समय, सन्दर्भ र युआरएल

आदर्श समाज सम्वाददाता
मंसिर २३, २०७६
url

–असफल गौतम

सन्दर्भ २०६४ सालको । महेन्द्रपुल हुलाक पछाडिबाट बास्तोलाथर निस्कने घुम्तीको देव्रेपट्टी तेस्रो तलामा युनिभर्सल कम्प्युटर सेन्टरसँग पंक्तिकार आबद्ध थियो । ठीक पारीपट्टी सोही तलामा इग्निशन् कम्प्युटर । सोही लहरमा जोडिएका भवनमध्ये पाँच सटर माथि नीरज फर्मा । फर्मा छेऊको सानो गल्लीबाट मधुरो प्रकाशमा माथिल्लो तलामा जाने बाटो पंक्तिकार पहिलो पटक छिरेको थियो । जहाँ तनुङ्गे र स्याङ्गजाली दुई भाइ मिलेर नेपाल डायोग्नोष्टिक सेन्टर सञ्चालन गरेका थिए । स्याङ्जाली बन्धु ईश्वर रानाभाटलाई भेट्नुको उद्देश्य थियो, नेपाल डायोग्नोष्टिक सेन्टरमा पुग्नुमा ।

सोहीक्रममा साक्षात्कार गराए, उनी ठाकुर पन्त भनेर । एकछिनको बसाइ, कर्मी मौरी जस्तै देखिने दुवैको व्यस्तता र पहिलो भेटमै देखाएको आत्मीयताले पटक–पटक त्यहाँ पुग्ने माहौल सिर्जना नगरेका होइनन् । यसरी चिनिएका पन्तले साहित्यको विद्यार्थी भनेर चिनेपछि मदन पुरस्कार प्राप्त पुुस्तक प्राकृत पोखराबारेको थोरबहुत चर्चाबाटै पंक्तिकारसँग सानिध्यता बढाए । सोही पहिलो र आजसम्मको अन्तिम साहित्यिक भलाकुसारीको चिनापर्चीमा जोडिएका पन्त पछिल्लो समय अनन्य मित्र बने ।

कालक्रमसँगैका भेटमा बढ्दो आत्मियतामा शालीन व्यक्तित्व, विनम्र व्यवहार र भद्र स्वभाव जाज्वल्यमान बनेर झल्किरहेको अनुभूत हुन्थ्यो । स्याङ्जाली मात्रै परिश्रमी होइनन् भन्ने भाव पैदा गराउन पन्तको कामको क्रियाशीलताबाटै प्रष्ट हुन्थ्यो । जीवनलाई जीवन्त त धेरैले बनाएका होलान्, पाखण्ड बनेर र घात गरेर । तर जीवनलाई जीवनकै रूपमा सार्थक बनाउन कर्मी मौरी नबनी सुखै छैन । जुन पन्तको जिन्दगीको पाठशालाबाट सिक्नैपर्छ ।

यसरी जीवनका कैयौं अध्यायलाई कर्मको मोहमा भुलाउँदै र जीवनयात्रा बढाउँदै आएका उनको जिन्दगीको पाश्र्वचित्र चिनजानका केही वर्षपछि रेडियो अन्नपूर्णबाट सुन्ने सौभाग्य जु¥यो । रातको पहिलो प्रहर, सुनसान परिवेशमा ध्यानमग्न भएर स्वेटर उधारिए जसरी जीवनसङ्घर्षका कथा उधारिँदा जीवनलाई कर्मी मौरी बनाउनुका पछाडिको रहस्य सोही समयले प्रष्टाएको थियो ।

