निर्वाचन प्रक्रिया सम्पन्न

सम्पादक
पौष १, २०७९

निर्वाचन आयोगले प्रत्यक्षतर्फको निर्वाचन परिणाम पहिले नै घोषणा गरेको थियो भने बुधबार समानुपातिकतर्फको परिणाम पनि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । निर्वाचन आयोगका प्रमुख दिनेश थपलियाले त्यसरी घोषित एवं सार्वजनिक गरिएको परिणाम बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएका छन् । त्यसरी प्रतिवेदन बुझाएसँगै गएको मंसिर ४ को निर्वाचन प्रक्रिया टुंगिएको छ । अब राष्ट्रपति भण्डारीले सरकार गठन प्रक्रिया थालनी गर्ने छिन् । यसपालिको निर्वाचनमा समानुपातिकमा ३ प्रतिशत मत ल्याएर ७ ओटा पार्टी राष्ट्रिय पार्टी बनेका छन् । राष्ट्रिय पार्टी बन्न सफल भएका पार्टीहरु हुन्, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा र जनमत । ३ प्रतिशत थ्रेसहोल्ड नकटाएका एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र भएर प्रत्यक्षमा चुनाव जितेकाहरुको पनि संसदमा उपस्थिति हुने छ ।

यस पटक मतदाताहरुले पार्टीलाई त्रिशंकु संसदको उपहार दिएका छन् । त्रिशंकु संसदको संचालन ज्यादै गाह्रो हुन्छ । हुन त पार्टीहरुले एकल बहुमत आएको बेलामा पनि राम्ररी सरकार संचालन गर्न सकेनन् भने दुइतिहाइ बहुमतको त दुरुपयोग नै गरे । त्यसैको सजायस्वरुप आज यस्तो संसद उपहार दिएको हो कि भन्ने पनि भएको छ । त्यसकारण नेताहरुले हिजोजस्तै गरी सत्ता संचालन गर्ने कुरा नसोचे हुन्छ । स्थितिमा परिवर्तन आएको छ । नयाँ पार्टीहरु संसदमा पुगेका छन्, पुराना पार्टीहरुमा पनि नयाँ पुस्ताले आफ्नो प्रभाव जमाउने प्रयास गरेका छन् । कांग्रेस पार्टीमा त्यो प्रत्यक्ष देखिएको छ । पार्टी महामन्त्री गगन थापाको नेतृत्वमा सशक्त युवाहरु एकित्रित हुँदैछन् । महामन्त्री थापाले आफू संसदीय दलको नेतामा उम्मेदवारी दिने घोषणा गरेका छन् । अन्य पार्टीका युवाले पनि आफ्ना शीर्षनेताको काम कारबाहीबारे असन्तोष व्यक्त गरेका छन् । तर उनीहरुले भन्न भने सकेका छैनन् ।

एकातिर स्थिति यस्तो छ भने अर्कोतिर विदेशी चलखेल बढ्दो छ । निर्वाचन अगाडि र निर्वाचन पछि विदेशी कुटनीतिक व्यक्तिको सक्रियताले राम्रो संकेत गर्दैन । यो कुरालाई नेताहरुले गम्भीरतापूर्वक लिएका छैनन् । कतिपय नेताहरु विदेशी कुटनीतिक व्यक्तिसँग चिया पिउनुलाई नै महत्व सम्झनेहरु पनि छन् । राष्ट्रियताको सवाललाई अब हल्का किसिमले सम्झनु हुँदैन । अबको दिन भनेको हाम्रो सरकार गठन गर्ने दिन हो । सरकार गठन गर्ने क्रममा धेरै चलखेल हुन सक्दछन् । यस्तो बेलामा सुदृढ सरकार बनाउनेतिर हाम्रो ध्यान गएन भने भोलि अस्थिरताले हामीलाई सताउनेछ । अस्थिरता फेरि एक पटक हाम्रो नियति जस्तै हुनेछ । यस कुरालाई गम्भीरतापूर्वक लिन हामी आग्रह गर्दछौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width