशील मोडमा उभिएको पनि बताएका छन्।

६. प्रधानमन्त्रीको सम्बोधनमा वर्तमान परिस्थितिको राम्रो चित्रण छ। यस्तो अन्यौलका स्थितिमा पनि दृढतापूर्वक संविधान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनको त्यो प्रतिबद्धताले निराश भएका जनतामा थोरै भए पनि आशाको सञ्चार भएको छ। तर उनले संविधान के कसरी निर्माण गर्ने त्यसको विस्तृत कुरा बताएका छैनन्।

७. एकीकृत माओवादी लगायतको मोर्चाले प्रक्रियामा जानै दिँदैनौं भनी जे-जसरी संविधानसभा अवरुद्ध पारेका छन् त्यो उचित होइन भन्ने कुरा सबैलाई प्रष्ट भएको छ। संविधानसभामा भएको तोडफोडलाई सबैले निन्दा र भर्त्सना गरेका छन्। त्यो तोडफोड अति भयो भन्ने कुरा तोडफोड गर्नेहरूले पनि महसुस गरेका छन्। तैपनि संविधान कसरी बन्छ, प्रष्ट छैन। यो अन्यौल र अनिश्चयको बेलामा प्रधानमन्त्री कोइरालाको सम्बोधन आएको छ। सम्बोधनले अन्यौल भएका र निराशातिर गएका जनतालाई केही मात्र भए पनि आश्वस्त पार्ने काम भएको छ। यो ठूलो कुरा भएको छ। तर यो सम्बोधन ८ गते नै भएको भए यो अरु महत्त्वको र सान्दर्भिक ठहरिने थियो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै