जलविद्युत्मा विद्यार्थीको चासो

आदर्श समाज सम्वाददाता
असार १७, २०७६
hydropower

लमजुङका विद्यार्थीले विद्युत् उत्पादनमा चासो दिन थालेका छन्। विज्ञान विषयका विद्यार्थीले प्रयोगात्मक कक्षाको सहयोगका लागि जलविद्युत् आयोजनाको निर्माण प्रक्रियासहित विद्युत् उत्पादनका प्रविधिबारे आयोजनास्थलमै पुगेर जिज्ञासा मेट्ने काम गरेका हुन्।

माध्यमिक तहमा अध्ययन गरिरहेका विद्यार्थी पानीबाट बिजुलीमा के कसरी रूपान्तरण हुन्छ भन्ने तौरतरिका जान्न आयोजनास्थलमै पुगेर चासो लिएको माथिल्लो मस्र्याङदी ‘ए’ जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए।

चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रो सगरमाथा पावर कम्पनीको ९० र नेपालको चितवन कोइ समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत लगानी रहेको उक्त आयोजना १६ अर्ब रुपैयाँमा निर्माण भएको हो।

उनका अनुसार मस्र्याङ्दी गाउँपालिका– ७ तराञ्चेस्थित महेन्द्रदेव माध्यमिक विद्यालयको कक्षा १० का विद्यार्थी जलविद्युत् निर्माण क्षेत्रमै आएर जानकारी सो प्रविधिबारे जानकारी लिएका हुन्। उनले भने ‘आँखाले देखेर सिकेको ज्ञान बढी दिगो हुने र सिक्न सजिलो हुन्छ।’

महेन्द्रदेव मावि कक्षा १० का विद्यार्थी रोशन गुरुङले विज्ञान विषयमा जलविद्युत्विषयक पाठबारे जलविद्युत् निर्माण क्षेत्रमै आएर जानकारी लिएको बताए। उनले भने, ‘विज्ञान विषयमा ‘धारा विद्युत् र चुम्बाकत्व’ पाठ छ। उक्त पाठ अध्ययन गर्दा जलविद्युत् आयोजनाको निर्माण क्षेत्रमै आएर जानकारी लिने ईच्छाअनुसार विद्यालयका शिक्षकसँग अनुरोध गरी आएका हौं।’

अर्का विद्यार्थी प्रतीक्षा सुयलले परियोजनास्थल आएर बाँधमा पानी जम्मा पार्ने, पावरहाउससम्म ल्याएर खसाल्ने र टर्वाइनमार्फत बिजुली निकालिने प्रक्रियाबारे जानकारी पाएको बताए। विज्ञान शिक्षक प्रेमलाल विश्वकर्माले आफ्नै टोल छिमेकका पानीबाट बिजुली निकालिए पनि यसबारे विद्यार्थीलाई खासै जानकारी नभकोले प्रत्यक्ष अवलोकनमा ल्याएको बताए। उनका अनुसार पानीबाट बिजुली उत्पादनदेखि घरसम्म ट्रान्सफर्मरमार्फत ल्याउने प्रक्रियाबारे विद्यार्थीले जानकारी पाए। यो सिकाइ उनीहरूका लागि अविस्मरणीय हुनेछ। उनले भने, ‘प्राविधिक बन्न चाहने विद्यार्थीका लागि यो अध्ययनले थप सघाउने छ।’

माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजना चिनियाँ लगानीमा निर्माण गरिएको नेपालको पहिलो आयोजना मानिन्छ। चिनियाँ लगानीमा चिनिया प्रविधि भित्र्याएर निर्माण गरिएकाले पनि यो आयोजनाको संरचना भिन्न मानिन्छ।

सिनो हाइड्रो सगरमाथा पावर कम्पनीले चिनियाँ लगानीमा निर्माण गरेको ५० मेगावाटको उक्त आयोजनाले विगत २ वर्षदेखि विद्युत् उत्पादन गरिरहेको छ।

फरक खालको संरचना र प्रविधि हेर्न विद्यार्थी साथै शिक्षक आउने गरेको सिनो हाइड्रोका जनसम्पर्क अधिकृत अधिकारीले बताए।

चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रो सगरमाथा पावर कम्पनीको ९० र नेपालको चितवन कोइ समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत लगानी रहेको उक्त आयोजना १६ अर्ब रुपैयाँमा निर्माण भएको हो। सन् २०१३ को जनवरीमा निर्माण शुरु गरिएको माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजनाले २०१७ जनवरीबाट व्यावसायिक विद्युत् उत्पादन थालेको हो।

आयोजनाका दोभाषे दयाराम दाहाल भन्छन्, ‘शिक्षक, विद्यार्थीले आयोजनाबारे अध्ययन, अवलोकन गर्ने गरेका छन्। भ्रमण टोलीले आफूहरूसँग बाँध क्षेत्र, विद्युत्गृह, सुरुङ साथै विद्युत्गृहा जेनेरेटर, टर्वाइन तथा मेसिनरी सामग्रीले गर्ने कामबारे जानकारी लिने गरेका छन्।’ उनका अनुसार यसले शिक्षक, विद्यार्थीलाई पठनपाठनमा सहयोग पुगेको अनुभव छ। आयोजनाबाट नयाँ कुरा पनि सिक्ने मौका पाएका छन्। उनले भने, ‘आयोजनाले निर्माण गरेको नेपालकै पहिलो सुरुङमार्गमा विद्यार्थीको आकर्षण बढेको छ।’

Related News

सम्बन्धित समाचार

hero news full width