अक्षराङ्क (ग्रेडिङ) प्रणाली र गणित शिक्षण

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७२

शिक्षाविद् विद्यानाथ कोइरालाले यथेष्ट तयारी नगरी मूल्याङ्कनमा नयाँ अक्षराङ्क प्रणाली लागू गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। केही वर्षअघि देखि सरकारले कक्षा ७ सम्म उदार कक्षोन्नति लागू गरेपछि नै विद्यार्थी आफ्नो तहमा सिक्नुपर्ने कुरा नै पूरा नसिकी माथिल्लो कक्षामा चढ्दै गए। यसले विद्यार्थीलाई पाठयक्रमको तहगत उद्देश्य प्राप्त नगरीमाथि उकाल्दै जाँदा पाठयक्रमका राष्ट्रिय उद्देश्य प्राप्तिमा समेत आजको विद्यार्थी वर्ग निकै कमजोर सावित हुँदै गएको छ।

यस वर्षबाट सरकारले विद्यालय तहको शैक्षिक गतिविधिको एकमुष्ठ मूल्याङ्कन गरिने एसएलसीमा अक्षराङ्क पद्दति लागू गर्दै छ। फेल नहुने नीतिका रूपमा धेरैले बुझेको र व्याख्या गर्ने गरेको यो नयाँ मूल्याङ्कन पद्दति विश्वमा व्यापक रूपमा प्रयोग भइरहेको पद्दति हो। तर पनि हामीकहाँ यसलाई प्रयोग गरिरहँदा अबको एसएलसीमा ‘डी’ अनि त्यसभन्दा तल्लो ‘इ’ र ‘एन’ श्रेणी ल्याउने विद्यार्थीको त्यसपछिको अध्ययन यात्रा के हुने, भन्ने बारेमा अन्योल नै छ। यसले के देखाउँछ भने हामी नवीन प्रणाली त स्वीकाछौर्ँ तर आवश्यक तयारी गर्दैनौँ। यसले उक्त नयाँ पद्दतिले सकारात्मकभन्दा नकारात्मक प्रभाव बढी हुने सम्भावना हुन्छ। फलस्वरूप आवश्यक तयारी नै नगरी लागू गरिएका यस्ता दीर्घकालीन महत्वका विषय प्रत्युत्पादकसमेत बन्ने गर्दछन्।

यसका साथै धेरै विषयमा तल्लो श्रेणी ल्याएर पनि एकादुर्इ विषयमा उपल्लो श्रेणी ल्याएकाहरूले दस जोड दुर्इमा के-कसरी उक्त विषय -आफूले राम्रो श्रेणी ल्याएको विषय) अध्ययन गर्न सक्छन्, भन्ने कुरामा पनि अन्योल कायमै छ। इतिहास हेर्ने हो भने एसएलसी परीक्षाको नतिजा आइपुग्ने समयसम्म पनि यो अन्योल कायमै रहने निश्चित छ।

यी केही अन्योलताका बीचमा बसेर घोत्लिँदा सबैभन्दा दयनीय अवस्था देखिन्छ विद्यार्थीको गणित विषयको अध्ययनमा। लामो समयदेखि गणित शिक्षण गराउँदै आएका शिक्षकहरूको गुनासो यनि यसैमा छ। कक्षामा अध्यापन गर्दा जतिसुकै नयाँ पद्दति अपनाउँदा पनि सन्तोषजनक नतिजा एवम् उपलब्धि निस्कन नसकेका कारण हैरान हुनु परेका कुरा बारम्बार सुनिने गर्छन् ‘शिक्षक-सर्कल’ माझ। तसर्थ आगामी समयमा पनि सर्वाधिक चिन्ताको विषय गणित नै रहने पक्का छ किनकि सानो कक्षामा उदार कक्षोन्नति हुनेमा सबैभन्दा बढी उदार गणित विषयमा नै हुनु परेको छ। अधिकांश विद्यालयमा उदार कक्षोन्नतिमा गणित विषयमा उत्तीर्णाङ्क प्राप्त गर्न नसकेका विद्यार्थीकै सङ्ख्या अन्य विषयमा भन्दा निकै गुणा बढी छ।

विशेषगरी दक्षिण एसियाली विद्यार्थीहरू गणितीय अध्ययनमा अब्बल छन्। अष्ट्रेलिया, अमेरिकालगायत अन्यत्र पनि अध्ययन गर्न गएका विद्यार्थीले विभिन्न विश्वविद्यालयमा सवोर्त्कृष्ट बन्ने क्रममा गणित विषयमा प्रदर्शन गरेको क्षमता निकै माथिल्लो स्तरमा रहेको समाचार र वेबसाइटका तथ्यले प्रष्ट पार्दछन्। अन्तर्राष्ट्रिय स्तरमा अब्बल रहने गरेको गणितको अध्ययन अबको हुकौर्लो पुस्ताका लागि बोझिलो बन्दै गएको छ। यसले आगामी दिनमा नयाँ मूल्याङ्कन पद्दति लागू भएपछि गणित जस्तो प्राविधिक मस्तिष्क विकास गर्ने विषयलाई निकै असर गर्ने निश्चित छ।

उच्च माध्यमिक शिक्षा परिषद् गठन भएपछि सुरुका दिनमा गणित विषय अध्ययन गर्ने विद्यार्थीको चाप थाम्न नसकेका केही उच्च माविले केही वर्ष यता विद्यार्थीको सङ्ख्या कम भएका कारण गणित शिक्षण नै गर्न छाडेका छन्। स्नातक एवम् स्नातकोत्तर तहमा समेत गणित विषयका विद्यार्थीको सङ्ख्या निरन्तर कम हुँदै गएको छ। हुन त विश्वविद्यालय तहमा नयाँ नयाँ विषयको आकर्षणले भूगोल, इतिहास, राजनीतिशास्त्र जस्ता विषयमा विद्यार्थी सङ्ख्या औँलामा गन्न सकिने अवस्थामा पुगिसकेका छन्।

मिहिनेत बढी गर्नुपर्ने, सानो गल्तीले पनि समस्या समाधानमा ठूलो असर गर्ने जस्ता केही कारणले गणितप्रतिको आकर्षण घट्दै गएको हो। गणित विषयलाई हिसाब सिकाउने पाराले मात्र सिकाइएको हुँदा गणित शिक्षण प्रभावकारी बन्न नसकेको कुरामा विशेष जोड दिने गरिएको छ आजकल शिक्षक तालिमहरूमा। यसका साथै गणित सिक्दा निकै मेहनत गरेर सिक्नु पर्ने तर त्यसको उपयोग भने निकै सीमित क्षेत्रमा मात्र हुने हुँदा पनि गणिततर्फ विद्यार्थीको आकर्षण कम हुन गएको हो। गणित पढेर शिक्षण नै गर्नुपर्ने बाध्यता एकातिर छ भने विद्यार्थीको कम आकर्षणका कारण शिक्षकलाई कक्षामा गणित बुझाउन निकै कठिन हुँदै गरेको आजको अवस्थामा यो विषय बेवास्ता गरिने विषयजस्तो बन्दै गएको छ। यसका साथै भौतिक विज्ञान विषय लिएर स्नातक या सोभन्दा माथिल्लो तह अध्ययन गरेका शिक्षकले गणितको स्थानसमेत ओगटेकाले पनि गणित ओझेल परेको हो। यही फेरि एउटा कारण पनि हो कि गणितलाई निकै हाउगुजी बनाइयो र यो सधैँ विद्यार्थीका लागि तर्साउने विषय बन्यो। उक्त विषय अध्यापन गर्ने शिक्षक त्यसको नायक या खरो भाषामा भन्ने हो भने भूतको प्रतिमूर्तिजस्तै बन्न पुगेको छ। आजको समयमा आएर गणित शिक्षण आफैँमा निकै झन्झटिलो महसुस गरिएको छ। यस कारण पनि यसतर्फको आकर्षण निरन्तर घट्दै गएको यथार्थ हाम्रा सामु छिपेको छैन। अनि कसले पढिदिने त गणित ?

ठीक यही समयमा भित्रिएको नयाँ मूल्याङ्कन पद्दतिले विद्यालय स्तरका विद्यार्थीलाई गणित केन्द्रित भएर अध्ययन नगर्ने अवस्थामा पुर्‍याउने सम्भावना प्रशस्त छन्। सानो कक्षादेखि कक्षोन्नतिमा बानी परेको विद्यार्थी एसएलसीको मुखमा जोर जबर्जस्तीका बीच गणित पास गर्ने तरिकाले घोटिएर पढ्थ्यो। हुन त यस्तो बाध्यताका बीच गरिएको अध्ययनले उपलब्धि हासिल हुन त अवश्य नै खास भूमिका खेल्दैन। तर पनि यस बाध्यताले केही प्राविधिक मस्तिष्क भएका विद्यार्थीमा राम्रै परिवर्तन ल्याउँथ्यो र उनीहरूमा रहेको गणितीय अध्ययन निकै माथिल्लो स्तरसम्म पुर्‍याउन मद्दत गर्दथ्यो र गरिरहेको थियो। यसका कारण अलि बढी नै खडेरी परेको गणितको उच्च अध्ययनमा केही पानीका छिटा वर्षाइरहेका थिए। अब त यही बाध्यता पनि रहेन विद्यार्थीलाई अक्षराङ्क मूल्याड्ढन पद्दति लागू हुने भएपछि। गणित अनिवार्य विषय हुँदाहुँदै पनि यसको अध्ययन र यसका लागि आवश्यक पर्ने मिहिनेत ऐच्छिक बनिदियो। त्यस कारण पनि अबको समयमा गणितको उच्च शिक्षा शिक्षण टुहुरो बन्ने स्पष्ट दृश्य देखिएको छ।

