बागलुङका अग्नी पीडितलाई युनाइटेडको सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०८१
united help news photo

पोखरा । युनाइटेड क्लब पोखराले बागलुङ नगरपालिका १२ डाँडाखेतका अग्निपीडितलाई आर्थिक सहयोग गरेको छ । गत वैशाख १९ गते जंगलमा फैलिएको आगो बस्तीमा पस्दा डाँडाखेतका यदुनाथ पाध्याको घर, गोठ, वस्तुभाउ र दधिराम पाध्याको २ वटा गोठ र वस्तुभाउ जलेका थिए । उनै पाध्याको परिवारलाई युनाइटेड क्लबले आफ्नो विपद व्यवस्थापन कोषमार्फत् १ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको हो ।

उक्त अवसरमा बागलुङ नगरपालिका–१२ का अध्यक्ष कोपिलामणि शर्माले क्लबले बाग्लुङमा आइपुगेर आफ्नो वडामा आगलागीबाट क्षति भएको परिवारलाई राहत स्वरुप नगद सहयोग गरेकोमा धन्यवाद् दिए ।
क्लबका अध्यक्ष राजु श्रेष्ठले स्थापनाकालदेखि पोखरा महोत्सव गरी विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको क्लबले २०७२ को भूकम्प पश्चात् विपदको क्षेत्रलाई समेट्नेगरी छुट्टै विपद व्यवस्थापन कोष निर्माण गरी अगाडि बढेको बताए । उक्त कोषका लागि हरेक वर्ष तिहारको अवसरमा देउसीभैलो कार्यक्रम मार्फत रकम संकलन गरी दैवी प्रकोपमा परेकालाई युनाइटेड क्लबले राहत रकम प्रदान गर्दैै आइरहेको उनले बताए ।
आगलागी पीडित यदुनाथ पाध्याले आफूहरु जंगलमा लागेको आगो निभाउन जाने बेलामा घरमा कोही नभएको अवस्थामा एक्कासी जंगलबाट आएको आगोले घर, गोठ, बस्तुभाउ केही पनि बाँकी नरहेको बताए ।
कार्यक्रममा बागलुङ समाज पोखरा र बागलुङ अर्जेवा पोखरा सम्पर्क समाजबाट समेत आर्थिक सहयोग प्रदान गरिएको थियो । बागलुङ समाज पोखराबाट ३१ हजार १० र अर्जेवा पोखरा समाजबाट संकलित २० हजार रुपैयाँ बाग्लुङ समाज पोखराका अध्यक्ष ठाकुरप्रसाद सापकोटा र पदाधिकारीद्वारा आगलागी प्रभावितहरुलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा बागलुङ नगरपालिका– १२ का वडा सदस्य महानन्द शर्मा, युनाइटेड क्लबका कोषाध्यक्ष सूर्यबहादुर बानिया, बागलुङ समाज पोखराका निवर्तमान अध्यक्ष डिल्लीप्रसाद शर्मा, बागलुङ समाज पोखराका उपाध्यक्ष नरेश सुवेदी, कोषाध्यक्ष बालकृष्ण सापकोटा, दुमनाथ शर्मा लगायतको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width