बालविवाह रोक्न सक्रिय छन् किशोरीहरू

काशीराम शर्मा
कार्तिक १५, २०७६
indian-child-marriage-clipart-6_Fotor

बाँकेका आठवटै स्थानीय तहमा किशोरी सञ्जाल गठन गरिएका छन्। बालविवाह न्यूनीकरण तथा बालिकाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेर गठन गरिएका यस्ता क्लबहरूमा आबद्ध किशोरीहरू अहिले प्रथमतः आफू बालविवाहबारे बुझ्छन् र त्यसपछि अरुलाई बुझाउने गर्छन्।

बालविवाहबारे जानकारी दिन आयोजना हुने विभिन्न कार्यक्रमहरूबाट सिक्दै बालिकाहरूले आफ्नो गाउँटोलमा त्यसको प्रचार गरिरहेका छन्। बाँकेमा प्लान इन्टरनेशनल र स्याकले यस कार्यमा सघाउँदैआएका छन्। उनीहरूलाई बालविवाहको प्रतिकूल प्रभावबारे प्रशिक्षण मात्रै दिइएको छैन, उनीहरूको क्षमता अभिवृद्धिका लागि कार्यक्रम नै बनाएर विभिन्न गतिविधिहरूमा संलग्न गराइँदै आइएको छ।

“किशोरी क्लबमा आबद्ध भएपछि हामीले धेरै कुरा जान्ने अवसर पाएका छौं, ” बालबिवाहविरुद्ध सक्रिय राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका किशोरीहरूले भने–‘हामीले बुझेका कुरा आफ्ना घर, छिमेकमा पनि बुझाइरहेका छौं। ’ शुरुमा संस्थाको सहयोगमा क्रियाशील किशोरी क्लब अब सक्षम हुँदै गएका छन्। उनीहरू आफ्ना अधिकार के हुन् र कहाँ गएर अधिकार माग्ने भन्नेमा सचेत हुँदै गएका छन्। “किशोरी बुझ्ने हुँदै जाँदा उनीहरूविरुद्ध हुने कानून विपरीतका घटना रोक्न तथा न्यायका लागि पहल गर्न सहज हुँदै गएको छ, ” राप्तीसोनारी गाउँपालिका–७ मा बालविवाह रोकथाम परियोजना अनुगमनका लागि पुगेकी प्लान इन्टरनेशनलकी आशा बुढाले भने। स्याकले राप्तीसोनारी गाउँपालिकामा समावेशी किशोरी क्लब गठन गरेको छ। उक्त क्लब गत वर्ष माघमा गठन गरिएको हो जसमा २० जना किशोरी आबद्ध छन्।

किशोरी क्लबको नियमित बैठक बस्न राप्तीसोनारी गाउँपालिका–७ को वडा कार्यालयले एउटा कोठा उपलब्ध गराएको छ। त्यहाँ तालीम, खेलकूद सामग्रीदेखि कम्प्युटरसम्म उपलब्ध गराइएको छ। क्लबमा आबद्ध किशोरीहरू समूहमा कम्प्युटर सिक्छन्। गाउँमा कसैको बालविवाह हुन लागेको जानकारी आए त्यसलाई रोक्न किशोरीहरू योजना बनाउँछन् र खट्छन्। बेलाबेलामा उनीहरू बालविवाहविरुद्ध चेतनामूलक र्याली निकाल्छन्, सडक नाटकदेखि जनप्रतिनिधिसम्मलाई भेटेर झक्झक्याउँछन्।

गत वर्ष गठन भएको समावेशी किशोरी क्लबले पाँच वटा बालविवाह रोकिसकेको छ। त्यति मात्रै होइन आफ्नै उमेर नपुग्दा पनि उनीहरूले अभिभावकलाई उमेर नपुगी विवाह गर्नहुँदैन भनेर सम्झाउन सफल भएका छन्। समावेशी किशोरी क्लबकी सदस्य हुन् लक्ष्मी थारु। उनको १६ वर्षकै उमेरमा परिवारले विवाह गरिदिने प्रयास गरेको थियो।

“मैले रोई, कराई आफ्नो विवाह रोकें, ” उनले भनिन्, “किशोरी क्लबमा आबद्ध भएपछि अरुलाई सम्झाउँदै छु। जनेचतना जगाउँदै छु। बालविवाह रोक्दै छु। ” समावेशीकै सदस्य शर्मिला शाहको पनि ललाइफकाई बालविवाहका लागि आफन्तले गरेको प्रयास विफल भयो। शाहले आफ्नी आमालाई सम्झाइन् र मौकैमा उनको बाल विवाह रोकियो। “आफ्ना अभिभावकलाई सम्झाउन सक्ने हो भने बालविवाह रोक्न सकिन्छ, ” उनी भन्छिन्।

राप्तीसोनारी–७ मा रहेको पालिका स्तरीय समावेशी किशोरी क्लबकी आशा बुढामगरले जनचेतनाले समाजमा बालविवाह गर्नुहुँदैन भन्ने सन्देश दिनसक्ने भएकाले आफूहरूले जनचेतनाका गतिविधिलाई प्राथमिकता दिने गरेको बताइन्। “बालविवाह गर्दा आर्थिक, सामाजिक, मानसिक र शारीरिक रुपमा पर्ने असरबारे किशोरी र अभिभावकलाई सम्झाउने गरेका छौं, ” उनले भनिन्।

समावेशीमा आबद्ध किशोरीहरूले बालविवाह रोक्न खोज्दा समाजबाट आलोचना खेप्नु परेको बताउँछन्। “समाजलाई बुझाउन नसक्दा अप्ठ्यारो पर्ने हो, बुझेपछि बालविवाह रोक्न गार्हो हुँदैन, ” लक्ष्मीले भनिन्। परियोजना अनुगमनका क्रममा राप्तीसोनारी गाउँपालिकाकी अध्यक्ष धनीकुमारी खत्री र वडा ७ का अध्यक्ष रामलखन थारुले किशोरीहरूलाई आफूहरूको साथमा रहेको भन्दै आश्वस्त पार्दै आएका छन्। निडर भएर बालविवाहविरुद्धको अभियानमा जुट्न उनीहरू प्रोत्साहन दिन्छन्।

Related News

सम्बन्धित समाचार

hero news full width