पीडितको ‘यात्रा’ : एक विश्लेषण

आदर्श समाज सम्वाददाता
फागुन २२, २०७२

कुनै बेला यात्राका क्रममा खर्च सकिएको हुँदा यो पङ्क्तिकारले नामको पछाडि बिखर्ची उपनामको फुको झुण्डयाएको थियो र आजसम्म पनि झुण्डयाइरहेको छ। मेरा मित्र साहित्यकार टेकनाथ पोखरेलले पनि आफ्नो नामको पछाडि साहित्यमा पीडित उपनाम राखेका छन्। यसको वास्तविक कारण त मलाई थाहा छैन, तापनि बाल्यकालदेखि नै उनी घर, समाज र राज्यबाट पीडित बनेको कुरा उनका साहित्यिक कृतिका अध्ययनबाट थाहा पाउन सकिन्छ। यी सबै पीडाले गर्दा नै उनी खारिएको सुनझैँ असल साहित्यकार बन्न पुगेका हुन् भन्ने मलाइ लाग्छ।

विस २०२२/१२/१२ मा कास्कीको घाचोकमा पिता हरिलाल पोखरेल र माता कुन्तीदेवी पोखरेलको कोखबाट यस धरतीमा पर्दापण गरेका पीडित मेरा साहित्यिक मित्र हुन् भन्ने कुरा माथि नै उल्लेख गरियो। सिर्जना साहित्य सदन घाचोकका संस्थापक र संरक्षक, नेपाली लेखक सङ्घ कास्कीका सदस्य, नेपाली भाषा शिक्षक परिषद् कास्कीका आजीवन सदस्य, हेमजा साहित्य प्रतिष्ठानलगायत विभिन्न संघ, संस्थामा रही काम गरेका पीडितले नेपाली विषयमा एमए र बिएडसम्मको उच्च शिक्षा हासिल गरेका छन्। यिनले चन्द्रज्योति उमावि तनहुँबाट सम्मानपत्रका साथै २०६८ सालमा सिर्जना पुरस्कारसमेत प्राप्त गरेका छन्। निजामती सेवामा १४ वर्ष काम गरेपछि अवकास लिई छ वर्ष पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापन गरी हाल पीडित कास्कीको घान्द्रुक स्रोत केन्द्रको स्रोत व्यक्तिको रूपमा कार्यरत छन्।

पीडितले हालसम्म पुष्पाञ्जली कविता सङ्ग्रह (२०५०), तर्पणका अञ्जुली शोककाव्य (२०५१), घामछाँयाका तरेलीहरू कवितासङ्ग्रह (२०५७)। तोता मैना खण्डकाव्य (२०६१), आमाहरू कवितासङ्ग्रह (२०६९), यात्रा कथासङ्ग्रह (२०७२) का साथै विभिन्न पत्रपत्रिकामा थुप्रै लेख, रचना प्रकाशित गरेका छन्। तिनै साहित्यिक कृतिमध्ये उनको यात्रा कथा सङ्ग्रहका बारेमा केही लेख्ने जमको यहाँ मैले गरेको छु।

मलाई पीडितको यात्रा कथासङ्ग्रह पढेपछि यसलाई कथासङ्ग्रह नभनेर निबन्धसङ्ग्रह भन्न मन लागेको छ। किनभने यस सङ्ग्रहका प्रायः कथा कथाजस्ता नभएर निबन्धजस्ता छन्। हुन त निबन्ध शिरोमणि शंकर लामिछानेले र्ँअर्थमुद्रित नयन र डुब्न लागेको घाम’ शीर्षक निबन्ध भनी लेखेर पठाएकामा सम्पादकले कथाका रूपमा उक्त दुवै रचना छपाएका थिए भन्ने कुरा साहित्यिक फाँटमा आज पनि उत्तिकै चर्चाको विषय बनेको छ। तापनि कथा र निबन्ध भिन्न-भिन्न विधा हुन् र यिनका आ-आफ्नै स्वायत्त अस्तित्व छ। आजभोलिका कथामा निबन्धात्मकता पाइन्छ। तर निबन्ध मूलतः व्यक्तिप्रधान रचना हो भने कथा निरवैयक्तिक कलाप्रधान रचना हो। निबन्धमा कल्पना भाव हुन्छ भने कथामा यथार्थको आग्रह हुन्छ। कलागत मूल्य नभएको कथा सुन्निएर मोटाएको मान्छे जस्तै भद्दा देखिन्छ। जसरी फूलको रचना विभिन्न तत्व मिलेपछि हुन्छ र त्यो सुन्दर देखिन्छ त्यसरी नै कथामा पनि कथावस्तु, पात्र, संवाद, भाषा, देशकाल, परिस्थिति र उद्देश्य गरी छ तत्वको उचित संयोजन भएपछि मात्र कथा राम्रो र सुन्दर हुन्छ। आधुनिक नेपाली साहित्यमा ज्यादै राम्रो र सुन्दर कथा लेख्ने गुरूप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला, रमेश विकलजस्ता प्रसिद्ध कथाकार पाउनु त अब आइसल्याण्डमा सर्प खोज्नुजस्तै हुन लागेको छ। किनभने आजभोलिका कथाकारले विभिन्न प्रयोगका नाममा निबन्ध लेखेर पनि कथा नै हो भन्न खोजेको आभाष देखिन थालेको छ। अब म कथाकार पीडितको कृतिका बारेमा आफूलाई लागेका केही कुराहरू प्रस्तुत गर्न चाहन्छु।

