देउवाका चुनौतीहरू

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७२

बहुमत काङ्ग्रेसजन ठान्थे, ‘सभापति पद कोइराला परिवारबाहिर जानु भनेको लोकतन्त्रकै अवसान हो।’ तर, परिणामले त्यसलाई गलत सावित गरिदियो। अन्ततः कोइराला वंशको घेरा तोड्दै शेरबहादुर देउवा काङ्ग्रेस सभापति निर्वाचित भए। देउवा नेपाली राजनीतिमा परीक्षण नभएका नेता अवश्य होइनन्। उनी तीन-तीन पटक देशको सवोर्च्च कार्यकारी प्रमुख प्रधानमन्त्री भइसकेका व्यक्ति हुन्। तर, एकीकृत काङ्ग्रेस सभापतिमा निर्वाचित हुने कुरा त्यसभन्दा पृथक र बढ्ता गुरुत्वको विषय हो भन्दा अन्यथा नहोला।

गिरिजाप्रसाद कोइरालाको अवसानपछि नै कोइराला परिवारमा नेतृत्वको सङ्कट निम्तिएको थियो। सुशील कोइराला कोइराला परिवारको ‘लिगेसी’ त भए। तर, बिपी, गिरिजासँग भएको नेतृत्व क्षमता र ओज उनमा थिएन। पार्टी निर्वाचनमा करोडौंको आर्थिक चलखेल हुने दलमा सुशीलको निष्ठा ‘पानीको फोका’ बराबर हुन्थ्यो र भयो। सुशील निष्ठावान् नेता अवश्य थिए। तर, उनलाई बिम्बका रुपमा चित्रित गर्ने काङ्ग्रेस नेताहरू सदाचारका लागि होइन, पार्टी सत्तामा पुग्ने ‘भर्‍याङ’कै लागि उनको सहारा लिन्थे। यसले नै गिरिजाको अवसानपछि काङ्ग्रेसमा सर्वस्वीकार्य कोइराला वंशीय नेतृत्व सङ्कटमा परेको प्रष्ट थियो।

संविधान निर्माणमा वैदेशिक दबाबसामु अडिएका सुशील प्रधानमन्त्री निर्वाचनमा पनि अडिएको भए काङ्ग्रेसमा ‘दलीय गणतन्त्र’को स्थापना त्यति सहज थिएन, जति अहिले भयो। काङ्ग्रेसको आन्तरिक जीवनमा एकाध पटक गणतन्त्र आए पनि त्यति टिकाउ हुन सकेको देखिँदैन। कृष्णप्रसाद भट्टराई सभापतिमा निर्वाचित भएको केही वर्षमै गिरिजाको उदयले आन्तरिक गणतन्त्र ढल्यो। त्यसको लिगेसी धानेका सुशीलको अवसानले गणतन्त्रको चाबी देउवाको हातमा आइपुगेको छ। तर, पार्टी सत्ता हत्याउने रामचन्द्र पौडेलको योजनामा महामन्त्रीमा उभ्याइएका शशांक कोइरालाले लोकप्रिय मत प्राप्त गर्नु काङ्ग्रेसभित्रको ‘आन्तरिक गणतन्त्र’ का लागि सुखद् हुने देखिँदैन। यसले देउवाको हातमा आएको गणतन्त्रको चाबी पाँच वर्षपछि कोइराला परिवारमा फर्किए अन्यथा मान्नुपर्ने छैन।

