बास्तोलाका कुलदेवता र पूर्वजहरू

आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०६९

पूर्वजहरू जयनारायण, प्रतिमन, डण्डपाणी लक्ष्मीधर बास्तोला समेतका भाइहरू -किंवदन्ती अनुसार) १८४१ सालतिर जुम्ला जिल्लादेखि बसाइसराइ गरी कास्कीकोटको तोरिपानी भन्ने जग्गामा आई बसोबास गरिआएका थिए।त्यस अवस्थामा तत्कालीन कास्कीका राजा कुलमण्डल शाह तथा राजेन्द्रविक्रम शाहका कार्यकालमा राजाको दरवारमा पण्डित तथा पुजारीको रूपमा नियुक्त भइ कामकाज गरि आएको भन्ने १८६० सालको जयनारायण प्रतिमन डण्डपाणी बास्तोला समेतको पुजारी खोन्गी भन्ने तालुकदारले गरिदिएको अभिलेखबाट बाजेहरू कास्की कालिका मन्दिर (दरवारमा) पण्डित तथा पुजारीको रूपमा रहेका रहेछन् भन्ने बुझिन आएको छ।

कास्कीकोटको तोरीपानी बास्तोला वारितर्फ बुझ्दा बाजेहरूले बसोबास गरी आएको तोरीपानी भन्ने जग्गा १८८५ सालतिर कास्कीकोट निवासी प्रतिमन चुवाईं सुवेदीलाई बाजेहरूले जग्गा बिक्री गरिदिएपछि १८९० सालका जाँचमा नापी हुँदा सो जग्गाको नाम बास्तोला वारि कायम भइ मोठ नं. ६०१९, १९९२ कायम भइ प्रतिमन सुवेदीका नाउँमा दर्ता पुर्जा भएको देखिन्छ। उक्त जग्गामा केके नामगरेका बाजेहरू बसी आएका थिए भन्नलाई अभिलेख खोजी भइरहेको छ। यस्तै सराङकोट वि.सं. वडा नं. ७ मा पनि बास्तोला बन्धुहरूको बसोबास रही आएको छ। यिनै बन्धुहरूमध्येको बाजेहरू उल्लेखित स्थानमा बसी आएका हुन् कि भन्नेतर्फ पनि बुझ्दा साविक जुम्ला, पुरुन्चौर, बगर हँुदै १८०० सालतिर बाजे कलाधर, रविलाल यस ठाउँमा बसाइसराइ भएको भन्ने कुरा बाजे तथा पिताजीबाट सुनेको थिएँ। कास्कीकोटबाट यस स्थानमा बसाइसराइ गरेको भन्ने थाहा छैन भन्ने हाल पोखरा-६ बैदाम निवासी पिताम्बर बास्तोलाको भनाइ पाएँ।

अब बाजेहरू कास्की कालिका मन्दिरबाट कहिले विस्थापित भएत भन्नेतर्फ बुझ्दा बाईसी चौबीसे राज्यलाई नेपाल एकीकरण गराएपछि कास्कीकोट दरवार छाडी आफूहरूले पाएको विर्ता सनदगुठी आदिका जग्गाहरूमा १८९८ सालतिर बसाइसराइ गरी बसोबास गरी आएकै अवस्थामा कास्की कालिका भगवती मन्दिरबाट शीला ल्याई हेमजास्थित याम्दीखोलाको झोलुङ्गे घाट भन्ने स्थानमा हरिप्रसाद बास्तोलाको जग्गामा शीला स्थापना गरी (१२) बाह्र वर्षको फरक पारी हालको हेमजा, फूलबारी, महेन्द्रपुल समेतका भैपादहरूले बलि प्रथाद्वारा कुलदेवताको पूजा चली आएको थियो। त्यस अवस्थामा मेरो उमेर २१ वर्ष जति पुगेको थियो होला कुलदेवताको पूजा गर्दा पहिला भेडाको पाठो र त्यसपछि प्रत्येक घर धुरीबाट एक (१) बोकाको बलि दिने चलन थियो। मैले एकै दिनमा मेरैहातबाट ६८ वटा पाठाको बलि दिएको थिएँ। सो विषय अहिले पनि मलाई झलझली सम्झना आउँछ। पछि निज हरिप्रसाद बास्तोलाले जग्गा बिक्री गरि दिएपछि २०२१ सालमा हेमजा ५ अँधेरी खोला भन्ने पर्ति जग्गामा दोस्रो पटक शीला सारी ५ पाँच वर्षको फरक पारी बलि प्रथाद्वारा नै कुलदेवाको पूजा चलिआएको थियो। कुलदेवताको आसपासमा हाम्रो गोठ वस्ती रहिआएको थियो। २०१७ साल आषाढ १७ गते राति माथिबाट ठूलो पैरो आई मानिस गोठ समेतको धेरै क्षति पुग्यो। त्यसपछि त्यहाँ गोठ राख्न छाडिदियौं। २०२४ सालमा हामीले एकाह गरेका थियौ एकाहा गर्दा बनाएको चौको अहिले पनि देख्न सकिन्छ। त्यसपछि तेस्रोपटक २०३१ सालमा हेमजा ५ सिलि·ेघाट खोलापारी भन्ने स्थानको घनश्याम बास्तोलाको जग्गामा शीला सारी एकाहा गरी बली प्रथा हटाइएको थियो। मेरा बाजे र पिताजीले हाम्रा इष्टदेव देवी हुन भनेको सुनेको थिएँ। यस अवस्थाको तत्कालीन अवस्थादेखि २०४९ सालसम्म हेमजा पुलपारि महेन्द्रपुलका भाइहरूले मात्र कुलदेवताको पूजा चलाइआएका थिए। साविक अवस्थामा हालको जस्तो समिति बनाउने चलन थिएन। २०५० सालदेखि गर्ग ऋषिलाई कुलदेवताको रूपमा मानी पूजा चलिआएको छ। हाम्रा बाजेहरूले स्थापना गरेको कुलदेवताको शीला अहिले पनि मन्दिरभित्र देख्न सकिन्छ। भन्ने हेमजा-७ निवासी वयोवृद्ध ९२ वषीय दाजु तिलकप्रसाद बास्तोलाको भनाइ पाएँ। इष्टदेव कस्लाई मान्ने होत भन्नेतर्फ धेरै बौद्धिक पण्डित ज्यूहरूसँग बुझ्दै जाँदा गर्ग ऋषि महान विद्वान पुजनीय वासुदेव भगवानका नजिक रहने ऋषि हुन् तर गोत्रीय नाताले ऋषिलाई कुलदेवताको रूपमा लिन मिल्लाजस्तो लाग्दैन कुलदेवता, पितृ देवता भनेका एकै हुन् आफ्ना बन्धुभित्र धेरै समूह सामेल भइ आ-आफ्ना पितृदेवको सम्झना गरी कुलदेवताको रूपमा धेरै स्थानमा पूजा अर्चना तपण आदि चलिआएको पाइन्छ। कतिपय स्थानमा मष्टव भैरव तथा देवीको नामबाट पनि कुलदेवताको पूजा चलिआएको छ। यसतर्फ पुराना धार्मिक लेख धर्मसिन्दु निर्णय सिन्धु हेरी विद्वान वर्गको भेलाबाट छलफल गरी यसको निराकरण गर्न सकिन्छ। अहिले नै यसै हो भनेर भन्न सक्ने अवस्था छैन। अतयव गर्ग ऋषिलाई कुलदेवता पितृदेवताको रूपमा लिन मिल्लाजस्तो लाग्दैन भन्ने कतिपय ज्येष्ठ बन्धुहरूको भनाइ पनि पाएँ।

