दुःख विर्सायो पानीले

कालिकाका ३ सय २४ घरमा धारा

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७६
20190722_085455

पोखरा, ६ साउन । ज्योतिषीहरुको उद्गम स्थल, गाउँकै बीचमा प्रसिद्ध कालिका मन्दिर, व्राह्मण मान्यता अनुसार विहानै नुहाइधुवाई,पूजापाठ र जप गर्नुपर्ने, सँधै खानेपानीको दुःख, नुहाइधुवाई गर्नका लागि आधा घण्टाको बाटो हिँडेर कुवामा धाउनु पर्ने अवस्था थियो ।

प्रसिद्ध ज्योतिषी प्राणनाथ त्रिपाठीको जन्मगाउँ कास्कीको साविक कालिका गाविसको कालिकास्थान जुन ठाँउ ज्योतिषीहरुको उद्गम स्थल मानिन्छ । गाउँमा दिनप्रतिदिन जनसंख्या वृद्धिहँुदै गयो, पानी अभावसँगै खोजी गर्न थालियो, गाउँलेलाई पुग्नेगरी पानीको मुहान गाउँभन्दा १५ कीलोमीटर टाढाको दुरी साविक सिल्दजुरे गाविसको थाक खोलामा भेटियो ।

खाने पानीको अभाव साविक कालिका गाविसमा मात्र थिएन, वरपरका गाउँपालिका माझठाना र राखीमा पनि थियो । तीनवटै गाउँलाई पुग्ने पानी ल्याउन थाकखोला नै रोजियो, वि.स. २०४३ सालतिर थाकबाट ती गाउँमा पानी ल्याउन सरकारले योजना शुरु ग¥यो । योजनासँगै गाउँमा दुई वर्षमा पानी आयो तर २०/२५ घर बराबर एक धारा जडान भयो, गाउँलेलाई एक/दुई गाग्री पानी भर्न त सहज भयो तर नुहाइधुवाई गर्न भने अभाव नै भयो, कि त सबैले धारामा पानी भरेर गएपछि अर्थात एक घण्टा कुरेर नुहाउनु पर्ने अवस्था बन्यो ।

प्रजातन्त्रसंगै राजनीतिक पार्टीको नेतृत्व गर्ने नेता गाउँकै तीन÷चार जना भए, गाउँलेहरुले वषौदेखि नेतालाई पानीको योजना ल्याउन आग्रह गर्दै आए, वीसौ वर्ष भयो नयाँ योजनाको लागि कुनै बजेट नेताले ल्याउन सकेनन्, गाउँले पानीको खोजीमा रही नै रहे ।

त्यसै क्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीले विभिन्न दातृ निकायको सहयोगमा दुर्गम गाउँमा खानेपानी योजना संचालन गर्दै आएको थियो त्यो पनि साना योजनाहरु । वि.स. २०७३ सालमा कालिकाको बाटोहुँदै तत्कालीन सैमराङ गाविसको बरालडाँडामा नेपाल रेडक्रस सोसाइटी कास्कीको सहयोग र युनिका फाउण्डेशनको दि नेदरल्याण्डको आर्थिक सहयोगमा निर्मित खानेपानी उद्घाटन गरी फर्कने क्रममा कालिकावासीले उक्त टोलीलाई बाटोमा नै रोकेर कालिकावासीले भोग्दै आएको खानेपानीको अभावका इतिहास र वर्तमान अवस्थाको कथा सुनाए ।

पानीको अभावले गाउँमा सरसफाइमा कमी, तरकारी खेती तथा गाईभैंसीलाई पानी खुवाउन समस्या, त्यतिवेला खानेपानी उद्घाटन गर्न आएका युनिका फाउण्डेशन दि नेदरल्याण्ड नेपालका कन्ट्री डाइरेक्टर रमेश पौडेललाई सुनाए । गाउँमा पानीको मुहान छ तर गाँउभन्दा दुई हजार दुई सय ५० मीटर मुनी जामुनेबाट पानी गाँउमा ल्याउन लिफ्टिङ गर्नु पर्ने देखियो । गाउँलेको आग्रहकै कारण उक्त स्थानमा खानेपानी संचालन गर्न फाउण्डेशनले योजना स्वीकृति ग¥यो
कालिका–जामुने सोलार लिफ्टिङ्ग खानेपानी तथा सरसफाइ कार्यक्रम अन्तरगत परियोजना वि.स. २०७३ साउनबाट सुरुभई वि. स. २०७६ श्रावण ६ गते सम्पन्न भएको छ । युनिका फाउण्डेशनको दुई करोड ३२ लाख र स्थानीयको १ करोड ११ लाख गरी जम्मा ३ करोड ८५ लाखको लागतमा उक्त खानेपानी योजना सम्पन्न भएको हो ।

तीन वर्षमा सम्पन्न उक्त खानेपानी योजनाको स्वामित्व नेपाल रेडक्रस सोसाइटी कास्कीका निमित्त सभापति कृष्णराज तिमिल्सेनाले सोमवार एक कार्यक्रमबीच कालिका सोलार लिफ्टिङ खानेपानी तथा सफाइ उपभोक्ता समितिका अध्यक्ष तेजराज तिमिल्सेनालाई हस्तान्तरण गरेका छन् ।

एक घर एक धारा अन्तरगत ३२४ घरमा धारा जडानगरी खानेपानी उपलब्ध गरिएको छ भने उक्त खानेपाली योजनाबाट तत्कालीन कालिका गाउँपालिकाका वडा नं २, ४ का पुरै घरधुरी र वडा नं १, ३ र ८ का केही परिवार गरी करिक १८ सय जना लावान्वित भएका छन् । हाल पोखरा महानगरपालिका–२८ नं रहेको कालिकास्थानमा उक्त योजना संचालन आएपछि सरसफाइ, विद्यार्थीको पढ्ने समय बचत, तरकारी तथा गाइभैंसीलाई पानी खुवाउन सजिलो हुनुको साथै गाउँलेको आर्थिक उपार्जनमा समेत वृद्धि हुने जानकारी पोखरा–२८ का वडाध्यक्ष निर्मल दियालीले बताए ।

मुहानदेखि मूल ट्याङ्कीसम्म पानी लिफ्टिङ गर्न दुई स्थानमा मोटर राखिएको छ, भने एक दिनमा ६५ हजार लीटर पानी तान्न सकिने छ । उक्त योजना हस्तान्तरण कार्यक्रmममा वोल्दै नेपाल रेडक्रस सोसाइटी कास्कीका निमित्त सभापति कृष्णराज तिमिल्सेनाले खानेपानी योजना संरक्षण र संचालन गर्न स्थानीय उपभोक्ताको जिम्मेवारी रहेको वताए ।

Related News

सम्बन्धित समाचार

hero news full width