विगत र भविष्यको चित्र जस्तो रहे र भए पनि वर्तमानमा काङ्ग्रेसको चाबी देउवाको हातमा आइपुगेको छ। प्रधानमन्त्रीको कुर्सीमा रहँदा हरेक पटक विवादको घेरामा रहेका उनी सभापतिको कुर्सीमा रहँदा कस्तो भूमिका खेल्लान् ?यो भने वर्तमान राजनीतिक परिदृश्यमा पक्कै रोचक हुनेछ। काङ्ग्रेसभित्र प्रतिस्पर्धामा देउवा र पौडेल रहे पनि विचार र राजनीतिक दिशाको प्रतिस्पर्धामा शशांक र सिटौलाहरू नै छन्। संविधान कार्यान्वयनका लागि सहमतीय राजनीतिको औचित्य समाप्त भइनसकेको ठान्ने कृष्णप्रसाद सिटौला महाधिवेशनबाट किनारामा धकेलिएका छन् भने गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे जनमत सङ्ग्रह गर्नुपर्ने मान्यता राख्ने शशांक कोइराला महामन्त्रीमा निर्वाचित भएका छन्। यी दुर्इ नेता, विचार र दिशाबीच देउवाको स्वत्व भेट्न मुस्किल पर्छ। उनको बाध्यता दुर्इ फरक धारको दृष्टिकोणबीच एक ठाउँमा उभिनु हुन जान्छ। उनी कुन कित्तामा उभिएलान्, यो काङ्ग्रेसका लागि मात्र नभएर नेपाली राजनीतिकै लागि परीक्षा हुनेछ।

देउवाको विगततिर र्फकने हो भने उनी सिटौलाभन्दा शशांकको सोचनजिक रहने गरेका छन्। उनकै कारण प्रजातन्त्रका लागि पटक-पटक लड्नुपरेको तीतो अनुभव काङ्ग्रेसकै नेताहरूले बारम्बार व्यक्त गर्ने गरेका छन्। यस पटक उनले आफ्नो ‘परिवर्तन विरोधी लिगेसी’ तोड्न सक्लान् ? धेरैले अपेक्षा गरेको र उनको विगतले ‘तगारो’ हालेको यक्ष प्रश्न यही हो।

सभापतिमा निर्वाचित भएलगत्तै देउवाले भने, ‘बलियो प्रतिपक्ष भएन भने लोकतन्त्र कमजोर हुन्छ।’ उनको अभिव्यक्ति काङ्ग्रेसको शास्त्रीय मान्यतामात्र किमार्थ होइन। यसभित्र गहिरो राजनीतिक स्वार्थ लुकेको देखिन्छ। देउवाको अभिव्यक्तिले सकेसम्म एमालेलाई प्रतिपक्षमा राखेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने, त्यो सम्भव नभए एमालेइतरको नेतृत्वमा सरकार गठन गर्ने र एमालेलाई प्रतिपक्षमा राख्ने, त्यो पनि सम्भव नभए प्रतिपक्षको भूमिकालाई निरन्तरता दिने कुरा हो। तर यो अहिलेको राष्ट्रिय आवश्यकता र नागरिक चाहना हो वा होइन ? यतातिर देउवाको ध्यान पटक्कै पुगेको देखिँदैन।

संविधान कार्यान्वयनका लागि सहमतीय राजनीति वा लोकतन्त्रको रक्षार्थ बहुमतीय राजनीति ? काङ्ग्रेसभित्र चलेको बहसको चुरो कुरो यहीँनेर छ। महाधिवेशनले सहमतीय राजनीतिको पक्षमा उभिएका सिटौला-थापा प्यानलभन्दा बहुमतीय राजनीतिको पक्षमा उभिएको प्यानललाई रुचाएको देखिन्छ। यसले राजनीति दुर्घटनामा त पर्दैन, भन्नेसम्मका चिन्ताका रेखा कोरिन थालेका छन्। यसलाई देउवाले व्यवस्थापन गर्न सक्छन् वा सक्दैनन्, उनको अवसरको परीक्षण यहीँनेर हुनेवाला छ।

