पोखराका वडा–वडामा कनेक्टिङ रोड

२७ ठूला सडक स्तरोन्नति हुँदै

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०७६
c536d0e6173f89676bb040b93a97b72f_Fotor

मौजा जाने सडक स्तरोन्नति गरिँदै। तस्वीर : आदर्श समाज

साविकका गाविस गाभेर तत्कालीन पोखरा उपमहानगर र लेखनाथ नगरपालिका एकैचोटी पोखरा महानगरपालिका बन्यो। न भौतिक संरचना, न गतिलो सडक। महानगरपालिका बन्दा तत्कालीन मौजा गाविस हालको वडा २० मा सजिलोसँग गाडी गुड्दैनथ्यो। अहिले पनि मुस्किलले जीप बाहेक ठूला गाडी र एम्बुलेन्स मौजासम्म पुग्दैन। अघिल्लो वर्ष सामान्य मर्मत सम्भार गरेपछि आपत पर्दा काम चलाउ बाटो बनेको छ। यो सडकमा ग्राभेल र पक्की नाला बनाउन महानगरले थप करिब ७ करोड रुपैयाँमा ठेक्का दिएको छ। ६ करोड ६१ लाख रुपैयाँमा अगष्टभित्रै बाटोलाई ७ मिटर फराकिलो पार्ने गरि स्तरोन्नति गर्न ठेक्का सम्झौता भैसकेको वडाध्यक्ष सीम गुरुङले बताए। ‘एम्बुलेन्स जान नसकेर कोही बिरामी भए घरमै मर्छन्। सुत्केरी अस्पतालसम्म जान भ्याउँदैनन्। नगरपालिका भनेको छ तर नगर बस चल्दैन, ’ उनले भने, ‘कम्तिमा नगरबासी भएको अनुभूति नागरिकले गर्न पाउनुपर्छ। मौजा पनि पोखरा महानगरपालिका हो भन्ने विश्वास विकासबाट जनस्तरमा पुग्नुपर्छ। ’ अहिले भएको साँघुरो सडकलाई फराकिलो पार्ने र ग्राभेल गर्ने गरी काम अघि बढेको उनले बताए।

बाह्रैमासा गाडी चल्ने बनाउन १२ वटा सडक पहिलो र १५ वटा सडक दोश्रो प्राथमिकतामा राखेर बजेट छुट्याइएको छ।

मौजामात्रै होइन पछिल्लो समय गाविसबाट सिधैँ महानगर बनेका अधिकांश ठाउँको ब्यथा उही छ। कालिका, माझठाना, भरतपोखरी, निर्मलपोखरी, कृस्ती, पुम्दीभुम्दी, चापाकोट, भदौरे तामागी, कास्कीकोट, सराङ्कोट, पुरुञ्चौर, अर्मला, काहुँडाँडा, आर्वाविजय लगायत ठाउँमा राम्रोसँग गाडी गुड्ने सडक छैन। साविकका सबैजसो गाविसबाट महानगरपालिकामा सीधै जोडिने गरी कनेक्टिङ रोड निर्माणमा बढी जोड छ। सबै सडकमा कम्तिमा ६ मिटर सडक र १ मिटरको पक्की नाला निर्माण हुने महानगरका इञ्जिनियर राजु रेग्मीले जानकारी दिए। ‘महानगरमा जेठ लागेपछि गाडी चल्दैन। अब यो अवस्था लामो रहँदैन, ’ उनले भने, ‘एकवर्षभित्र बाह्रैमासा सबै सडकमा गाडी गुड्छन्। सडकका कारण रोकिनु पर्दैन। ’ वडालाई महानगरसँग जोड्न सबैभन्दा धेरै लगानी भएको छ। महानगरपालिकाले वडास्तरीय २७ वटा कनेक्टिङ सडकमा काम गरिरहेको छ। प्राथमिकताका आधारमा पहिलो र दोस्रो गरी २ चरणमा काम भैरहेको उनले सुनाए। ‘तत्काल आवश्यक पर्ने र बढी रणनीतिक सडकहरु पहिलो प्राथमिकतामा छन्। अरु विकल्प भएका ठाउँहरुका सडकलाई दोश्रो प्राथमिकतामा राखिएको छ, ’ रेग्मीले भने, ‘पहिलो प्राथमिकतामा परेका सडकलाई धेरै बजेट छुट्याइएको छ। काम पनि त्यहीअनुसार जिम्मा दिइएको छ। ’ पहिलो प्राथमिकतामा परेका सडकलाई दुरीअनुसार डेढ करोडदेखि १० करोडसम्म बजेट विनियोजन भएको छ।

