ग्रामीण अर्थतन्त्र र संस्कृति संरक्षण

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७२

गाउँबाटै सहरबजारको उत्पत्ति भएको हो। नेपालको करिब ८२ प्रतिशत स्रोत गाउँले ओगटेको छ। पहिले डाँडाकाँडा, पाखापखेरामा गाउँबस्ती बस्ने र समतल मैदानी फाँटमा खेतीबाली लगाउने परम्परा थियो, तर आजभोलि समतल मैदानी फाँट प्लटिङ गरेर बसाइँसराइँको मानव गाउँबस्ती बस्ने र डाँडाकाँडा लेक, पाखापखेरामा भएका घर बन्द हालतमा छोड्ने क्रम बढ्दो छ।

आफ्नै खेतबारीमा उब्जेको अन्नबाली आफ्नै करेसाबारीमा उब्जेको सागसब्जी, तरकारी आफ्नै खेतबारीमा फलेका मास, भट्ट, गहत, बोडी, केराउ आदि गेडागुडीको दाल, पतिना, टिम्मुर, खुसानी, मरमसलाको चटनी र आफ्नै खेतबारीमा फलेको तोरीको तेल, उखुको खुँदो, गँुड, भेली आफ्नै भैंसीको दूध, दही, मोही, घिउ आफ्नै पाखारेखा, आसपास छेउछाउमा फलेका केरा, सुन्तला अम्बा, आँप, रुख, कटहर, भुइँकहर आदि फलफूल खाएर जीविका गर्दै आएका अधिकतम नेपाली गाउँले कृषक छिमेकीसँग पर्म र परेली लगाएर दिनभरि काम गर्ने भोलिपल्ट परेली घरको मेलापातमा वर्षे-हिउँदे अन्नबाली लगाउने गोडमेल गर्ने र अन्नभित्रयाउने परम्पराको लोप हुँदै गएको छ। कुनै बेला कृषिप्रधान देश भनिने र देशका ८५% कृषक नै भएको देशको आज परनिर्भरता बढ्दै गएको छ। अहिले कृषि पेसा नै संकटमा पर्दै गएको छ।

परिवारका युवाले आफ्नो पढाइ सकेपछि आयआर्जन गर्न विदेश जाने, बुहारीले पढ्ने ब्युटीपार्लर, कटिङ वा अन्य सीप सिक्ने वा छोराछोरी बढाउने, पढाउने भनेर सहरबजारमा डेरा गरी बस्ने र बृद्धबृद्धा गाउँमा आफ्नो पैतृक सम्पत्तिको रक्षा गरेर आफ्नो घर कुरेर बस्नै असमर्थ भएपछि सहरबजारतर्फ पलायन हुने क्रम बढ्दै गएको छ। त्यत्तिमात्र होइन, छोराछोरीलाई डिभी वा पिआर पर्‍यो भने बाबुआमाले खसी काटेर खाने चलन पनि बढ्दो छ।

वनपाखामा गिठ्ठा, भ्याकुर, वन तरुल, ऐंसेलु, काफल, दमौरो, तिजु, अमला, पानीअमला, क्यामनु जस्ता सदाबहार फलफूल पाकेर झरिगएका छन्। ती वनपाखामा बाह्रै महिना विभिन्न स्वरमा कराउने चराचुरुङ्गीको आवाजले ती सहर र विदेशमा गएका गाउँलेलाई बोलाइरहेका छन्। कलकल बग्ने झरना, धारा, कुवा र मुलको चिसो पानी ती वनपाखा, छहरा र कन्दरामा त्यत्तिकै खेर गइरहेको छ। ती वनजंगल, पाखामा बस्ने दुर्लभ जंगली जनावर पनि मानवजातिको चोरी, सिकारी र आफ्नो आहारा कमी भएकाले लोप हुँदै छन्। जंगलमा पाइने वन पैदावार, जडीबुटी पनि पहिचान नभएर सङ्कलन अभावमा उपयोगमा आउन सकेका छैनन्। राष्ट्रिय फूल लालीगुराँस पनि लोप हुने क्रम बढ्दो छ। शितल बस्ने देउराली, भन्ज्याङचौपारी, पाटीपौवा, पोखरी, पधेँरा, गौचरन, सिमसार क्षेत्र आदिको जिणोर्द्वार-संरक्षण नहुँदा ती लोप हुँदै र सुनसान हुँदै जाने क्रम छ। गाउँमा बसेर गोठालो जाँदा, घाँस दाउरा लिन जाँदा र मेलापात गर्दा परम्परा शैलीमा युवायुवतीले गाउने लोकदोहोरी गीत, लोकबाजाहरू दिनप्रतिदिन लोप छन्। ती लोकभाखा, लोहलहरी, दोहोरी, भजन, चुड्का, कीतन, अब सहरबजारका एफएम, टेलिभिजन, मेला, महोत्सव, दोहोरी साँझ आदिमा सीमित हुन गएका छन्। चार्डपर्व पनि सहरबजारमा धुमधामसँग मनाइने गरेका छन्। तीज पर्वलाई एक महिना पहिलेबाटै दर खाने, खुवाउने भनेर होटल, रेस्टुरेन्ट, समाजघर, पार्टी प्यालेसमा फिल्मी र दोहोरी शैलीमा महिला र पुरुष मिलेर नाचगान गरेर दरखाने/खुवाइने चलन बढ्दो छ। दीपावलीमा पनि युवायुवतीले देउसीभैलो खेल्ने पुरानो परम्परालाई पछि छाड्दै फिल्मी शैलीमा ठूलो आवाजमा हिन्दी गीत, पपगीत आदि लगाएर नाचगान गरेर सङ्कलन गरेको रकम पिकनिक गएर खानपानमा खर्च गर्ने चलन बढ्दो छ।