देउवा परिवर्तनप्रचि खासै रुचि राख्ने नेता होइनन्। तर, यो यथार्थलाई अलग राखेर हेर्ने हो भने पनि उनी सहमतीय राजनीति र संविधान कार्यान्वयनका लागि सफल होलान्, यो प्रश्न पनि चानचुने पक्कै छैन। मत परिणामको स्थितिलाई हेर्दा उनी सुविधाजनक बहुमतमा पुग्नेछन् भन्ने देखिन्छ। यसले पार्टी भत्रका हरेक निर्णयमा उनी बलशाली हुन सक्छन्। तर, महाधिवेशनको पूर्वसन्ध्यामा गरिएका वाचा, कबोल र लेनदेनको यथार्थले उनलाई स्वतन्त्र निर्णय लिन दिने छैन। दर्जनौं उपगुटको समीकरणद्वारा सभापतिमा निर्वाचित हुन उनलाई जति जटिल थियो, त्यसभन्दा जटिल गुटहरूको व्यवस्थापन गर्नु हुनेछ। निर्वाचित सदस्यहरूको मतगणना अझै सकिएको छैन। अहिलेकै अग्रतालाई हेर्ने हो भने पौडेल खेमाका दर्जनौं प्रभावशाली नेता निर्वाचित हुनेछन्। निर्वाचित कार्यसमितिमा उनीहरूको काम देउवा सोचमाथि अंकुश लगाउनु हुनेछ भन्नेमा सायदै विमति रहला। त्यसमाथि निर्वाचित महामन्त्री र कोषाध्यक्षको तागतलाई कम आ“क्नु राजनीतिको सामान्य ज्ञान नबुझ्नु नै हुन्छ।

खुमबहादुर, कुलबहादुर, अर्जुननरसिंहलगायतका नेताको कोटरी भत्किएको छैन, जुन भोलिका दिनमा थप बलशाली बनाइनेछ। नेतात्रयको कोटरीमाथि धावा बोल्नु देउवाको औकातबाहिरकै कुरा हो, जसलाई उनले सम्बोधन नगरी सुखै छैन। मनोनित पदाधिकारीमा उल्लिखित तीनै समूहले आफ्नो दावी प्रस्तुत गर्नेछन्। त्यसबाट उम्कन देउवाका लागि मुस्किल पर्नेछ। तर, देउवामाथि निर्णय गर्न त्यति सजिलो छैन। निर्वाचनका बेला गरिएको पद विभाजन र विभिन्न उपगुटले माग्ने कोटाको जाँतोमा देउवा पिसिने खतरालाई कम आ“क्न हुँदैन। यो पार्टी जीवनमा देउवाका लागि प्रमुख चुनौती भएर उभिनेछ। त्यसको यथोचित सम्बोधन नहुँदा खेमा परिवर्तन गरेर उनीमाथि दबाब सिर्जना गर्ने खेल खेलिनेछ। त्यसको सामना गर्नु देउवा राजनीतिको अर्को कठोर चुनौती हो।

देउवामा पार्टी नेतृत्व सम्हालेको खासै लामो अनुभव छैन। यद्यपि, नेका (प्रजातान्त्रिक) गठन गरेर उनले केही समय पार्टी चलाए। तर, एउटै विचार, प्रवृत्ति र आकांक्षाबीचको पार्टी सञ्चालन र विभिन्न गुट, उपगुट, स्वार्थ, फरक प्रवृत्ति र क्षमताको केन्द्रीकरण भएको पार्टी सञ्चालन गर्ने विधि र तरिका बिल्कुलै फरक हुन्छन्। एउटै विचार र प्रवृत्तिको सञ्चालन विधानले गर्न सकिन्छ। तर, फरक सोच र मनोविज्ञानको सञ्चालन विधानको परिधिबाट मात्रै सम्भव हुँदैन। यहाँ भावना र गुटीय समीकरणको सन्तुलन मुख्य बन्न जान्छ। भावना र गुटको समीकरणमाथि विधानको डण्डा लगाउँदा निम्तिने परिणामले देउवा गोरेटोमा नया“ गजबारको काम गर्न सक्छ।

