कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०८१
Chitawan news

चितवन । चितवनमा रहेका २ हात्ती कतारलाई उपहारस्वरुप पठाउने तयारी गरिएको छ । कतारका अमीर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणक्रममा चितवन राष्ट्रिय निकुञ्जका ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामका हात्ती उपहार दिने तयारी गरिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले कतारलाई उपहारस्वरुप दिने २ हात्ती छनोट गरिसकेको बताए । तालिम प्राप्त ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’लाई कतार पठाउने गरी प्राविधिक तयारीका काम गरिएको उनले जानकारी दिए । ‘दुवै हात्तीको स्वास्थ्य परीक्षण लगायत काम सकिएको छ,’ उनले भने, ‘कतार सरकारका प्राविधिक यहाँ आएर हात्ती हेरिसकेका छन् भने नेपालका प्राविधिकहरु कतारमा हात्ती राख्ने ठाउँको प्राविधिक जाँच गरेर आइसकेका छन् ।’

उनले हात्ती लैजान कतार एयरलायन्स र कार्गोका टोलीसमेत निकुञ्ज आएर हात्ती हेरिसकेको बताए । वन मन्त्रालयका प्रवक्ता बद्रिराज ढुंगानाका अनुसार २०७५ सालमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा नेपालले जनाएको प्रतिबद्धताअनुसार हात्ती उपहार दिन लागिएको हो । अहिलेसम्म गैंडालगायत विभिन्न प्रजातिका वन्यजन्तु तथा आखेटोपहार मित्र राष्ट्रलाई उपहार दिएको नेपालले पहिलो पटक हात्ती उपहार दिन लागिएको उनले बताए । कतारका अमिरको भ्रमणका क्रममा नेपाल सरकारसँग हात्ती लैजान सम्झौताको तयारी भइरहेको ढुंगानाले बताए ।

निकुञ्जको सौराहास्थित हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसरमा रहेको भाले छावा ‘खगेन्द्रप्रसाद’ पर्यटकलाई फूलमाला लगाएर आशीर्वाद दिने सबैका प्यारा हात्ती हुन् । २०७६ माघमा निकुञ्जको खगेन्द्रमली पोष्टमा जन्मिएका खगेन्द्र सौराहास्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा हुर्काइएको छावा हो । ५ वर्ष पुग्नै लागेका खगेन्द्रलाई जदुसिंह थारुले निरन्तर तालिम दिएर हुर्काउँदै आएका छन् ।

‘कोशीकलीले जन्मदिएको खगेन्द्रलाई नभेटी पर्यटक फर्कंदैनन्’, थारुले भने, ‘यहाँ घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्रमध्येको एक खगेन्द्र नै हुन् ।’ खगेन्द्रको रेखदेख माहुत थारुले निरन्तर गर्दै आइरहेका छन् । उनले बिहान खानेकुरा (कुची) खुवाइसकेपछि राप्तीमा लगेर नुहाउने र दिनभर जंगलमा घुमाएर पुन तालिम केन्द्रमा ल्याउने गरेको बताए ।

वर्षौँदेखि रेखदेख गर्दै आइरहेका माहुत थारु पनि खगेन्द्रसँगै केही समयका लागि कतार जाने तयारीमा छन् । खगेन्द्रलाई कतार छाडेर आउनुपर्ने हुँदा दुख लागेको उनले प्रतिक्रिया दिए । खगेन्द्रसँगै चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालयको हात्तीसारमा रहेकी साढे ५ वर्षीया टुहुरो पोथी छावा रुद्रकली पनि लगिनेछ । हात्ती प्रजनन् केन्द्रमा पूजाकलीको कोखबाट जन्मिएकी रुद्रकली ३ महिनाको छँदा पूजाकलीको मृत्यु भएपछि उनी टुहुरो भइन् ।

पूजाकलीका ५ सन्तानमध्येको सबैभन्दा कान्छी रुद्रकलीको दिनचार्य पनि खगेन्द्रको जस्तै रहेको माहुत विजयदास थारु बताउँछन् । ‘रुद्रकलीले धेरै कुरा सिकिसकेकी छिन्’, उनले भने, ‘दिउँसो जंगलमा डुलाउन लैजाँदा उनी गैंडा, बाघलगायतका जनावरसँग डराउँदिनन्, रुद्रकली निडर स्वभावकी छिन् ।’ रुद्रकली निडरसँगै इमान्दार र भनेको कुरा मान्ने स्वभावकी रहेको थारु बताउँछिन् ।

खगेन्द्रसँगै रुद्रकली पनि उपहार स्वरुप कतार जाने भएपछि खुसीसँगै केही दुखी तुल्याएको माहुत रामदत्त चौधरी बताउँछन् । ‘खगेन्द्र र रुद्रकली हात्ती गत वर्ष तालिम लिनेमध्येका उत्कृष्ट हात्ती हुन् । उनीहरु दुवै स्वस्थ छन्,’ उनले भने । इमानदार, स्वस्थ र विदेशमा पनि सहज रुपमा बस्न सक्ने भएकाले यी दुई हात्तीलाई उपहार पठाउन लागिएको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोर सौराहाका शाखा अधिकृत मनपुरन चौधरी बताउँछन् । नेपाल सरकारले हात्तीसँगै उनीहरुलाई रेखदेख गर्दै आइरहेका माहुतेहरुलाई पनि सँगै कतार पठाउने तयारी गरेको उनले बताए ।

हालसम्म नेपाल सरकारले विभिन्न मित्रराष्ट्रहरुलाई ४७ वटा वन्यजन्तु तथा आखेटोपहार उपहार दिइसकेको छ । सरकारी तवरबाट हालसम्म घडियाल गोही र मगर गोहीका १ सय २० वटा अण्डा उपहार दिएको छ । हालसम्म सबैभन्दा धेरै २६ वटा गैंडा उपहार दिइएको छ । हात्ती उपहार भने पहिलो पटक दिन लागिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width