अखाद्य वस्तु बजारबाट तुरुन्त हटाऊ

सम्पादक
भाद्र ९, २०७९

नेपालीहरुको सबभन्दा ठूलो चाड बडादसैं नजिक–नजिक आइरहेको छ । जति दसैं नजिक आउँछ, उति नेपालीहरुको आवत–जावत बढ्छ । टाढा–टाढा भएका नेपालीहरु पनि दसैं मान्न घर फर्कन्छन्, आफूभन्दा ठूला मान्यजनबाट टीका थाप्छन्, आशीर्वाद माग्छन् र आशीर्वाद पाएर आफूलाई धन्य सम्झन्छन् । दसैं मान्न नेपालीहरुले केही पहिलेदेखि नै लत्ता कपडा खरीद गर्दछन् र खाद्य सामग्रीको जोहो गर्दछन् । यो नेपालीको चलन हो । यो चलन सुरु हुन लागेको छ ।

एकतिर यो चलन सुरु हुन लागेको छ भने अर्कोतिर कोरोनाको संक्रमण बढ्दो छ । कोरोनाको चौंथो चरणले प्रायः खाली भएका अस्पतालको बेडहरुमा बिरामीले भर्दै छन् । कहीं कतै बिरामीको मृत्यु भएको समाचार पनि आउने गरेका छन् । हाम्रै छिमेकी देशहरु भारत र चीनमा पनि यो संक्रमण बढ्दै गएको छ । चीनको विभिन्न स्थानहरुमा लकडाउन गरिएको पनि समाचार छ । यसैबीच भारतबाट दसैं मान्नका लागि नेपालीहरु ठूलो संख्यामा घर फर्कने बेला पनि भएको छ । तिनीहरु घर फर्कंदा तिनीहरुले आफ्नो साथमा कोभिड १९ भित्रिन सक्छ । त्यसको लागि सीमा नाकामा परीक्षणको व्यवस्था र संक्रमित भएकाको औषधीमूलोको व्यवस्था गरिएको थियो । तर अहिले त्यस्तो व्यवस्था भएको छैन । कोरोनाको खोप अधिकांशले लगाएकाले यो रोग पहिले जस्तो गम्भीर प्रकृतिको देखिएको छैन तर यसलाई बेवास्ता गरी हिँड्ने बेला पनि भएको छैन । कुनै पनि बेला स्थिति गम्भीर हुन सक्छ । सम्बन्धित पक्ष यसमा गम्भीर हुनै पर्दछ ।

अर्को दसैंको समाचारका साथ बजारमा गुणस्तरहीन खाद्यान्न आयात भएको समाचार आएको छ । बजारमा पाइने सागपात आदिमा मानिसले खान नहुने रासायनिक पदार्थ मिसाएको कुरा बराबर आउने गर्दछन् । काठमाडौंमा यस सम्बन्धमा केही परीक्षण गरिन्छन् भने जिल्लाहरुमा त्यस्तो सुविधा छैन । जिल्लाका उपभोक्तहरुले रंग मिसिएको रासायनिक पदार्थ मिसिएका दाल सागपात खान बाध्य छन् । सिंहदरबार त हाम्रा घर दैलोमा पुगेको चर्चा गरिन्छन् । तर यस्तो कुरा हेर्ने कुनै संयन्त्र नै देखिँदैनन् । औपचारिक रुपले कहिलेकाहीं बजार अनुगमन गरिएको समाचार त आउँछन्, तर त्यसले बजारलाई खास प्रभाव पारेको देखिँदैन । अहिले त झन् कुहिएको चामल बजारमा आएको छ । कहाँ–कहाँ त्यस्तो चामल आएको छ, यसको अनुगमन भएको छैन । त्यस्तो चामल उपभोक्ताको घरमा समेत पुगेको अवस्था छ । तर सरकारी तर्फबाट त्यस सम्बन्धमा केही बताइएको छैन । सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्ने यस्ता कुरामा सरकार गम्भीर बन्नै पर्दछ । तुरुन्त बजारको अनुगमन गरी अखाद्य ठहरिएका त्यस्ता कुरालाई बजारबाट हटाउनुपर्छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width