मजदुरलाई छैन मजदुर दिवस रौनक

धनबहादुर गुरुङ
वैशाख २०, २०८१
Majdur May Day Photo 2

पोखरा । बिहान झिसमिसेमै डोकोनाम्लो लिएर सेती किनारमा हानिन्छन्, वसन्त रोका । चर्को घाममा बालुवाको भारी बोकेरै दिन बित्छ, उनको । नजिकै बजारमा के भयो भन्नेमा उनी बेखबर छन् ।

भीडभन्दा पर डोको बोकेर उकालीओरालीमै रमाउने रोकालाई तारेहोटलका गोष्ठी र सेमिनारको मतलब छैन ।

दाङ बङ्गलाचुलीका यी ५३ वर्षीय रोकाको मजदुर दिवसको दिन बुधबार पनि एउटै दिनचर्या दोहोरियो । सहरले मजदुर दिवस मनाइरहँदा, उनी बालुवाको राससँग जुँधिरहेका थिए । २५ डोको बालुवा बोकेपछि उनको दैनिकी सकियो । उनले १२ सय ५० रुपैयाँ कमाए । त्यसबाट बेलुकाको छाक टारेर बिहानको जोहो गर्दै बचेको रकम लघुबित्तको ऋण तिर्न ठिक्क पारे ।

६ वर्षअघि बाख्रापालनका लागि लघुबित्तबाट ऋण लिएका उनी तिर्न नसकेपछि पोखरा आएर बालुवा चाल्न बाध्य भएका हुन् । उनका अनुसार अझै पनि ५० हजार ऋण तिर्नै बाँकी छ ।

‘हामीलाई केको मजदुर दिवस, मलाई त एक दिन पनि बिदा बस्न नपरे हुन्थ्यो भन्ने हुन्छ,’ उनले दुख पोखे, ‘बजारमा बसेर कुर्सी घुमाउँदै ठूलाठूला कुरा गर्नेलाई हो, यो दिवस । हामीलाई त त्यस्तै हो ।’ उनलाई पछिल्लो समय महानगरले बालुवाको टेन्डर नखुलाएकोमा चिन्ता रहेछ । टेन्डर नखुलेकै कारण जीविका धान्न सहज तरिकाले काम गर्न नपाएको उनले बताए । दिवस भनेर आश्वासन बाँड्नुभन्दा टेन्डर खुलाएर काम गर्न सजिलो बनाइदिए खुसी हुने उनले बताए ।

रोकाको नजिकै काम बालुवा चालिरहेका सम्मरबहादुर राई पनि मजदुर दिवसले आफूलाई नछोएको सुनाउँदै थिए । ‘मजदुर दिवस मजदुरी गर्नेहरुका लागि चाड नै हो । तर, चाड मनाउने हो भने पेटले त चाड भन्दैन । बेलुका त चारो खोजिहाल्छ,’ उनले भने, ‘हाम्रो त जागिर, भत्ता जे भने पनि यही नै हो । एक दिनमात्र गुम्ने हो भने बच्चा पाल्न र आफू पालिन समस्या हुन्छ ।’

बिहानदेखि कामकै चटारो परेकाले त्यता ध्यान नै नभएको उनको भनाइ थियो । ‘यहाँ काम गरेपछि एक दिनमा हजार रुपैयाँ कमाइन्छ । दिवस के–के भन्न लागियो भने त त्यो पैसा कसले दिन्छ,’ उनले भने, ‘हामीलाई त दिवस नआएकै राम्रो एक दिन भए पनि घाटा लाग्छ ।’ यो दिवसको महत्व हुनेखानेले भन्दा हुँदाखानेले बुझ्ने उनको भनाइ छ ।

बुधबार १३५ औं श्रमिक दिवस मनाइरहँदा मजदुरलाई भने रोजीरोटीकै समस्या

मजदुरको कथाव्यथा एकातिर हुँदा, १३५ औं श्रमिक दिवस प्रदेश राजधानी पोखरामा पनि तामझाम रुपमा मनाइयो । बिहानैदेखि विभिन्न संघसंस्थाले दिवसका दिन कार्यक्रम आयोजना गर्‍यो । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकी प्रदेश पोखराले र्‍याली आयोजना गरेको थियो ।

जहाँ गण्डकी प्रदेश मुख्यमन्त्री खगराज अधिकारीदेखि विभिन्न पार्टीका नेताकार्यकर्ता सुकिलोमुकिलो पहिरनमा उपस्थित थिए । पृथ्वीचोकदेखि सुरु भएको र्‍याली पोखरा साइमन पार्टी प्यालेस, सिर्जनाचोक पुगेर मूल कार्यक्रममा परिणत भएको थियो ।

सभामा मुख्यमन्त्री अधिकारीले हरेक मानिसले श्रममा विश्वास गर्नुपर्ने बताए । ‘श्रम हामीहरूको लागि अत्यन्त मूल्यवान् विषय हो, श्रमबाट नै राष्ट्रिय पुँजी निर्माण हुन्छ, रगत र पसिनाको गन्ध जुन माटोमा बग्छ, त्यो माटो सुगन्धित हुन्छ, त्यहीं माटोको सम्मान गर्न मे दिवसले प्रेरणा दिनेछ’ उनले भने । उनले नेपालमा अधिकार प्राप्तिको आन्दोलन सकिएर श्रमिक वर्गको हक, हितको लागि ऐन कानुन निर्माण भए पनि पूर्ण कार्यान्वयन भइनसकेको बताए । यसको कार्यान्वयनका लागि रोजगारदाता र श्रमिक दुवैले आफ्नो कर्तव्य र दायित्व बुझ्न सक्नुपर्नेमा उनको जोड छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले आफ्नो पार्टी श्रमिकका मुद्दामा सधैँ गम्भीर रहेको भन्दै श्रम क्षेत्रका माग र मुद्दा सम्बोधनका लागि सहकार्य गर्न तयार रहेको बताए । माओवादी केन्द्र गण्डकी अध्यक्ष गायत्री गुरुङले सबै क्षेत्रमा काम गर्ने मजदुरलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न सरकार तयार हुनुपर्ने बताइन् ।

मजदुर नेता मुरारी शर्माले मजदुरहरु हरेक दिन असुरक्षित हुँदैगएका भन्दै श्रम आयोग गठन गरी श्रम क्षेत्रका समस्या समाधानमा जोड दिनुपर्ने धारणा राखे ।

कार्यक्रममा एमाले गण्डकी प्रदेश सचिव धनञ्जय दवाडी, नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेस उपाध्यक्ष राधिका कुइँकेल, अखिल नेपाल ट्रेड युनियन महासंघ उपाध्यक्ष सोमबहादुर थापा, जिफन्ट गण्डकी अध्यक्ष रुद्र खत्री र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकीका सदस्य रुद्र गौतम लगायतले ट्रेड युनियन अधिकार र श्रमिक दिवसको महत्वबारे बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width