पाहुनालाई गाउँ नआउन आग्रह

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७६
Sikles

कास्कीको पर्यटकीय गाउँ सिक्लेस । फाइल तस्वीर : आदर्श समाज ।

रुपनारायण ढकाल : पोखरा, ११ चैत । कास्कीको पर्यटकीय गाउँ सिक्लेस र धम्पुसले कोरोना सन्त्रासका कारण केही समय गाउँ र वरपर घुम्न पुग्ने पाहुनाहरुलाई सेवा दिन नसक्ने जनाएका छन् ।

मादी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष सुरज कुमार गुरुङको अध्यक्षतामा सोमबार साँझ बसेको सरोकारवालाको बैठकले हाल बिश्वभर कोरोना भाईरसको संक्रमण फैलिएको र नेपालमा पनि संक्रमनको उच्च जोखिम देखिएकोले सिक्लेस, हुगु, कफुचे हिमताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई होटल र होमस्टेमा सेवा दिन नसक्ने स्पष्ट पारेको स्थानीय गेहेन्द्र गुरुङले जानकारी दिए ।

यही चैत्र १० गतेदेखि चैत्र २१ गतेसम्म सिक्लेसको कुनै पनि होट्ल, लज, गेष्ट हाउस र होमस्टेमा सेवा सुबिधा दिन नसक्ने ब्यहोरा जानकारी गराउँदै कोरोनाबाट बच्न र बचाउन सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्ने निर्णय गरिएको पनि उनले सुनाए । यो बिषम परिस्थितिलाई मध्यनजर राख्दै पर्यटक आवगमन स्थगनमा सहयोग गरिदिन सम्बद्ध सबैलाई गुरुङले समेत आग्रह गरेका छन् ।

सिक्लेसकै अर्का युवा देविजंग गुरुङले आफ्नो फेसबुक वालमा लेखेका छन्– विश्वब्यापी कोरोना भाइरसका कारण सिक्लेस, खिलाङ, पार्चे, सोधा र मैलातिं लगायतका मादी १ का पर्यटकीय ठाउँहरुमा घुम्न आउने जो कसैलाई ब्यवस्थापन गर्न नसकिने र यो प्रकोप अवाधिभर मादी १ मा नआउन सबैलाई सबिनय अनुरोध गर्दछु । गाउँपालिका भरिका बाकी ११ वटै वडाहरूले ढिला नगरौं ।

उनले उल्लेखित निर्णय भन्दा पहिला लेखेका थिए– मादी गाउँपालिका प्रवेशका प्रमुख नाकाहरु र गाउँ पालिकाका १२ वटै वडाका प्रवेश नाकाहरुमा स्वास्थ्य परीक्षणको लागि केही कदम चालियोस् अध्यक्ष ज्यु । यो बेला आफ्नो गाउँठाउँमा पर्यटक आईदिओस र प्रचार एबम् ब्यापार भइदियोस भनेर सोच्ने बेला होइन । जतिसक्यो एक ठाउँलाई अर्को ठाउँसंग, एक ब्यक्तिलाई अर्को ब्यक्तिसंग सम्पर्क बिच्छेद गराउन सकियो उति नै कोरोनाबाट सुरक्षित हुन सकियो ।

मादी महोत्सव या अन्य मेला महोत्सवहरु स्थगन गर्दैमा गाउँपालिका भित्र कोरोना आउदैन भनेर बसिरहनु मुर्खता हुनेछ । हाम्रो र राम्रो मादीका लागि र कोरोना रोकथामका लागि केही कदमहरु तत्काल चालियोस् । यो बेला बिरोध, सत्ता पक्ष, बिपक्ष भन्ने बेला छैन तसर्थ पर्यटकहरूलाई निश्चित् समयका लागि प्रवेश निषेध लगायतका केही यस्ता कठोर निर्णय गाउँपालिकाले तत्काल गर्न सकोस् ।

समुन्द्र सतहबाट दुई हजार मिटर उचाईमा अवस्थित पर्यटकीय गाउँ सिक्लेसमा एक दर्जन होटल तथा लज र २० घरमा होमस्टे सुविधा उपलब्ध छ । पछिल्लो क्रममा गाउँ घुम्न जाने पर्यटकको लर्को नै लागेको थियो । होचो स्थानमा रहेको भनिने कफुचे हिमताल घुम्न जाने पर्यटक पनि उत्तिकै बढेका थिए । तर कोरोना सन्त्रासले पछिल्लो क्रममा घुम्ने दरमा भने निकै न्यूनता आएको थियो । यही समयमा उल्लेखित भेलाले स्वास्थ्य सुरक्षाका लागि उल्लेखित निर्णय लिएको हो ।

सैगरी माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ७ ले पनि यस्तै खालको एक सूचना जारी गरेको छ । वडा अध्यक्ष सम गुरुङले लेखेका छन्– विस्वव्यापी महामारी रुपमा फैलिरहेको नोवल कोरोना भाइरसबाट हाम्रो देशलाई विश्व स्वास्थ्य संगठनले पनि उच्च जोखिममा राखेकोले हाम्रो माछापुच्छ्रे गा.पा. ७ न. वडा धम्पुस उक्त संक्रमणबाट सुरक्षित् रहन उच्च साबधानी अपनाउन र २०७६ चैत्र ९ गते बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसार अर्को सूचना सम्प्रेषण नभए सम्म पर्यटन व्यावसायीहरुलाई सम्पूर्ण होटेल, मोटेल, रेस्टुरेन्ट, होम स्टे, लज, गेस्टहाउस आदि बन्द गर्न अनुरोध गरिन्छ ।

साथै अन्तरिक तथा बाह्य पर्यटकहरुलाई सो अनुसार बुझ्न र बुझाउन पनि हार्दिक अपिल गरिन्छ ्र यसको कारणले पर्न गएको असुविधा प्रति सम्बन्धित सबैमा क्षेमा चाहन्छ  l विश्व संकटमा परेको बेला असहमति, रिस राग, नकारात्मक होइन सकारात्मक र संयमता रही आफु पनि बाचौ र अरुलाई बचाऔ ।

Related News

सम्बन्धित समाचार

hero news full width