गण्डकी विश्वविद्यालयका प्रथम कुलपतिमा गुरुङ

सम्पादक
फागुन ६, २०७६

१. गण्डकी प्रदेश सरकारले प्रा.डा. गणेशमान गुरुङलाई गण्डकी विश्वविद्यालयको प्रथम कुलपतिमा नियुक्त गरेको छ । प्रदेश सरकारहरुले आ आफ्नै विश्वविद्यालय सञ्चालन गर्ने प्रतिबद्धता त व्यक्त गरेका छन् तर गण्डकी प्रदेशले झैं कुलपति नै नियुक्त गरेका छैनन् । त्यस हिसावले गण्डकी प्रदेश सरकार पहिले भएको छ ।

२. गण्डकी प्रदेशको अर्को विशेषता के पनि भएको छ भने त्यसले मुख्यमन्त्रीलाई पदेन कुलपति नबनाएर कुलपतिमा छुट्टै व्यक्तिलाई चयन गरेको छ । यसबाट एउटा राम्रो कामको थालनी भएको छ । यसलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सकारात्मक सोचको परिणामका रुपमा लिइएको छ ।

३. कुलपति गुरुङ त्रिभुवन विश्वविद्यालयमा लामो समय काम गरेर प्रशस्त अनुभव हासिल गरेका व्यक्ति हुन् । शैक्षिक प्रशासनका सम्बन्धमा उनी धेरै जानकार रहेका छन् । उनको कुशल नेतृत्वमा विश्वविद्यालयले प्राज्ञिक उन्नयनको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ ।

४. गण्डकी विश्वविद्यालय कहाँ स्थापना हुन्छ भन्ने निक्र्यौल भएको छैन । स्थान नै निश्चित नभएको अवस्थामा अरु केही हुने कुरै भएन । यस्तो अवस्थामा नियुक्त भएका कुलपतिले धेरै काम गर्नु पनि पर्दछ र आफूले भने अनुसारको विश्वविद्यालय बनाउने वातावरण पनि बन्न सक्दछ । उनको सामु यो चुनौती पनि हो र अवसर पनि ।

५. आजको विश्वविद्यालयले प्रदेश र देशलाई आवश्यक पर्ने जनशक्तिको उत्पादन गर्नुपर्दछ । सर्टिफिकेटलाई मात्र महत्व दिएर बेरोजागार बनाउने जनशक्ति देशको लागि वरदान हुनसक्दैन । देशको वर्तमान परिप्रेक्ष्यले त्यो प्रष्ट देखाएको छ । प्राविधिक र गुणस्तरीय शिक्षा अहिलेको आवश्यकाता हो ।

६. राजनीतिक पार्टीको हस्तक्षेपले गर्दा हाम्रा शिक्षण संस्थाहरु गिजोलिएको अवस्थामा छन् । त्यसमा पनि विद्यार्थी राजनीतिले विश्वविद्यालय प्रशासनलाई अप्ठ्यारोमा पारेको सर्वविदितै छ । बन्द हडतालले गर्दा पढाइको स्तर खस्कँदै गएको अवस्था छ । यी सवैलाई दृष्टिगत गरी नवनियुक्त कुलपति गुरुङले विश्वविद्यालयलाई राजनीतिबाट टाढा राख्ने जुन वचनबद्धता व्यक्त गरेका छन्, त्यो महत्वपूर्ण छ । त्यसलाई अक्षरशः कार्यान्वयन गरिनु पर्दछ ।

७. त्यसको साथै अर्को के पनि चुनैती छ भने । पोखरा विश्वविद्यालय नजिकै छ । विश्वविद्यालय नभए पनि विश्वविद्यालयजस्तै पृथ्वीनारायण क्याम्पस पोखरामा छँदै छ । गण्डकी विश्वविद्यालय तिनीहरुको प्रतिस्पर्धीको रुपमा नआएको भएता पनि भोलि प्रत्यक्ष अप्रत्यक्ष प्रतिस्पर्धा गर्नु पर्ने अवस्था आउन सक्छ । त्यसका लागि शुरुदेखि नै तयार रहनु पहिलो आवश्यकता हो । काठमाण्डौ विश्वविद्यालय र पोखरा विश्वविद्यालयले धेरै समय विद्यार्थी राजनीतिलाई प्रवेश गर्न दिएका थिएनन् । त्यो कुरालाई नवनियुक्त कुलपति गुरुङले स्मरण गर्नुपर्दछ र शुरुदेखि नै त्यस्तो वातावरण निर्माण गर्नु पर्दछ । हामी नवनियुक्त गुरुङलाई हार्दिक बधाइ ज्ञापन गर्दछौँ । कार्यकाल पूर्णरुपले सफल होस् भन्ने हार्दिक शुभकामना प्रकट गर्दछौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width