उनको प्रस्तुत कृतिभित्रको पहिलो कथा विस्तापित कथामा द्वन्द्वकालीन अवस्थामा हत्या, हिंसा र आतङ्कले गर्दा तमाम युवाहरू विदेश पलायन भइ सिङ्गो देश नै उजाड बनेकाले खास गरी गाउँमा रहेका बालबालिका र बूढाबूढीले ज्यादै दुःख, कष्ट झेल्नु परेको परिस्थितिलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ। उनको रिखे माड्साब कथामा शैक्षिक क्षेत्रमा देखिएको राजनीतिक हस्तक्षेपले गर्दा देशको वर्तमान शैक्षिक क्षेत्र तहसनहस बनेको र चाकडी प्रवृत्तिले गर्दा पनि शिक्षण संस्थाको बदनाम हुन पुगेको भावना व्यक्त गरिएको छ। जूनी बितेपछि कथामा मुलुकमा गणतन्त्र आए पनि जनतालाई दुःख कण्ट, अन्याय, अत्याचारले अत्याइरहेको छ। जनताको छोरो राष्ट्रपति बन्न पाउने व्यवस्था आए पनि देशका समस्याहरू ज्यूँकात्यूँ छन्। गणतन्त्र बाँदरको हातमा नरिवल भनेझैँ भएको छ देशमा सर्वसत्तावाद, पार्टीकाद, नातावाद, कमिसन र भ्रष्टाचारले जरो गाडेको छ भन्दै दुःखेसो व्यक्त गरिएको छ। सहरको रहर कथामा सहरमा मोटर गाडी, सडक, बिजुली, खानेपानी, कार्यालय, कलेज, विद्यालय आदि सुविधा भए पनि सहरका मानिस गाउँका जस्ता सीधासादा र सहयोगी छैनन्। उनीहरू लोभी, पापी र असहयोगी छन् भन्दै सहरिया जीवनभन्दा गाउँले जीवन नै आनन्ददायी भएको भावना व्यक्त गरिएको छ। अन्तर्वेदना कथामा आधुनिक युगमा पनि नेपाली महिलाहरू आफूले प्रेम गरेको केटासँग विवाह गर्न नसकी बाआमाले राजेको केटासँग विवाह गर्न विवश छन् र पूर्व प्रेमिकालाई सम्झँदै मनभित्र पीडा पालेर रूँदै जीवनयापन गर्छन् भन्ने भाव व्यक्त गरिएको छ।

अनुत्तरित प्रश्नहरू कथामा हजारौं मानिसले त्याग गरेर प्राप्त लोकतान्त्रिक गणतन्त्रमा पनि नेताहरू सत्ताको लुँछाचुडीमा भुलेको देखेर द्वन्द्व पीडित जनताको मान हाँसेको छैन, झन् रोएको र सुशासनको आशामा रहेको जनताको आशाको दीप बलेको छैन, निम्दै गइरहेको छ भन्ने भाव व्यक्त गरिएको छ। पात्रको खोजी कथामा देशमा लोकतन्त्र आएपछि नयाँ नेपाल, गणतन्त्र, सङ्घीयता, स्वायत्तता, जातीयता, स्वतन्त्रता, समानता, समावेशीकता, समानुपातिकता आदि धेरै विषयमा चर्चा चरिए तापनि आदि आम जनता सास्तीबाहेक केही पाएनन् भन्ने भाव व्यक्त गरिएको छ। झोक कथामा कानुनमा बाल अधिकारको कुरा लेखिए तापनि व्यवहारमा लागू हुन सकेको छैन भन्दै नेताहरू भाषण गर्दा बाल अधिकारका विषयमा बोल्छन् तर आफ्नै घरमा बालकलाई कमारा बनाएर बाल शोषण गर्छन् भनेर व्यङ्ग्य गरिएको छ।

यस्तै, आमाहरू कथामा छोराछोरीलाई जन्म दिएर हुर्काउने, बढाउने र पढाउने आमाको माया संसारमा सबैभन्दा बढी हुन्छ। मममतामयी आमाको दूधको भाडा तिरेर कहिल्यै सकिँदैन भन्ने भाव व्यक्त गरिएको छ। उनको खोसिएको खुसी कथामा माया प्रेम र दुर्इ आत्माबीचको सम्बन्धको सेतु हो तर एकोहोरो माया प्रेम सफल हुन सक्दैन भन्ने भाव व्यक्त गरिएको छ। मृत्यु र भय कथामा गृहस्थी जीवन सुखी बन्न परिवारमा प्रयाप्त माया, स्नेह, सद्भाव र समझदारी चाहिन्छ, नत्र गृहस्थी जीवनको उधोँगति र उधोँमति भएर पतन नै हुन पुग्छ भन्ने भाव व्यक्त गरिएको छ। यस्तै, उनको खिस्रिक्क कथामा समाजेवाको नाम केही टाढाबाढा मानिसले गाउँमा आएको सरकारी रकम दुरूपयोग गरी आफ्नो भुँडी भर्ने गरेको यथार्थ औंल्याइएको छ।