संविधान निर्माणताका मधेसबिना पार्टी राजनीति धान्न मुस्किल पर्ने निष्कर्षमा पुगेको काङ्ग्रेसले पार्टी जीवनमा मधेसलाई कसरी सम्बोधन गर्ला – नवनिर्वाचित कोषाध्यक्ष सीतादेवीको ‘काङ्ग्रेसको हृदय मधेस’ भएको अभिव्यक्ति व्यवहारमा लागू गर्न सजिलो छैन। मधेसको मुद्दा सम्बोधन गर्न काङ्ग्रेस संवेदनशील देखिँदैन। बरु, काङ्ग्रेसको चिन्ता मधेसमा आफ्नो प्रभावको निरन्तरता हो। नया“ संविधानको प्रावधानले मधेसमा निर्वाचन क्षेत्रको संख्यामा बढोत्तरी हुनेछ। काङ्ग्रेस चाहन्छ, ‘आगामी निर्वाचनमा मधेसमा जनाधार नगुमोस्।’ तर, मधेसमा जनाधार कायम राख्ने वैचारिक मुद्दामा भने काङ्ग्रेस अन्यौलमा छ। मधेसका मुद्दामा काङ्ग्रेस र एमाले उत्तिकै अनुदार छन्। भोट बैंकको चिन्ताका कारण उनीहरू मधेसप्रति संवेदनशील भएको भाषण गर्छन्। जब ठोस निर्णय गर्नुपर्ने परिस्थिति हुन्छ, अनेक तर्कका आधारमा माग सम्बोधन नगर्ने दिशामा जान्छन्। यसलाई देउवाले सम्बोधन गर्न सक्लान् ? यो प्रश्न त्यति सजिलो छैन।

देउवा काङ्ग्रेसभित्र प्रतिपक्षी नेताबाट संस्थापन कित्तामा आइपुगेका छन्। तर, पौडेल, सिटौलाहरूले उनलाई सजिलै संस्थापन मान्लान् र पार्टी सञ्चालमा पूर्णतः सहयोग गर्लान् भन्ठान्नु भूल हुनेछ। बरु, पौडेल-सिटौला समूहको प्रयत्न १३ औं महाधिवेशनमा गुमेको ‘पार्टी सत्ता’ १४ औं महाधिवेशनसम्म पुनस्र्थापित गर्नु हुनेछ।

देउवा समूह पार्टीको केन्द्रमा त आएको छ। तर, पौडेल वा सिटौला समूहमा जस्तै कम भ्रष्ट नेता उनको समूहमा सायदै होलान्। निष्ठाभन्दा राजनीतिलाई सत्ताको केन्द्रमा पुग्ने भर्‍याङको रुपमा बुझ्ने अधिकांश नेताको परिबन्दमा देउवा नफस्लान् भन्न सकिन्न। मत परिणाममा विवादित नेताहरूको अग्रतामाथि सार्वजनिक रुपमै प्रश्न उठिसकेको छ। निर्वाचनको अन्तिम परिणाम पनि उनीहरूकै पक्षमा आउने करिब निश्चितजस्तै छ। यसले ‘राजनीतिमा व्यवसायीकरण’को अभियोगबाट उनी मुक्त हुन सक्ने छैनन्। अझ, निर्वाचनको पूर्वसन्ध्यामा देउवाको पल्ला भारी देखेर संस्थापनबाट उनको समूहमा आएका नेताहरू टिक्लान् कि गल्लान् – देउवाका सामु यो पिरलो पनि जीवित नै छ।

अनगिन्ति सीमा र दुर्र्गुणका बीच पनि देउवामा दुर्इ सशक्त गुण छन्। उनी भर पर्ने यी गुणले उनीको चुनौतीपूर्ण कार्यकाललाई सन्तोषजनक बनाउन सक्छन्। पहिलो, उनी तीनप टक प्रधानमन्त्री हुँदा जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गरेका छन्, त्यसलाई पार्टी रसञ्चालनमा भरपूर उपयोग गर्न सक्ने हो भने उनको कार्यकाल असफलचाँहि हुँदैन। यो उनको सुविधाजनक विरासत हो। त्यसमाथि प्रभावशाली र निष्ठावान् नेताहरूलाई निर्णयको अग्रमोर्चामा राख्न सक्दा उनले आफूलाई राजनीतिको केन्द्रमा उभ्याउन सक्छन्। तर, उनको स्वभाव र संगतले यसलाई सफल हुन भने दिने देखिँदैन।

