ठिनी गाउँ : ऐतिहासिक बन्दुक, गुफा, निलगिरी र भुइँफूलहरु …

वृष्टि छायामा मुस्कुराउँछ ठिनी

Suraj Hazare Dahal Suraj Hazare Dahal
श्रावण ३२, २०७६

हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकामा अवस्थित ठिनी गाउँ प्राकृतिक र सांस्कृतिक हिसाबले महत्व बोकेको पर्यटकिय स्थल हो । ठिनी समुद्रि सतहदेखि करिब २९०० मिटरको उचाइमा रहेको छ । पानी कम पर्ने हिमालीपारीको वृष्टि छायामा परे पनि यो गाउँ हावाको बेगसँगै निलगिरीको काखमा मुस्कुराइरहेको देखिन्छ । यो गाउँ थकाली समुदायको पुख्र्यौली थलो समेत हो । १०० सय वटा घरहरु रहेको ठिनीमा १३ वटा घरहरुमा घरवास (होम स्टे)को सुबिधा रहेको छ । होम स्टेमा बस्नका लागि प्राय विद्यार्थी तथा आन्तरिक पर्यटकहरु आउने गरेका छन् ।

 

थकाली संस्कृति, परम्परा, भेषभूषाको जानकारी लिन ठिनीको होम स्टे उपयुक्त थलो हो । गाउँको समाजघरमा रहेको संग्रहालयले थकाली समुदायको अध्ययन गर्न सघाउ पुर्याएको छ । संग्रहालयमा सैयौं वर्ष पुरानो ३ वटा ऐतिहासिक बन्दुक, थकाली भाडाकुडा तथा थकाली पोशाकहरु संरक्षण गरि राखिएका छन् ।

जोमसोम बजारमा रहेको एअरपोर्टबाट झोलुंगे पुल कटेर करिब ४५ मिनेट हिडें पछि ठिनी गाउँ आइपुग्छ । जति अगाडि हिंड्यो त्यति नै निलगिरी आफ्नो नजिक आएको भान हुन्छ । बैशाख महिनामा स्याउको बोटमा फूलहरु लाग्छन् भने यतिबेला स्याउ राता भएका छन् । दिउँसोको १२ बजे आसपास बेजोड हावा लाग्ने गर्छ । थकाली सभ्याताको अध्ययन स्थल मात्र नभएर शहरको कोलाहालबाट उम्किएर केहि दिन एकान्तमा हिमाल हेर्दै समय कटाउन सकिन्छ । ठिनी गाउँबाट १५ मिनेटको उत्तर दिशामा हिउँ चितुवा (स्नो लियोपार्ड) नामक गुफा रहेको छ । ठिनी भन्दा माथि नाम्खु लेकमा हिम चितुवा प्राय देखिरहन्छन् । विसं २०७० मा एक्यापले गरेको क्यामरा ट्र्यापिङमा ४ वटा हिउँ चितुवाको तस्विर रेकर्ड भएका थिए । गुफाभित्रबाट ठिनी गाउँलाई चियाउन पनि सकिन्छ । यस्तै ठिनीबाट ३० मिनेट पैदल यात्रा गरि ढुम्बा ताल समेत जान सकिन्छ । ठिनी गाउँ आसपासमा राजा ठोकरचेनले शासन गरेको झरपझोङ किल्लाका भग्नावशेष, बौद्ध गुरु पद्मसम्भवले तपस्या गरेको कुछप गुम्बा जस्ता ऐतिहासिक एवं धार्मिक स्थलहरु समेत रहेका छन् ।

 

लेकाली हावा पानी पाइने मुस्ताङको ठिनीको पहाड प्राय खाली देखिए पनि केही भेगम खस्रा बुट्यानको थुप्रो र कहिं कतै कोणधारी रुख पनि देखिन्छन् । होम स्टेमा खानामा फापरको ढिंडोसँग मुस्ताङे राजमा, याक तथा च्यांग्राको सुकुटी र खाजामा फापरको रोटी र स्थानीय नुन चिया दिइन्छ । स्थानीय स्तरमा फलेका सागसब्जीहरुको स्वादले शहरमा पाइने थकाली खानाको स्वादलाई बिर्साइदिन्छ ।

 

मुक्तिनाथको दर्शन गरि फर्केकाहरुदेखि लिएर थकाली रहनसहन अध्ययन गरि प्रयोगात्मक रिपोर्ट तैयार पार्न विद्यार्थीको लर्को ठिनीमा लाग्ने गरेको छ । यहाँबाट मुक्तिनाथ मन्दिर २५ किमीको दूरीमा छ । विसं २०७४ को भदौमा ५ वटा घरहरुबाट शुरु गरिएको घरवासमा चाप बढेपछि अहिले १३ वटा घरमा सेवा बिस्तार गरिएको छ । ढुंगा, माटो र काठबाट बनेका ठिनीका सबै घरमा सेतो रङ पोतिएको छ । गुजुमुजु परेका सबै घरहरुमाथि दाउरा सजाएर राखिएका छन् । हाल एक्यापले रुख काट्न कडाइ गरेपछि ठिनीमा ग्याँसबाट खान पकाइन्छ ।

 

खर्च र बसाई : पोखराबाट बस तथा जीपबाट १० घण्टाको सडक यात्रा तथा पोखराबाटै हवाइ यात्राबाट ठिनी पुग्न सकिन्छ । बसले रु ११०० र जिपले रु १८५० भाडा लिने गर्छ । सडक मार्गबाट जाँदा रु ५००० को खर्चमा तिन दिन ठिनीमा बस्न र खान सकिन्छ । फर्केर आउँदा स्थानीय पानी घट्टामा पिसेको फापरको पिठो , स्याउको माँडा तथा स्याउको सुकुटी तथा राजमा कोसेलीको रुपमा ल्याउन सकिन्छ ।

 

 

 

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

सराङ्कोटमा बसाइँ बढ्ने आशा

होचो हिमताल कफुचेप्रति नेपालीको आकर्षण बढ्दो

प्याराग्लाइडिङको परीक्षण उडान

विकास योजनाबारे सांसद पहारीको छलफल

प्रमुख समाचार

कम्युनिष्टले मुलुकलाई उल्टो बाटोमा लग्यो -नेता रिजाल