समय सन्दर्भले जिन्दगीलाई किस्ता–किस्ता बनाई दिएपछि पछिल्लो किस्ता तिनै पन्तलाई पोखरा न्यूरोडको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) सँग ल्याएर जोडिदियो । त्यो जोडाइको आज छैठौं वसन्त प्रवेशको सन्दर्भ हो । पोखरा भन्दै गर्दा धेरै सन्दर्भ एक अर्काका पर्यायवाची बनेर आउँछन् । हिमाली–लोकसंस्कृति, सहारा–खेलकुद, पृथ्वीनारायण क्याम्पस–जोन सर, विन्ध्यवासिनी परिसर–तीर्थ श्रेष्ठ, लोकगीत–अली मियाँ, आदर्श समाज–कृष्णप्रसाद बास्तोला मात्र होइनन, अब ठाकुर पन्त भन्दा युआरएल एकअर्काका पर्यायवाची बनिसकेका छन् । यसरी पर्यायवाची बन्न जीवनका पापड बेलाउनको शृङ्खला सहज हुँदैन पंक्तिकारले राम्ररी बुझेको छ ।

व्यावसायिक संघसंस्था स्थापना र सञ्चालनमा आउनुका मुख्य उद्देश्य धेरै नाफा कमाउनुसँग जोडिएका हुन्छन् । तर चामलमा बियाँ फेला परे जस्ता विरलै भेटिन्छन् सामाजिक उत्तरदायित्व बहन गर्ने संस्था । त्यसमध्येको एक हो, युआरएल भनेर देख्नेहरूले भन्न सक्ने आधारशीला यसले खडा गरिसकेको छ । युआरएललाई पन्तको टिमले यस्तो संस्था बनाएको छ, जसले नाफाको २५ प्रतिशत सामाजिक क्षेत्रमा लगानी गरेर गण्डकी प्रदेशका प्रायः जिल्ला पुगिसकेको छ । आम नेपालीको स्वास्थ्यप्रति चिन्ता व्यक्त गरेको छ । स्वास्थ्य परीक्षण रिपोर्टका लागि महिनौ कुर्नुपर्ने समस्याको समाधान भित्र्याएको छ । राजधानी हानिनुपर्ने बाध्यता कम गराएको छ ।

विडम्बना, राष्ट्र समाल्नेहरू गरीब र निमुखाको पसिनाको करले आर्जेको नुनपानी खाएर सम्भव हुँदाहुँदै राष्ट्रघात गर्दै उपरचारका नाममा विदेश जान्छन् । पैसा हुनेहरू महङ्गा अस्पताल जान्छन् । तर, जो सामान्य ज्वरोमा सिटामोल र पखालामा जीवनजल फेला पार्न सक्दैनन् तिनै सीमान्तकृत समुदायलाई लक्षित गरेर युआरएल गाउँगाउँका बस्ती–बस्ती पुग्छ । प्रायः बाह्रै महिना विभिन्न संघसंस्थासँग समन्वय गरेर थाइराइड, मधुमेह लगायतका  निःशुल्क स्वास्थ्य शिविर लिएर यो टिम हिँडिरहेको देखिन्छ । आफूलाई पराई सम्झनेहरूलाई गुन लगाउन पुग्छ । दुश्मन देख्नेहरूको मित्र बनेर आउँछ । जसको नमूना वार्षिकोत्सवमा राजनीतिक आस्था र विचारभन्दा माथि रहेर कर्म गर्छ । मोफसलका सबै सञ्चारमाध्यमलाई दामासाहीले सम्झन्छ । यही असल विचारको विजारोपणकै कारण युआरएल सबैको प्रिय भएको छ ।

युआरएलल ेस्थापनाकालबाटै धेरै भन्दा धेरै सेवाग्राहीलाई सर्वसुलभ मूल्यमा उच्च गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । स्थापनाको पाँच वर्ष पूरा गर्दै गर्दा साढे २ लाख सेवाग्राहीलाई सेवा दिइसकेको छ । सेवा सँगसँगै यसले पाँच सय बढी चिकित्सक, एक सय बढी अस्पताल, पोलिक्लिनिक, क्लिनिकका ल्याबोरेटरीको विश्वास जित्न सफल भएको छ । यो मात्रै होइन, ५८ हजार ज्यादालाई त सित्तैमा सेवा दिएर समाजप्रति उत्तरदायी बन्दै आएको छ । यसबाट प्रष्ट हुन्छ यसको विश्वसनीयता ।