माथि उल्लेखित विषयमा इष्टदेव कस्लाई मान्नेत भन्नेतर्फ मेरो विचारमा नेपाल अधिराज्यभित्र विभिन्न स्थानमा हाम्रा बास्तोला बन्धुहरूको ठूलो बसोबास रहिआएको छ। बास्तोला बन्धुहरूले पनि आ-आफ्ना क्षेत्रमा कुलदेवताको पूजा गर्ने परम्परा यथावत छ। सबै क्षेत्रमा कुलदेवता को पूजा के कस्तो विधि विधानद्वारा पूजा चलेको छ इष्टदेव कस्लाई मानी आइएको छ भनी सबै स्थानबाट विवरण लिने र बुझ्ने कार्य भएमा यस्को निराकरण होलाजस्तो लाग्दछ।

पर्वत कास्की जिल्लाका धेरै ठाउँ हुँदै पूर्व झापा र सुदूर पश्चिम समेतमा बास्तोला बन्धुहरूको विस्तृत बसोबास रहिआएको छ।

नेपालका विभिन्न स्थानमा बसोबास गरी आएका बास्तोला बन्धुहरूको पुख्यौर्ली थलो पहिचान गर्ने सम्बन्धमा चासो राख्ने ज्येष्ठ बन्धुहरूमध्ये पं. ज्यो. यदुनाथ बास्तोला पर्वत, पं. यज्ञश्वर बास्तोला झापा, विद्वान यज्ञप्रसाद बास्तोला समेतका अधिकांश बुझ्दा धेरैजसो बन्धुबाट आफ्नो पुख्यौर्ली थलो कास्कीकै काउरे हो भन्ने जानकारी पाएँ। अहिले पनि काउरेमा २७५ घरपरिवारको बसोबास रहिआएको छ। यसतर्फ किन काउरेका बन्धुहरूले आफ्ना वंशजका सन्तानहरूलाई कुलदेवताको वाषिर्क पूजाको दिन वृहत् कार्य क्रम गरी अगाडि बढाउनु पर्ने आवश्यकता पूरा गर्नेतर्फ काउरेमा रहेका पुराना अभिलेख पल्टाइ वंशजलाई मार्गर्दर्शन गर्ने कार्यमा लाग्न उपयुक्त हुन्छ कि भन्ने जिज्ञासा राख्न चाहन्छु।

अन्तमा, सबै बास्तोला बन्धुसँग के अनुरोध गर्न चाहन्छु भने हाम्रा पुर्खाको विवरण यही ठीक हो भनेर नलिनु होला मैले आंशिक बन्धुसँग मात्र जानकारी लिएको विषयमात्रको यो पहिलो चरणको पुर्खाको चिनारी बन्धुहरूसामु ल्याएको छु। अझ यकिन अभिलेख खोजतलास गर्नेतर्फ लागिरहेको छु। बन्धुहरूसँग पनि आ-आफ्ना क्षेत्रको पुर्खाहरूको पुरानो अभिलेख केही छन् भने उपलब्ध गराइ दोस्रो विवरण बन्धुहरूसमक्ष ल्याउने कार्यमा सहयोग हुनेछ भन्ने आशा लिएको छु। यस लेखबाट कुनै बन्धुहरूलाई असर पर्न जाने रहेछ भने त्यस्मा क्षमा चाहन्छु। र गल्ती भएका स्थानमा सच्याउने मौका दिनु भइ सहयोग गर्नु हुनेछ भन्ने आशा लिएको छु। जय इष्टदेव कुलदेवता

(लेखक बास्तोला कुल सेवा समिति, नेपाल जिल्ला कार्यसमिति, कास्कीका अध्यक्ष हुन्।सं.)

Related News

सम्बन्धित समाचार

hero news full width