नेपालले सिंगापुरसँग फाइनल खेल्ने

आइसीसी टी–२० विश्वकप छनोट

आदर्श समाज सम्वाददाता
श्रावण १२, २०७६
T-Twenty Nepali Team

वसन्त रेग्मी र सन्दीप लामिछानेको बलिङ र कप्तान पारस खड्काको उत्कृष्ट व्याटिङको सहयोगमा नेपालले शनिवार कुवेतमाथि ७ विकेटले जित निकालेको छ। यस जितसँगै नेपाल आइसीसी टी–२० विश्वकप एसिया फाइनल पुग्ने लक्ष्यको नजिक पुगेको छ।

सिंगापुरस्थित इन्डियाना एशोसिएसन क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले ब्याटिङ पिचमा कुवेतलाई ९ विकेटको क्षतिमा १४१ रनमा रोकेको थियो। त्यसपछि, पारसले विस्फोटक अर्धशतकीय पाली खेलेपछि नेपालले १५ दशमलव ५ ओभरमै ३ विकेटको क्षतिमा १४३ रन बनाएर टोलीलाई जित दिलायो।

नेपालले अब आयोजक सिंगापुरविरुद्ध आइतबार आफ्नो अन्तिम खेल खेल्नेछ। जुन खेल फाइनलमा परिमार्जित भएको छ। सो खेल जित्ने टिम आइसीसी टी–२० विश्वकप एसिया फाइनल्स २०१९ को च्याम्पियन बन्नेछ। नेपालले सिंगापुरविरुद्ध जितेमा युएईमा हुने अन्तिम ग्लोबल विश्वकपमा खेल्नेछ। सो प्रतियोगितामा शीर्ष ६ स्थानमा आफूलाई समेट्न सके नेपालले सन् २०२० अक्टोबलमा अस्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्नेछ। आयोजक सिंगापुर प्रतियोगितामा अपराजित एकमात्र टिम हो। यद्यपि, उसलाई अगाडि बढ्न आइतवारको खेलमा नेपाललाई रोक्नुपर्ने हुन्छ। अंक तालिकाको शीर्षस्थानमा रहेको सिंगापुरको तीन खेलबाट ५ अंक छ। शनिवारको जितसहित नेपाल ४ अंकसहित दोस्रो स्थानमा उक्लेको छ।

कुवेतविरुद्धको खेलमा उपकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर पारस खड्काले पहिलो विकेटका लागि २३ बलमा ४४ रनको साझेदारी गरेपछि नै नेपाल सहज जिततर्फ अग्रसर भएको थियो। ज्ञानेन्द्र १३ बलमा १९ रन बनाएर आउट भए। मोहम्मद कासिफको ओभरमा लगातार २ छक्का र १ चौका प्रहार गरेपछि ज्ञानेन्द्र क्याच आउट भएका थिए।

पारसले ४२ बलमा ६८ रन बनाएर ज्ञानेन्द्र आउट भएको दबाब नेपाललाई पर्न दिएनन्। टी–२० अन्तराष्ट्रिय खेलमा पारसको यो तेस्रो अर्धशतकीय पालि हो। नेपालका लागि यस संरचनामा ३ अर्धशतक बनाउने पारस एकमात्र ब्याट्सम्यान समेत हुन्। पारसको कप्तानी पालिमा ११ चौका र १ छक्का रन थियो। यसैगरी, अर्का अनुभवी ब्याट्सम्यान शरद भेषवाकर ३० बलमा ३८ रन बनाएर अन्तसम्म आउट भएनन्। उनले ४ चौका र १ छक्का पहार गरे। कुवेतका लागि कासिफले ३ विकेट लिए। कासिफले ज्ञानेन्द्र र पारससँगै १ रन जोडेका दिपेन्द्रसिंह ऐरीलाई समेत आउट गराए।

यसअघि, तेज बलर करण केसीले प्रारम्भिक ब्याट्सम्यान मित भाब्सरलाई ५ रनमा पेवेलियन फर्काउँदै नेपाललाई शानदार शुरुवात दिलाए। अदनान इद्रिस र सविना सान्दरुवानले दोस्रो विकेटका लागि तेज गतिमा ३१ रनका साझेदारी गर्दै पालि खेले।

कुवेतको पालिको छैटौँ ओभरमा वसन्तले अदननलाई २५ र सान्दरुवानलाई १५ रनमा आउट गरे। अदनानले ४ चौका प्रहार गरे। नवौँ ओभरमा पनि नेपालले २ विकेट लियो। स्टार स्पीनर सन्दीपले विलाल ताहिर र उस्मान वाहिदलाई शून्यमा पेवेलियन फर्काए। कुवेतको स्कोर ५ विकेटको क्षतिमा ६४ रन बनेको थियो।

कुवेतका मोहम्मद कासिफले ३६ बलमा ४ छक्का र २ चौकासहित अविजित ४९ रन बनाए। कप्तान पारसको अर्धशतकीय पालिले कासिफको स्कोर पनि नेपालका लागि सामान्य बन्यो।

नेपालका लागि सन्दीप र वसन्तले समान ३ विकेट लिए। वसन्तले ४ ओभरमा २० र सन्दीपले ४ ओभरमा २१ रन लिए। वसन्तले ३ विकेट लिएर टी–२० अन्तराष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक विविकेटकर्ताको सूचीमा आफ्नो नाम लेखाए। वसन्तको विकेट संख्या २५ पुगेको छ। सोमपालको खातामा २३ विकेट छ।

नेपाल दोस्रो स्थानमा

जितसँगै अंकतालिकामा नेपाल दोस्रो स्थानमा उक्लिएको छ। कुवेतविरुद्धको खेल अगाडि नेपाल अंक तालिकाको अन्तिममा थियो। ३ खेलबाट दुईमा जित हात पारेर ४ अंकसहित नेपाल अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको हो। कतारबाट अप्रत्याशित हार बेहोरेको नेपाललाई छनोट हुने सम्भावना कम हुँदै गएको थियो। नेपालले समूहमा रहेको अन्य राष्ट्रको प्रदर्शनमा निर्भर रहनुपरेको थियो। शुक्रबारको खेलहरुमा कतार र कुवेत पराजित हुन पुगेपछि नेपालले छनोटको लागि आफ्नै प्रदर्शनमा निर्भर हुनुपरेको थियो।

नेपालले आइतवार आयोजक सिंगापुरको सामना गर्दैछ। सिंगापुर अंकतालिकाको शीर्षस्थानमा छ। उसको ५ अंक छ। सिंगापुरलाई हराए मात्रै नेपाल प्रतियोगिताको विजेता राष्ट्र बन्नेछ। विश्वकप टी–२०, २०२० को छनोट खेलको लागि नेपालले एशियाको प्रतिनिधित्व गर्नेछ।

Related News

सम्बन्धित समाचार

hero news full width