देशलाई कुलमान शैली चाहिएको छ

safalbaral safalbaral
असाेज ८, २०७७

कुलमान घिसिङ । यो नाम दिनु मात्र पर्छ, नेपालमा सबैले सम्झन्छन् ती अँध्यारा दिनहरु र सम्झन्छन् अहिलेका उज्याला रातहरु । अर्थात कुलमान र बिजुली पर्यावाची शब्द जस्तै भए । धपक्क बलेको त्यो अनुहार न दम्भ, न अहंकार शालीन, सौम्य र सरल अर्थात् कुलमान घिसिङ, आफ्नै कर्म लगाव र समर्पणले श्रेष्ठ बनायो । उनलाई आज ३ करोड नेपाली जनताको स्पन्दनमा उनको जीवन संगीतको धुन बज्छ ।

कुलमान घिसिङ अहिले फेरि चर्चामा छन्। उनको आशु, रोदन र भक्कानो चर्चामा आएको छ । त्यो रोदन भित्र मुलुकको आशा र भरोसा पनि सँगसँगै चर्चामा छ ।

लोडसेडिङ हटाएको, रुग्ण आयोजना निर्माण सम्पन्न गरेको, विद्युत् चुहावट घटाएको, चरम घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा लगेर वाहवाही पाएका कुलमानलाई सरकारले पुनर्वहाली गर्नू पर्छ भन्ने विषय चर्चामा आइरहेको सन्दर्भमा यो कुरा जायज छ ।

दैनिक १८ घण्टा लोडसेडिङ , ९ अर्ब रुपैयाँ घाटामा रहेको प्राधिकरण यस्तै गरि आर्थिक वर्ष २०७२/७३ मा ३४ अर्ब ६१ करोड सञ्चित नोक्सानी रहेको प्राधिकरण, आर्थिकवर्ष २०७५÷७६ मा आउँदा ७३ अर्ब ४६ करोड आम्दानी गरेर मुलुकलाई नै कायापलट गर्ने महान कर्मचारी बन्न सफल भएका घिसिङलाई अहिलेसम्म पुर्नबहाली नगर्नु सरकारको गैरजिम्मेवारी कार्य हो ।

श्रीमदभागवत गीतामा एउटा वाक्यांश छ ,“योगः कर्मशु कौशलम ’’ जब कामप्रति गहिरो अभिरुचि हुन्छ । तब कर्ममा कुशलता प्राप्त हुन्छ । अतः यसका निम्ति कर्ममा एकसाथ मन, बुद्धि र शरीर (क्रिया ) तीन वटा कुरा समावेश हुनुपर्छ । त्यसकारण कुलमान यसरी नै आफ्नो कामलाई कुशलतापूर्वक गरे।

कुलमान आउनुअघि त्यो कुर्सीमा अरु आए गए । तर तिनीहरूले कुर्सीको इमान जोगाएनन् । बरु आफ्नो दायित्वबाट विमुख भए । एउटा भ्रमको लुकमारीमा भुलाएर मुलुकलाई अँध्यारो बनाए । अकूत धन–दौलत थुपारे । त्यही कृत्यको कारण आज उनीहरुको अनुहारको चमक हरायो । चरम ग्लानी, भय, पछुतो र अपराधबोधले कक्रक्क गले ।

तर कुलमान घिसिङ ?

उनको अनुहार त ओजपूर्ण र दिव्य छ । सर्गवले चौडा छ छाती । कार्य कौशलले नृत्यवत छन् शरीरका अवयवहरु ।

कुनै समयमा देशमा लोडसेडिङको कालो बादल मडारिरहँदा आम जनताहरु लोडसेडिङको तालिका हेरेर भात पकाउनुपर्ने, उज्यालो पर्खेर लेखपढ गर्नुपर्ने, बिजुली बत्ती नहुँदाका दिनहरु कति उराठलाग्दा ?कति उकुसमुकुस ? कति छटपटी ? त्यसैले पैदा गरिदिए चिन्ता, निराशा, डिप्रेशस, पलायन, आत्महत्या । कतिका कार्यतालिका विथोलियो । कतिका उद्योग चौपट पारिदियो । कतिको गाँस खोसियो। मुलुकै खुसी, उर्जा, उमंग र खोसियो कर्मका हातहरु लुला भए । जागरिला मनहरु सिथिल भए । उर्वरभूमिका मस्तिष्कहरु पलायन भए ।

यो अँध्यारो साम्राज्यभित्र अपराधको लुकमारी गर्नेहरु जागा रहिरहे, जो जेनसेट देखि सोलार, इन्भटरलगायत धन्दाहरु सलबलाइरहे । यसमा कर्मचारी, दलाल, व्यापारदेखि भ्रस्ट नेता मन्त्री सम्बन्धितसमेत आसपासमा कानेखुसी र अङ्कमाल गरे । निरास समाज माथि उपरखुट्टी लगाएर उज्यालोको मोल मोलाई गरे गरिरहे।

विज्ञहरुको विश्लेषणलाई आत्मसात गर्दै गर्दा र यी सबै इतिहासलाई पल्टाएर हेर्दा नेपाल विद्युत प्राधिकरणका तत्कालिन सञ्चालक तथा व्यवस्थापकले अनियमित रुपमा सीमित उद्योग हुनेखाने पहँुचवालालाई विद्युत दिएर सर्वसाधारणलाई १८ घण्टासम्म अँध्यारोमा राखे । त्यति असहज र जटील बनाइदिएकि सर्वसाधारणका लागि उज्यालो एक मृगतृष्ण भइदियो ।

कुलमानलाई आज नेपाली जनताले दिएको श्रेय जायज छ । मेरो पुस्ताले आज बलभद्र र भक्तिथापा देखेन । देख्यो त किताबका पानामा मात्र । बीपी र पुष्पलाल पनि धेरै पहिला नै देहान्त भयो । कमरेड मदन भण्डारी पनि मेरो पुस्ता जन्मनु भन्दा अगाडि नै विभत्स हत्या गरियो। तर आज मेरो पुस्ताले देखेको एक कार्यकालमै देशलाई कायपलट गरेको रियल हिरो हुन् कुलमान । आज उनको व्यवहार र चरित्रले प्रमाण गरिदिएका छन् ।

त्यसकारण सरकार कुलमानको पुनर्वहाली गर । आजको समयमा कुलमान व्यक्ति होइनन् कि एउटा सोच हुन्, प्रवृत्ति हुन् शैली हुन् । आफ्नो कर्तव्यप्रति इमान्दार उनी कर्तव्यनिष्ठ हुन निष्ठावानको नाता आज कुलमानसँग जोडिएको छ ।

वास्तवमा आज देशका प्रत्येक सरकारी संस्थामा कुलमानको जस्तै सोच भएका व्यक्ति चाहिएको छ । आज देशमा सिमेन्ट उद्योग, वीरगञ्ज चिनी कारखाना, विराटनगर जुट मिल उद्योग, भृकुटी कागज कारखानालगायत देशका गौरव गर्नलायक उद्योगधन्दा डुबेका छन् । देशका अधिकांश सार्वजानिक संस्थानमा आज असल, इमान्दार कर्तव्यनिष्ठ आफ्नो कार्यप्रति पूर्ण वफादार रही काम गर्ने व्यक्ति अर्थात कुलमान शैली देशलाई चाहिएको छ ।

हाम्रो सुझाव