नयाँ राष्ट्रपतिका नयाँ चुनौती

सम्पादक
फागुन २८, २०७९

समसामयिक राजनीतिका वरिष्ठतम् व्यक्तित्व तथा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रपतिका उम्मेदवार भएका रामचन्द्र पौडेल २५ गते सम्पन्न निर्वाचनबाट शानदार मत प्राप्त हासिल गरी गरिमामय राष्ट्रपति पदमा आसीन भए । उनले आफ्ना प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएका थिए । उनी राष्ट्रपति निर्वाचित भएपश्चात् राजनीतिमा एउटा नयाँ वातावरण सुरु भएको छ । योग्य व्यक्ति योग्य स्थानमा पुगेको टिप्पणी भइरहेको छ । हिजो जस्तो राष्ट्रपति र प्रधानमन्त्रीबीच असमझदारी भई असहयोगको अवस्था नआउने अपेक्षा गरिएको छ । राष्ट्रपति पौडेललाई अनुभवले खारिएका र समस्या पर्दा विकल्प दिन सक्ने व्यक्तिका रुपमा चित्रण गरेको पाइन्छ ।

उनले ६ दशकभन्दा लामो राजनीतिक यात्रा गरेका छन् । विद्यार्थी अवस्थादेखि नै उनी राजनीतिमा सक्रिय थिए । पञ्चायतको विरोध गर्दा उनी पटक-पटक जेल जानु परेको थियो । बिपीको प्रजातान्त्रिक समाजवादबाट उनी प्रभावित थिए । अध्ययनशील स्वभावका उनी पछि आफैं समाजवादी चिन्तकका रुपमा परिचित भए । २०४८ मा पहिलो पटक गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बखत पौडेल स्थानीय विकास मन्त्री भएका थिए भने २०५६ मा कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्री रहँदा उपप्रधान तथा गृहमन्त्री भएका थिए । उनी पटक-पटक मन्त्री हुँदै प्रतिनिधि सभाको सभामुख पनि भए । सभामुख भएर उनले तटस्थ र निष्पक्ष भूमिका राम्ररी निर्वाह गरेका थिए । उनको त्यही भूमिकाले गर्दा सबै पार्टीहरुसँग उनको राम्रो सम्बन्ध स्थापित भएको छ र कुनै पार्टीसँग केही विषयमा असमझदारी भई समस्या आइपर्दा उनी नै वार्ता गर्न जान्थे । उनको त्यही भूमिकाले गर्दा यस पटक राष्ट्रपतिको चुनावमा १ दर्जन पार्टीहरुले उनलाई समर्थन गरेका थिए ।

उनी नयाँ र जटिल कामहरु पनि राम्ररी सम्पादन गर्दथे । त्यसै भएकाले बृहत् शान्ति सम्झौतापछिको कांग्रेस, एमाले र माओवादीको मिलिजुली सरकारमा उनले शान्ति तथा पुनर्निर्माण मन्त्रालय सम्हालेका थिए । त्यो कठिन घडीमा पनि उनले जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका थिए । उनले गरेका काम कुरामा कतै कसैले औंला ठड्याउने अवस्था रहेन, जुन उनको कार्यगत विशेषता बनेको छ । उनी स्वच्छता र इमानदारितामा जोड दिन्छन् । नैतिकतालाई मूल मन्त्र सम्झन्छन् । उनी धार्मिक प्रकृतिका छन् र धर्ममा विश्वास गर्दछन् । अझसम्मको हिसाबले उनी सफल व्यक्ति हुन् । राष्ट्रपति भएपछि निश्चय नै भूमिका केही फेरिन्छ । चुनौतीहरु नयाँ–नयाँ रुप र रंगमा आइपर्दछन् र राजनीतिक विवादहरुले अन्योल बढाउन सक्छ । जिम्मेवारी बढ्छ । सबै पक्षलाई चित्त बुझाएर जानुपर्ने अवस्था आउँछ, जुन चुनौतीपूर्ण हुन्छ । राष्ट्रपतिले यस्ता सबै चुनौतीको सफलतापूर्वक सामना गर्न सकून्, यही हाम्रो शुभकामना छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width