आइसीसी टी–२० विश्वकप छनोट : कतारसँग नेपालको हार

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७६
T-Twenty Nepali Team

आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल पहिलो खेलमा कतारसँग पराजित भएको छ। उपाधिको प्रमुख दाबेदार नेपाललाई ४ विकेटले हराउँदै कतारले अघिल्लो चरणको यात्राको सम्भावना कायमै राखेको छ।

हारसँगै नेपाललाई भने ठूलो धक्का लागेको छ। १ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको कतारले २० औं ओभरमा ६ विकेट गुमाउँदै पुरा गरेको थियो। कतारका लागि इनाम उल हकले सर्वाधिक ४१ रनको योगदान दिए। १४ औं ओभरको चौथो बलमा रन आउट हुनुअघि उनले ३२ बलमा ६ चौका प्रहार गरे।

कतारले ओपनर फैसल जभिदलाई दोस्रो ओभरको पहिलो बलमा १ रनमा गुमाएको थियो। उनलाई सन्दीप लामिछानेले सोमपाल कामीबाट क्याच आउट गराए। पाँचौ ओभरको पहिलो बलमा खानलाई सन्दीप लामिछानेबाट १५ बलमा समान २ चौका र छक्का सहित रनमा २२ रनमा क्याच आउट गरे।

सन्दीपले दशौं ओभरको पाँचौ बलमा मोहम्मद तनबीरलाई ११ रनमा क्याच आउट गराए। त्यस्तै, सन्दीपले नै जाहीर इब्राहिमलाई १२ रनमा क्याच आउट गराए। तमोर शज्जाद ९ रनमा रन आउट भए। नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए। करण केसीले १ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय २२ रनमा समेटियो। नेपालका लागि युवा खेलाडी दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३४ रन बटुले। नोउमान सनवरले १९ ओभरको तेस्रो बलमा बोल्ड आउट गर्नुअघि दीपेन्द्रले ३५ बलमा १ चौका र १ छक्का प्रहार गरे।

नेपालले पहिलो विकेटका रुपमा कप्तान पारस खड्कालाई छैटौं ओभरको अन्तिम बलमा २८ रनमा गुमाएको थियो। इनवम उल हकको बलमा ठूलो सर्ट खेल्ने धुनमा क्याच आउट हुनुअघि पारसले १७ बलमा ४ चौका र १ छक्का प्रहार गरे। पारसले पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग ४९ रनको साझेदारी गर्दै नयाँ कीर्तिमान रच्न सफल रहे।

कतारसँग पहिलो विकेटका गरेको ४९ रनको साझेदारी नेपालले टी–२० आईमा गरेको हालसम्मको उच्च साझेदारी हो। यसअघि सन् २०१४ को विश्वकपमा हङकङसँगको खेलमा सुवास खकुरेल र सागर पुनले गरेको ३६ रनको साझेदारी पहिलो विकेटका लागि उच्च रहँदै आएको थियो।

नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल २३ रनमा आउट भए। तमोर शज्जादले नवौं ओभरको दोस्रो बलमा इकवाल हुसेनबाट ज्ञानेन्द्रलाई क्याच आउट गराएका थिए। यसअघि, ज्ञानेन्द्र मल्लले २४ बलमा २ चौका र १ छक्का प्रहार गरे।

११ औं ओभरको पहिलो बलमा शरद भेषवाकर समेत ठूलो सर्ट खेल्ने धुनमा ७ रनमा क्याच आउट हुन पुगे। १४ ओभरको पाँचौ बलमा सोमपाल कामीले २ रन लिने क्रममा ११ रनमा रन आउट भए। १८ ओभरको चौथो बलमा विनोद भण्डारी पनि ठूलो सर्ट खेल्ने धुनमा ३ रनमा आउट भए।

करण केसी ४ रनमा बोल्ड आउट भए। सन्दीप लामिछाने ९ रनमा रन आउट भए। नेपाललाई सस्तैमा रोक्न कतारका लागि इकवाल हुसेनले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए। तमोर शज्जाद र नोउमान शनवारले समान २ विकेट लिए। त्यस्तै इनवाल हसनको नाममा १ विकेट रह्यो।

यस्तो छ छनोट प्रक्रिया

आइसीसी टी–२० विश्वकप एसिया छनोटबाट २ देश ग्लोबल क्वालिफायरका लागि छनोट हुने भएपनि युएई ग्लोबल क्वालिफायरको आयोजक राष्ट्रका रुपमा छनोट भइसकेको छ। प्रतियोगिताबाट शीर्षस्थानमा रहने टोलीमात्र ग्लोबल क्वालिफायरमा छनौट हुने भएकोले पनि नेपाललाई सबै खेल जितेर आफूलाई अब्बल सावित गराउनुपर्ने कठिन स्थिति छ।

प्रतियोगिताबाट सफल भएर अगाडि जान सके पनि विश्वकपमा पुग्न नेपालले यसभन्दा अझ कठिन चुनौतीको सामना गर्नुपर्ने हुन्छ। ग्लोबल क्वालिफायरमा विभिन्न क्षेत्रबाट छनोट भएर आएका १४ राष्ट्रसँग प्रतिस्पर्धा गरेर शीर्ष ४ मा पर्न सकेमात्र नेपालको विश्वकप खेल्ने सपना सार्थक हुनेछ।

एसिया छनोटको पहिलो खेलमै कतारसँग हार बेहोरेपछि नेपाललाई ग्लोबल क्वालिफायरसम्म पुग्न नै कठिन देखिएको छ। ग्लोबल क्वालिफायर छिचोलेर विश्वकपकै मैदानमा उत्रने नेपालको सपना असम्भव जस्तै छ। यसभन्दा अगाडिका खेल नेपालका लागि सोचेजस्तो सहज छैन।

Related News

सम्बन्धित समाचार

hero news full width