वडा १८ मा पर्ने देउराली–कमेरेडाँडा सडकलाई १ करोड ६७ लाख, अर्मलाकोट–मौजा सडकलाई ४ करोड ७४ लाख, चितेपानी–रैकर सडकमा ४ करोड ८२ लाख, शिवालय–तिलाहार–चिलाउने खर्क सडकलाई ५ करोड ६४ लाख, मणिपाल–मौजा बिसौना–सिक्लेस सडकमा ६ करोड ६१ लाख, काहुँखोला–चिसापानी–मौजा डाँडागाउँ सडक ६ करोड ६४ लाख, खत्रीपहिरो–बेत्यानी–सौर्य सडक ६ करोड ८३ लाख, कात्रे–वाम्दी–घाटीछिना सडक ७ करोड ४ लाखमा ठेक्का दिइएको छ।

यस्तै, बागलुङ बसपार्क–कास्कीकोट सडक १० करोड २३ लाख, ठूलढुङ्गा–चैनपुर–सुरौंदी सडक १० करोड २३ लाख, तिलाहार–काउलेपानी–तारेभिर सडक २ करोड २७ लाख तथा आरुपाटा–कालिका सडक २ करोड २१ लाख रुपैयाँमा स्तरोन्नतिको काम हुँदैछ। सबै सडकको टेण्डर सकेर ठेक्कासमेत लागिसकेको महानगरले जनाएको छ। पहिलो प्राथमिकतामा परेका दुई वटा सडकको भने यसैवर्ष कालोपत्रे हुने छ। तिलाहार–काउलेपानी–तारेभीर र देउराली–कमेरेडाँडा सडक पूरै कालोपत्रे गरिने इञ्जिनियर रेग्मीले बताए। ‘ड्रेन र ग्राभेल भैसकेको ठाउँमा कालोपत्रे गरिन्छ। अन्ततिर ग्राभेल र ड्रेन नै बनाउने हो, ’ उनले भने।

‘धेरैतिर असारे विकासको समस्या छ। अहिलेसम्म हामीले पनि यो नियती भोग्दै आयौं, ’ मेयर मानबहादुर जिसी भन्छन्, ‘बहुवर्षे ठेक्का दिएपछि असारको प्रेसर कसैलाई पनि पर्दैन। समयमा काम हुन्छ। समयमै भुक्तानी हुन्छ। ’ एक वर्षभित्रमा पहिलो प्राथमिकताका १२ वटै सडकको काम सकिने र त्यसलाई कालोपत्रे गर्ने चरणमा लैजाने उनले बताए। दोश्रो प्राथमिकताका सडकहरुमा पनि भदौपछि आवश्यकताअनुसार बजेट विनियोजन गरेरै काम हुने उनको भनाइ छ। शिवालय–बतासे–मणिपाल, पामेदेखि वडा २४ जोड्ने सडक, पोखरा २१ को स्वास्थ्य केन्द्र–शिवढुङ्गा, खराने–राखिडाँडा, झाँझरमारे–ओख्ले, स्याङखुदी–कँडेल गाउँ, बिजयपुर–सुर्के मैदान, लेखनाथ शिरोमणि मार्ग, रातिखहरे घाट–निर्मलपोखरी, घार्मीखोला–जुम्लेटी–तितेपानी, आमाकुना–गुन्टेचौर–शेरा, कुलायन–मौजा, खपौंदी–फेदी, अमलाबिसौना–तल्लोथर डाँडा, ठूलाखेत–हर्पन–पञ्चासे सडकलाई दोस्रो प्राथमिकतामा राखिएको छ। ती सडकमा ७५ लाखदेखि डेढ करोड रुपैयाँसम्म विनियोजन गरिएको छ। भदौसम्म काम पूरा हुने मेयर जिसीले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width