विवाह, व्रतबन्ध, हाटबजार, मेला, महोत्सव, जन्मदिन, विवाहको वर्षगाँठ रजत तथा हिरक जयन्ती आदि मनाउने क्रम पनि सहरबजारमुखी बन्दै जाने क्रम बढ्दो छ। एक गाउँमा विवाहमा नौमती बाजा बजाइयो भने टाढाटाढाका गाउँमा ती बाजाको धुनले शुभ कार्यको सन्देश दिने गथ्यो। त्यस्ता शुभ कार्य गरिँदा परम्परागत रुपमा गरिने भोजभतेर गाउँका छोरीबेटी, आफन्त, नातेदारलाई आमन्त्रित गरेर निम्तो मान्न आउँदा पूरै गाउँको बाटोघाटो सफा, सुग्घर गरेर ध्वजापताकाबाट गाउँघरलाई सजाएर गेट बनाएर सिंगारेर गाउँ-ठाउँको इज्जत राख्न भनिने गरिने चलन पनि हराउँदै छ। आजभोलि एकै गाउँठाउँका वारि गाउँको केटो पारि गाउँकी केटी भए पनि दुबै पक्षले गाडीको व्यवस्थापन गरी सहरबजारका मन्दिर, पार्टी प्यालेस, समाजघर, होटल आदिमा गएर विवाह उत्सव वा अन्य शुभकार्य गरिँदा उनीहरूका गाउँ पनि सुनसान बन्न पुग्छन्। त्यतिमात्र होइन, पूरा गाउँघरमा असुरक्षा र चोरीको खतरा पनि बढ्न सक्ने सम्भावना छ। प्रायः दुर्गम दूरदराजका गाउँमा पञ्चेबाजा लोप हुँदै छ।

गाउँबाट सहरबजार र मधेस बसाइँसराइँ हुने क्रममा घरपालुवा कुकुर र अन्य जनावर पनि लोप हुने क्रम बढ्दो छ। सहरमा कुकुर पाल्ने क्रम बढ्दो छ। कुकुर नहुनेले पनि कुकुरदेखि सावधान भनेर बोर्ड टाँस्ने चलन छ। तर यसरी पालिएका कुकुरलाई व्यवस्थित गरिएको भने देखिँदैन। टोकन लिएर संख्याको गणना गरेर वाषिर्क वा छमाही रुपमा मेडिकल चेकजाँच गर्ने, नगरबाट इजाजत लिनुपर्ने र मानवलाई दिसापिसाबमुक्त क्षेत्र जिल्लाको घोषणा गरिए पनि कुकुरलाई शौच गराउने बारेमा राज्य मौन देखिन्छ। कुकुरलाई घुमाउने नाममा अर्काको घरगेट, सडक, सार्वजनिक क्षेत्र, पार्कमा शौच गराउने कार्य रोकिनुपर्छ। त्यसका लागि उचित ठाउँ तोकिनुपर्दछ। गाउँ फर्किनका लागि निम्न सुविधा दिइनु आवश्यक छः

युवाशक्तिलाई प्रशिक्षण दिएर आकर्षक आयमूलक रोजगारी।

अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना, परियोजनाको थालनी र कार्यान्वयन।

परम्परागत कृषिलाई आधुनिकीकरण गरी कृषि औजार र उपकरणको सुविधा।

जग्गाको चाक्लाबन्दी, भूमिसुधार तथा नापी कार्यालयको एकीकरण योजना।

दुग्धजन्य र मासुजन्य पशुपालनको चाँजोपाँजो, पशु बिमा र उन्नत नश्ल सुधार।

गुणस्तरीय शिक्षा।

सुविधाजनक स्वास्थचौकी र सामुदायिक अस्पताल र घुम्ती विशेषज्ञ सेवा।

कृषि उपज किनबेचका लागि हाटबजार।

उन्नत जातको बीउ, मल र सिचाइँ सुविधा।

शीत भण्डार निर्माण।

जडिबुटीको पहिचान, प्रशिक्षण र खेती गर्नका लागि आकर्षक योजना।

ग्रामीण पर्यटनका लागि पूर्वाधार निर्माण।

ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्तलाई दिइने भत्तामा बृद्धि।

यी सवाल किन उठाउन खोजिएको हो भने यिनीहरूबारे राजनीतिक छलफल, चर्चा तथा नीति नियममा ल्याउन र राज्यको ध्यानआकर्षण हुन आवश्यक देखिन्छ। मधेस आन्दोलन र भारतले गरेको नाकाबन्दीलाई अवसरको रुपमा हेरिएन र शक्तिमा बदलिएन र गाउँको बसाइँसराइँ, लोपोन्मुख हुँदै गएको नेपाली संस्कृति र फेरि सम्भावित नाकाबन्दी, आत्मनिर्भरताको उपाय खोजी गरेर देश र नागरिकलाई आत्मनिर्भरतातर्फ अग्रसर गराइएन भने भोलिका दिनमा यो देश विभाजन र सिक्किमीकरण नहोला भन्न सकिन्न।

Related News

सम्बन्धित समाचार

hero news full width