पोखरा ५ का शैक्षिक संस्था सेनेटरी प्याडयुक्त

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०७५
pad 5 (1)_Fotor

पोखरा, १७ मंसिर । पोखरा ५ का सम्पूर्ण शैक्षिक संस्थालाई सेनेटरी प्याडयुक्त घोषणा गरिएको छ। शिक्षा समितिको आयोजना, वडा कार्यालयको सहयोग र सामाजिक जागरणका लागि नारी अभियानको पहलमा सोमवार उक्त घोषणा गरिएको हो।

महानगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष धनबहादुर नेपालीले वडा ५ भित्रका सम्पूर्ण शैक्षिक संस्था प्याडयुक्त घोषणा भएको भन्दै कार्यान्वयनमा जोड दिए। उनले देख्दा सानो भए पनि संवेदनशील विषय भएको भन्दै सेनेटरी प्याड व्यवस्थापनमा वडाले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। वडादेखि शुरुवात भए पनि महानगरपालिकालाई प्याडयुक्त बनाउन महानगरपालिका प्रतिबद्ध भएको र राम्रो व्यवस्थापन गर्नेलाई पुरस्कृत गर्ने संस्कारको समेत शुरु गर्ने बताए।

सामाजिक अभियन्ता पत्रकार एवं अधिवक्ता सुष्मा पौडेलले सेनेटरी प्याडयुक्त अभियानबारे सहजिकरण गर्दै निःशुल्क रुपमा शौचालयमा प्याड व्यवस्थापन गर्न, शौचालय सफा राख्न र खानेपानी समेत व्यवस्थापनमा विद्यालयले ध्यान दिनुपर्नेमा जोड दिइन्।

उनको पहलमा कास्कीलाई नेपालमै पहिलो पटक प्याडयुक्त एसएलसी सेन्टर रुपमा ५ वर्ष अगाडि नै घोषणा गरिएको थियो । त्यसकै निरन्तरतास्वरुप पोखरा ५ भने प्याडयुक्त वडा घोषणा गर्ने पहिलो हो ।

वडा सदस्य अञ्जु केसीले सामाजिक जागरणको पहल तथा वडाको सहयोगमा वडालाइ प्याडयुक्त घोषणा गरिएको बताउँदै सबैलाई सहयोग गर्न आहृवान गरिन्।

कार्यक्रममा बाराही मावि प्रअ शिवप्रसाद भण्डारी, विद्यार्थी सृष्टि केसी, समीक्षा पंचकोशी टोल सुधार समिति अध्यक्ष मैया अधिकारी, वडासचिव इश्वरी प्रसाद पोख्रेलले बोलेका थिए।

वडा ५ मा बाराही सहित धर्मस्थली, शान्ति निकेतन, समता, हिलसाइड, एकता सेकेन्डरी, वीरेन्द्र र  लिटिल वेल्स विद्यालय छन्।

Related News

सम्बन्धित समाचार

hero news full width