गौरीशंकर माविको वार्षिकोत्सव

जागिरे मानसिकताले गुणस्तर खस्कियोः तिमिल्सिना

आदर्श समाज सम्वाददाता
मंसिर २७, २०७६
gaurishanker school progrem photo_Fotor

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको साथमा गौरीशंकर माविको वार्षिकोत्सवबीच सम्मानित शिक्षक। तस्वीरःश्रीभद्र पौडेल/आदर्श समाज

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सरकारी विद्यालयमा कार्यरत शिक्षकको जागिरे मानसिकता नै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कनुको मुख्य कारण भएको दाबी गरेका छन्।

पोखरा–२५, हेमजास्थित गौरीशंकर माध्यमिक विद्यालयको बिहीवार ६२ औं वार्षिकोत्सव, अभिभावक दिवस, पुरस्कार तथा छात्रवृत्ति वितरण समारोहलाई सम्बोधन गर्दै उनले सो दाबी गरेका हुन्।

उनले निजी विद्यालय तुलनामा सामुदायिक विद्यालयका शिक्षक योग्य रहे पनि उनीहरुले आफ्नो क्षमता नदेखाएको टिप्पणी गरे। बिहान १० बजे विद्यालय पुग्नु, बिनातयारी घडी हेर्दै अल्छी गरी पढाउनु, दिउँसो ४ नबज्दै विद्यालय छाड्नु अधिकांश सामुदायिक विद्यालयका शिक्षकको दैनिकी बनेको तीतो अनुभव उनले सुनाए।

शिक्षक सेवा आयोगबाट छानिएर आएका शिक्षकको पठनपाठन किन कमजोर भयो भन्दै अध्यक्ष तिमिल्सिनाले पटक पटक प्रश्न गरेका थिए। उनले अभिभावकलाई पनि आफ्ना बालबच्चाको पठनपाठनमा ध्यान दिन सुझाव दिए। सरकारी विद्यालयमा राम्रो पढाइ भए कसैले पनि पैसा धेरै भएर आफ्ना बालबच्चा निजी विद्यालय नलाने उनको ठोकुवा थियो। हाल राज्यको लगानी एकातिर तर विद्यार्थी अर्कातिर हुनु निकै दुःखद अवस्था भएको उनले औँल्याए।

गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले देशको शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताए। कतिपय अवस्थामा त्यहाँ कार्यरत शिक्षकले आफ्नो पठनपाठनको विश्वसनीयता कायम गर्न नसक्दा स्वयम् उनीहरुकै छोराछोरी निजी विद्यालय पठाउने गरेको उनको टिप्पणी थियो। विद्यालय प्रशासन नै विद्यालय सुधारको जननि भएको उनले औँल्याए। कार्यक्रममा नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) पोखरा २५ का वडाध्यक्ष माधवशरण पौडेल, शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख नारायणप्रसाद सुवेदी, पूर्व प्रधानाध्यापक डवलबहादुर कुँवर, अभिभावक अग्निधर अधिकारी, विद्यार्थीद्वय आशीष तामाङ र अमृता दाहालले शुभकामना मन्तव्य राखेका थिए। उनीहरुले विद्यालयमा गुणस्तरीय शिक्षा हुनुपर्ने, पठनपाठनमा भाषिक माध्यमलाई महत्व दिन नहुने, गौरीशंकरलाई कास्की क्षेत्र ३ कै अब्वल विद्यालय बनाउनुपर्ने, निजी र सामुदायिक विद्यालयको पठनपाठन तुलना गरी दैनिक क्रियाकलाप संचालन गर्नुपर्ने लगायत सुझाव राखे। गौरीशंकर माविका अध्यक्ष चूडामणि तिम्सिनाले अग्रजको योगदानका कारण विद्यालय स्थापना भएको जनाए। उनले लगनशील भएर पठनपाठन गराउन शिक्षकलाई निदेर्शन पनि दिए। अध्यक्ष तिम्सिनाले लाम्पाटाको ११ रोपनी जग्गा विद्यालयको स्वामित्वमा ल्याउन थप पहल आवश्यक रहेको पनि औँल्याए। विद्यालय प्रतिवेदन प्रस्तुत गर्दै प्रअ अम्वरबहादुर कुँवरले ५ वर्षे विद्यालय सुधार योजना निर्माण गरी अगाडि बढेको बताए। उनले चालु आवमा स्थानीय ग्रामप्रकाश आधारभूत विद्यालयसँग एकीकरण प्रक्रिया अगाडि बढाउने तथा कक्षा ११/१२ मा कम्प्युटर शिक्षा लागु पर्ने तयारी भइरहेको अवगत गराए।

कार्यक्रमबीच सहायक प्रअ मानबहादुर कार्की, शिक्षक विनोद पौडेल, खेलशिक्षक विशालजंग कुँवर तथा उपराष्ट्रपति कपविजेता विद्यार्थीलाई सम्मान गरिएको थियो।

त्यस्तै विभिन्न अक्षयकोष तथा शैक्षिक एवम् अतिरिक्त क्रियाकलाप तर्फका पुरस्कार पनि वितरण भएको थियो। कार्यक्रमबीच विद्यार्थीले समूहगत तथा एकल प्रस्तति राखेका थिए।

विद्यालय अध्यक्ष चूडामणि तिम्सिनाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सहायक प्रअ मानबहादुर कार्कीले स्वागत तथा शिक्षकद्वय हरिप्रसाद गौतम र चेतनाथ अधिकारीले संयुक्तरुपमा संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width