देउवाको दोस्रो गुण उनी सरिसृप हुन्। विश्वमा नेतृत्व विकासका मूलतः दुर्इ मोडल देखिन्छन्, स्तनधारी मोडल र सरिसृप मोडल। प्रायः साम्यवादीले सरिसृप मोडलमा नेतृत्व विकासको अभ्यास गर्ने गरेका छन् भने प्रजातान्त्रिक शक्तिहरूले स्तनधारी मोडललाई नै अधिक प्रयोग गर्ने गरेका छन्। स्तनधारी जीवले जन्मनेबित्तिकै आफ्नो बच्चालाई काखी च्याप्छ र जिउन अभ्यस्त गराउँछ। तर, सरिसृपले जन्मनेबित्तिकै बच्चा पानीमा फ्या“किदिन्छ र जिउनका लागि संघर्ष गर्छन्। कम्युनिष्टले नेताको जन्म ‘संघर्षको भट्टी’बाट हुने ठान्छन् भने प्रजातान्त्रिक शक्तिहरू नेताको छहारीमा हुकन रुचाउँछन्। तर, संयोग वा बिडम्बना जे भनौं देउवा नेतृत्व विकासमा सरिसृप मोडलबाट आएका नेता हुन्।

नेतृत्वमा सरिसृप मोडलबाट आउनु कसैको छहारीबाट नभई संघर्षबाट आउनु नै हो। स्तनधारी प्राणी लामो समयसम्म अभिभावकको छत्रछहारीमा रहन्छ। जसका कारण उसमा जोखिम मोल्ने, चुनौतीको सामना गर्ने र धैर्यतापूर्वक निर्णय लिने गुणमा कमी हुन जान्छ। तर, सरिसृपहरू जन्मनेबित्तिकै चुनौतीसँग खेल्नैपर्ने बाध्यताका कारण बढ्ता संघर्षशील हुन्छन्। देउवा कसैको छहारीबाट नभई संघर्षबाटै हुर्केका नेता हुनाले उनले स्वतन्त्र निर्णय लिने सामर्थ्य राख्नुपर्ने हो। कोइराला परिवारको फेरो बाहिरबाट काङ्ग्रेसमा सभापति निर्वाचित हुनुमा देउवाको यो गुणको पनि धेरथोर भूमिका पक्कै छ।

देउवासामु अवसर र चुनौती दुवै छन्। उनको रुचि कता रहन्छ, मुख्य कुरा यही हो। उनको रोजाइमा देश पर्छ कि काङ्ग्रेस, यो अर्को महत्वपूर्ण प्रश्न हो। नागरिक चाहन्छन्, ‘उनको रोजाइमा देश परोस्।’ प्रजातन्त्रको मूल मर्म पनि यही हो। तर, प्रतिस्पर्धामात्रै लोकतन्त्र र प्रजातन्त्र देख्ने काङ्ग्रेसमा जनआकांक्षाको सम्बोधन नै प्रजातन्त्र हो भन्ने चेत पस्न सकेको छैन। नागरिकले सहमति चाहँदा काङ्ग्रेस निर्वाचन चाहन्छ भने त्यो लोकतन्त्र हुँदैन। बरु, लोकतन्त्रको भ्रष्टीकरण हुन्छ। नागरिकले निर्वाचन र प्रतिस्पर्धा चाहँदा नेतृत्व भागबण्डा र चोचोमोचोमा रमायो भने बल्ल त्यो लोकतन्त्रबिरुद्ध हुन जान्छ। तर, काङ्ग्रेसमा सहमति र सहकार्यको राजनीतिलाई लोकतन्त्रबिरुद्ध उभ्याउने प्रयास हुँदै आएको छ। यसलाई देउवाले तोड्न सक्नुपर्छ। नागरिक अभिमतको व्यवहारिक प्रयोग नै लोकतन्त्रको सुन्दरता हो भन्ने मान्यतालाई स्थापित गरेमात्र देउवा सफलताको सिँढी चढ्न सक्छन्।

Related News

सम्बन्धित समाचार

hero news full width