संस्थाप्रतिको सबैको माया र विश्वासकै उपज दुलेगौंडा र दमौलीमा स्याम्पल कलेक्सन सेन्टर र शाखा सञ्चालनको तयारी । यसरी एउटा संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दा हजारौं नेपाली लाभाविन्वत हुन्छन् । त्यसै गरेर पछिल्लो समय सेवाका नाममा व्यवसायबाट अकुत सम्पत्ति कमाएका निजी विद्यालयले २५ प्रतिशत सामाजिक सेवामा लगाइदिने हो भने कति विपन्नका छोराछोरी असल बनेर निस्कदा हुन ? सोचनीय प्रश्नले मथिङ्गल हल्लाउनु बाहेक निष्कर्ष फेला पर्दैन । तर उत्तर फेला पर्छ, नयाँ शिक्षा अधिकारी आउने बित्तिकै उनका परिवार र छोराछोरीलाई स्कुटर किनिदिएको, विद्यालयका हाकिमदेखि पिउनसम्मलाई शिक्षा पुरस्कार दिलाएको । तर छोडौं यी कुरा आज यहाँ, शिक्षा भन्दा स्वास्थ्यको सन्दर्भ आएको छ ।

स्वास्थ्य परीक्षण सबै ठाउँमा हुन्छन् तर युआरएल किन ? प्रश्न आउन सक्छ । हामी संस्थामा पुगेर अनुभव गर्न सक्छौं, त्यहाँको व्यवस्थापन पक्ष होस् या त्यहाँ हुने परीक्षणको गुणस्तर । कर्मचारीको दक्षता, प्रयोग हुने प्रविधि वा सेवाग्राहीको विश्वास । यी सबै सन्दर्भले गण्डकी प्रदेशको अग्रणी प्रयोगशालाका रूपमा युआरएल दर्ज भएको देख्न पाउनु आम नेपालीको गौरव र गरिमाको कुरा हो ।

समयको कालखण्डमा धेरै परिवर्तन आए तापनि समाजमा सौतेनी आमा र झड्केला सन्तानप्रतिका व्यवहार रुचिकर देखिँदैनन् । किनकि, टहटह लागेको जूनमा पनि दाग देखाउने गिरोह सक्रिय हुन्छ । युआरएललाई त्यही रूपमा देख्ने र हेर्नेहरू नहोलान् त ? यस्तो विषम परिस्थितिमा आज सबैले युआरएल–युआरएल भनिरहेका छन् किन त ? गम्भीर प्रश्न यहाँनेर छ । हो यही नै सफलताको राज हो, युआरएल परिवारको ।

उनीहरूको व्यक्तित आचरण जस्तो होस् चासोको विषय होइन, तर संस्थागत आचरण हेर्ने हो भने, चाहे अध्यक्षता गरेका सुशील थापाको व्यवहार होेस् । चाहे त्यहाँ आवद्ध विषयविज्ञ वरिष्ठ प्याथोलोजिष्ट डा. दिलाश्मा घर्ती मगर, निर्देशक दिनेशबाबु खडका वा ल्याब इन्चार्ज भूपेन्द्रराज पाण्डेको व्यवहार होस्  । यो मात्रै होइन, ल्याब टेक्नोलोजिष्ट यिनै पन्तको चेनअफ कमाण्डमा चल्ने कर्मचारी प्रशासनतर्फकाे टिम होस् ।

यो सबै टीमवर्क र टीमस्प्रिडकै कारण आज गण्डकी प्रदेशको पहिलो नम्बरमा युआरएल देखिएको छ । व्यक्तित्व अरुले बनाई दिँदैनन् आफैं बनाउने हो । जुन आफ्नै कर्मले बन्छ । आफू अनुकूल चल्ने व्यक्तित्वको चापी आफ्नै हातमा राख्ने सामथ्र्य यो टिमले जुटाएको छ । व्यक्तित्व र नेतृत्व असल भयो भने सकारात्मक सोच भएका करोडौं मन मुटु एकै ठाउँमा अटाउन सक्छन् यसैले इमान र स्वाभिमान अलिकति पनि नडग्मगाओस् । त्यो भयो भने समाजमा संस्थाको संस्थागत अस्तित्व अनि व्यक्ति बाँच्नुमा आत्मसम्मान फेला पार्न सकिन्छ । यसैले संस्थामा कहिल्यै फुट र गुटको राजनीति नउँदाओस् ।

