डा. भट्टराईबाट पद त्याग

सम्पादक
असार १७, २०७०

१. एकीकृत माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीका रहेको आफ्नो पदबाट राजीनामा दिएपछि त्यो कुरा राजनीतिमा रुची राख्नेहरूका लागि चर्चाको विषय भएको छ। उनले शनिबार लिखित रूपमा आफ्नो पद त्यागको कुरा सुनाएका थिए। धेरैले अब पार्टीभित्र के हुन्छ, कसो हुन्छ भनी नियालिरहेका छन्।

२. पार्टीभित्र अहिले केही पदका लागि तानातान चलिरहेछ। धेरै दिनको विचारविमर्शबाट पनि त्यसलाई समाधान गर्न सकिएको छैन। हेटौंडा महाधिवेशन भएको पाँच महिना बितेको छ। तैपनि पदपूर्र्ति भएको छैन। अध्यक्ष पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ तीनै जना आ-आफ्नो मान्छेको पदोन्नति गर्ने पक्षमा छन्।

३.     त्यसै भएर विवाद लम्बिएको हो। ती सबै थाहा पाउनेहरूले डा. भट्टराईले कुन परिस्थितिमा राजीनामा गरेका हुन् भन्ने बुझेका छन्। तर उनले भने आजीवन एउटै पदमा रहने परम्परालाई अन्त्य गर्न र नयाँ पुस्तालाई ठाउँ दिन आफूले पद त्याग गरेको बताएका छन्। त्यसै क्रममा उनले आफू भर्खरै ६० वर्ष पुगेकोले पनि त्यो काम गरेको उल्लेख गरेका छन्।

४. केही मानिसहरू भने डा. भट्टराईको पद त्यागको घोषणालाई एक घुर्कीका रूपमा लिने गरेका छन्। उनीहरूले भट्टराईले आफूले भनेकाहरूलाई पदोन्नति गर्न नसकेकाले पद त्यागको घोषणा गरेको अर्थमा बुझेका छन्। कतिपयले त्यसलाई उनको आक्रोश पनि भनेका छन्। त्यो के हो, कस्तो हो, २/४ दिनमा प्रष्ट हुनेछ।

५. उनले आफ्नो पद त्यागको घोषणालाई आफूमा मात्र सीमित नभएको भन्दै विस्तारै अध्यक्षले पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रक्रियाको थालनी पनि हो भनेका छन्। तर अध्यक्ष दाहालले त्यस्तो कुनै प्रतिक्रिया दिएका छैनन्। डा. भट्टराई यसै क्रममा बाहिरिए भने उनले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने कुरालाई एजेण्डाकै रूपमा लग्ने सम्भावना छ।

६. कुनै बेला भट्टराईले आफ्नो पार्टीअरु पार्टीजस्तो होइन भन्दै त्यो पार्टीअर्कै धातुबाट बनेको हो, त्यो कहिल्यै फुट्दैन भनेका थिए। त्यसबेला भएको विवाद र बहसलाई उनले जीवन्त पार्टीको नमुना समेत भनेका थिए। तर उनले भनेको त्यो स्वर सुक्नै नपाई वैद्य पक्ष विभाजित भएर गएको सर्वविदित छ।

७. भट्टराईले गरेका अड्कल र अनुमान धेरै फेल भएका छन्। उनले दुर्इ पटक चुनावको तिथि घोषणा गरे, दुवै पटक चुनाव भएन। उनले आफूलाई  र आफ्ना भनाइलाई बडो गम्भीर भन्ने गर्दछन्। तर कार्यान्वयनमा त्यो गम्भीरता देखिएको छैन। उनको यो अहिलेको पदत्यागको घोषणा के कति गम्भीर भएर गरिएको हो त्यो कुरा आगामी २/४ दिनले प्रष्ट पार्ने छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width