यति हुँदाहुँदै पनि गणित विषय फेरि विद्यार्थीलाई मिहिनेती बनाउनका साथै प्राविधिक मस्तिष्क निर्माण गर्नका लागि एकमात्र ब्रहृमास्त्र हो। जसको उच्च भूमिका कुनै पनि अन्य विषयले निर्वाह गर्न असम्भव छ। त्यसैले विद्यार्थीबाट गणितको आकर्षण घट्दै गर्दा हामी चुप लागेर अनि हात बाँधेर नै बस्यौँ भने आगामी दिनमा हाम्रो देशको समुचित विकासका लागि अत्यावश्यक प्राविधिक जनशक्तिको खडेरी पर्ने निश्चित छ। तसर्थ हामी समयमै सचेत हुनु जरुरी छ। अन्यथा आजको मितिसम्म विदेशमा समेत निकै स्तरीय गणित अध्ययन गर्ने मस्तिष्क भएको विद्यार्थी उत्पादन गर्दै निरन्तर गणित विषयको श्रीवृद्धिमा जीवन सर्मपण गरिरहेका गणितज्ञहरूको चिन्ता अझ बढ्दै जानेछ। यसले हामीकहाँ आवश्यकीय समानुपातिक विकासको अवधारणा पूरा हुन दिने छैन।

आज विश्वविद्यालयका कक्षाहरूमा इतिहास, भूगोल, राजनीतिशास्त्र जस्ता निकै स्तरीय विषयमा देखिएको विद्यार्थीको खडेरी अब निकट भविष्यमा नै त्योभन्दा निकै समस्यामूलक बनेर गणित विषयमा सरुवा हुने अवस्था आएको छ। यसलाई उक्त अवस्थाबाट जोगाउनका लागि विद्यालय स्तरको गणित शिक्षणलाई निकै जीवनोपयोगी तरिकाले बालबालिकाको मस्तिष्कमा रमाइलो खेलको छाप छाड्ने शैलीले पढाउन आवश्यक छ। कक्षामा गणितको शिक्षक प्रवेश गर्दा गणितलाई सिंहजस्तो हिंस्रक होइन कि खरायो जस्तो अत्यन्तै मायालु छाप छाड्ने गरी प्रवेश गर्नु आवश्यक छ। यसका साथै हामीले विद्यार्थीलाई प्राथमिक तहमा नै गणितसम्बन्धी सहज ज्ञान सम्प्रेषण गर्नु जरुरी छ। जुन कार्य गणितको विशेष ज्ञान प्राप्त शिक्षक साथीहरूले गर्न सक्नुहुन्छ। सामान्यभन्दा सामान्य गणितीय अवधारणालाई सानै कक्षाबाट बानी पारिदिएपछि उपल्ला तहमा गएपछि त विद्यार्थी आफैँ खोज्न सक्छ गणितमा। जुन कुरा अन्य विषयमा सहज सम्भावना हुँदैन तर गणितमा हुन्छ।

यस यथार्थलाई मध्यनजर गरी विशेष ज्ञान भएका तथा अध्यापनको उत्कृष्ट शैली भएका शिक्षकलाई तल्लो तहको अध्यापन जिम्मा लगाउन हरेक विद्यालय प्रशासन तयार हुनु जरुरी छ। यस प्रकारको परिवर्तनले मात्र गणितसम्बन्धी वर्तमान अवधारणामा आमूल परिवर्तन ल्याउन सक्छ र विद्यार्थीमा सकारात्मक धारणाको विकास गरी राष्ट्रका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादनमा सहयोगी सिद्ध हुनेछ। तसर्थ आजसम्मको हाम्रो माथिल्लो कक्षामा लगेर एकैचोटि ‘घन घोटी बन्चरो’ गरेर पेलाउने प्रवृत्ति अन्त्य गरी तल्लो स्तरमा नै विशेष शिक्षण शैली केन्द्रित गर्नुपर्ने हुन्छ। यसो गर्न सकियो भनेमात्र गणित पढाउने शिक्षक र गणित विषय स्वयं नै विद्यार्थीका सच्चा मित्रजस्ता महसुस हुने थिए। यस कार्यले नै अचानक निकै चुनौतीपूर्ण बनेर आएको अक्षराङ्क मूल्याङ्कन पद्दतिलाई सही रूपमा प्रयोग गरी गणित विषयमा आवश्यक सुधार एवम् विकास गर्न हामीलाई समर्थ बनाउँछ। जसका आधारमा हामी हाम्रो आगामी पुस्तालाई समयको माग अनुरूप प्राविधिक ज्ञान सम्पन्न जनशक्ति निर्माणमा लगाएर देशको मुहार फेर्नमा केन्द्रित गर्न सक्नेछौँ।

Related News

सम्बन्धित समाचार

hero news full width