संस्थाका गतिविधि मात्रै होइनन्, हरेक वार्षिकोत्सवलाई विशेष उत्सव बनाउनमा क्रियाशील रहँदै आइरहेको छ संस्था । यो टिमले तेस्रो वार्षिकोत्सव समारोहबीच ‘युआरएल पत्रकारिता पुरस्कार’समेत स्थापना गरेको छ । जसले सञ्चार कर्ममा लाग्नेलाई थोरबहुत राहत दिएको छ, जुन सराहनीय कार्य हो । शुरुआती वर्षमा गण्डकी प्रदेश कार्यक्षेत्र बनाएर स्वास्थ्य बिटमा क्रियाशील पत्रकारलाई पुरस्कार घोषणा गरे तापनि बिट पत्रकारिताको खडेरीले तेस्रो संस्करणसम्म पुग्दानपुग्दै पत्रकारिता पुरस्कार भइसकेको छ ।

नगद १५ हजार, ताम्रपत्र र दोसल्लासहितको पुरस्कारबाट पत्रकारद्वय ऋषि खतिवडा र यदुनाथ बञ्जरा पुरस्कृत भइसकेका छन् । यो वर्ष सुरेन्द्र पौडेल पुरस्कृत हुँदै छन् । पुरस्कृत भइसकेका र हुनेवाला मसीजीवीको कलमको मसी राष्ट्रघात र पाखण्डीहरूको मसिया बन्दा होइन, पेशागत धर्म र कर्ममा लाग्दा मसी कहिल्यै नसुकोस् यो सन्दर्भमा यही शुभेच्छा ।

सेवाग्राही गतिलो सेवाकै लागि सेवा केन्द्र पुग्छन्, त्यसमा दुई मत छैन । मिँयो गतिलो भयो भने दाइँ सफल हुन्छ, हामीले देख्दै आएको उदाहरण हो । धेरै मियाँहरू अगतिला परेकाले धेरै असफलता हात लागेका छन् । २५ वर्षदेखि डायोग्नोष्टिक सेन्टर सञ्चालन गर्दै आएका अनुभवी, मेहनती, शालीन व्यक्तित्वकै व्यवस्थापनमा युआरएलको टिम अगाडि बढेकाले स्थापनाको छोटो समयमै सबैको मुखमा झुण्डिएको छ । पन्त एउटा मियाँे मात्र हुन् । मियाँे गाडेर मात्र दाइँ हुँदैन । दाइँ हुनका लागि गोरु चाहिन्छ । मियाँमा नारिएका गोरु पनि इमान्दार हुनुपर्छ । पंक्तिकारलाई लाग्छ गोरु शब्द त्यसै भनिएको होइन, ‘मिलेर काम गरुँ भन्नु नै गोरु हो ।’

व्यक्तिगत तथा संस्थागत विकास, उन्नति र प्रगतिका लागि मिलेर केही गरौं भन्ने उनीसँग सिङ्गो टिम छ । त्यसैले युआरएल दिनप्रतिदिन प्रगति पथमा छ । यो पथका पथचारीका बीच सदा नङ्ग र मासुको सम्बन्ध रहोस् । अन्तमा, पोेखराका प्रतिष्ठित स्वास्थ्य प्रतिष्ठानका बीच हिजो ‘कर्मी’ बनेर कर्ममा लागेका पन्त अहिले ‘रानो’ बनेर सबैलाई जीवन सौन्दर्यशास्त्रको पाठ सिकाइरहेका छन् । उनकै व्यवस्थापनमा यसरी दिनप्रतिदिन सबैको प्रिय ल्याबोरोटरी बन्दै आएको युआरएललाई जीवन रहँदासम्म प्रिय देख्न पाइयोस्, संस्थागत प्रगतिको शुभकामना !

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width