उनको शीर्ष कथा यात्रामा घनिष्ट मित्रको साथ नभए र घरमा सहधर्मिणी पत्नीको सहयोग नरहे यात्रा एक्लिन पुग्दोरहेछ भन्ने भाव व्यक्त गरिएको छ। लेखकलाई मन परेको कथा यही भएकाले होला कृतिको नामाकरण पनि यही कथाबाट जुराइएको छ। उनको समय र सन्त्रास कथामा नेपालको शिक्षा बेरोजगार उत्पादन गर्ने कारखाना भएको छ भन्दै आजकल कलेज पढ्न गएका केही खराब विद्यार्थीले असल विद्यार्थीलाई पनि ब्रि्राने खतरा बढेको छ र समय खराब भए पछि राम्रोलाई पनि नराम्रो सोच्नुपर्ने बाध्यता छ भन्ने भाव व्यक्त गरिएको छ। धोका कथामा अनमेल विवाहबाट कसैको पनि जिन्दगी सुखमय बन्न सक्दैन भन्ने भाव व्यक्त गरिएको छ। कुकुर प्रेम कथामा वर्तमान नेपाली समाजमा विशेष गरी घनाढ्य परिवारमा कुकुरलाई प्रेम गर्ने तर आफ्नै बाआमालाई घृणा गर्ने प्रवृत्ति बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको छ। उनको ‘कहाँ छौं’ कथामा हेम्जा गाउँबाट भैँसी किन्न भनेरसँगै गएका दुर्इ जना व्यक्तिमध्ये एउटी मर्दी खोलाले बगाएको र अको बेपत्ता भएकामा उनीहरूको घर परिवार र गाउँलेसमेत दुःखित भएको भाव व्यक्त गरिएको छ।

यसैगरी, सिफारिस कथामा राजनीतिक सिद्धान्त र आस्थाका आधारमा राज्यबाट कर्मचारीले निकै दुःख पाएका छन् भन्ने भाव व्यक्त गरिएको छ। उनको हेडसर कथामा राजनीतिक हस्तक्षेपले गर्दा शैक्षिक क्षेत्रहरू तहसनहस बन्दै गएको र राजनीतिक दलका कार्यकर्ताले प्रशासनिक कार्य गरेर शैक्षिक क्षेत्रलाई दुर्गन्धित बनाएका छन् भन्ने भाव व्यक्त गरिएको छ। उनको कृतिभित्रको अन्तिम कथा सन्तमाया छयाङ र भूकम्प कथामा १९९० सालको भुँइचालोपछि सबैभन्दा ठूलो भुँइचालो आएर देशमा ठूलो क्षति पुर्‍याएकाले सिङ्गो देश दुःखेको र शोकमा डुबेको छ भन्ने भाव व्यक्त गरिएको छ।

यसरी साहित्यकार पीडितले प्रस्तुत कथा सङ्ग्रहमा अत्यन्त सरल र मीठो भाषामा आफूले देखे, भोगेका र अनुभूत गरेका विविध विषयलाई समेटी कथाका रूपमा पस्किएका छन्। हुन त एउटै व्यक्तिमा सर्वज्ञान र सर्वगुणको सम्पन्नता खोज्नु मूर्ख बन्नु हो। तापनि लेखकले अज्ञानतावस होइन होला, छपाइको गल्तीले हो वा उनको लापरवाहीले कृतिमा कथाकारले पत्नी पाठेघरको क्यान्सर लागेर मरेपछि विधुर लेख्नुपर्ने ठाउँमा विदुर (पृ.७८) लेखिएको छ। यस्तै, केश कम्प्लकेटेड छ (पृ.८१) अङ्ग्रजी शब्दको प्रयोग गरेका छन्। यो नेपाली विषयका गुरूले लेख्नु उचित देखिँदैन।

अब म पृथ्वीनारायण क्याम्पस पोखराका नेपाली विभाग प्रमुख प्राडा विष्णुप्रसाद पौडेलका भनाइलाई सापट लिएर भन्न चाहन्छु, ‘राम्रो कथाकार बन्नका लागि विषयप्रतिको मोहले मात्रै हुँदैन। कडा श्रम र साधनाद्धारा कलात्मक दक्षता हासिल गर्नुपर्छ।’ कथाकार टेकनाथ पीडितको यो पहिलो कथाकृति भएकाले कथाका आवश्यक तत्वहरू भने पूर्ण रूपमा पालना गरिएको पाइँदैन।

अन्तमा साहित्यकार टेकनाथ पीडितले नयाँ-नयाँ साहित्यिक फूलहरू सिर्जिएर नेपाली साहित्यको मन्दिरमा चढाउने छन् भन्ने आशा राख्दै उनको उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

Related News

सम्बन्धित समाचार

hero news full width