किशोरीलाई आत्मरक्षा तालिम

आदर्श समाज सम्वाददाता
जेठ ९, २०८१
Kisoriii

स्याङ्जा । सामाजिक विकास कार्यालयको आयोजना तथा जिल्ला प्रहरी कार्यालको समन्वयमा किशोरीका लागि आत्मरक्षासम्बन्धी तालिम सम्पन्न भएको छ । २ दिनसम्म चलेको तालिमको समापनमा बोल्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले तालिमले सहभागी किशोरीलाई आत्मरक्षाबारे सिकेका ब्यावहारिक तथा सैद्धान्तिक कुरालाई आफ्ना दिदीबहिनी र साथीहरुलाई पनि सिकाउन सुझाव दिइन् ।

जोसुकै व्यक्तिबाट पनि हुने सानादेखि ठूलासम्मका हिंसामा शून्य सहनशीलता अपनाउन भन्दै हिंसा तथा अन्य अस्वाभाविक कुरा नलुकाइकन आफन्त तथा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरिन् ।

प्रहरी उपरीक्षक शालिकराम शर्माले जीवनको अत्यन्त महत्वपूर्ण किशोर अवस्थालाई सही मार्गमा हिंडाउनु पर्ने बताए । सकारात्मक सोच र सकारात्मक कार्यले मात्र जीवन सार्थक बन्ने उनको भनाइ छ । सामाजिक सदभाव कायम राख्न हत्या, हिंसा र आपराधिक घटनालाई न्यूनीकरणमा सबैको साथ र सहयोग आवश्यक पर्नेमा जोड दिए ।

कार्यक्रममा सहायक प्रधानाध्यापक प्रेम पौडेल, पत्रकार महासंघ स्याङ्जा उपाध्यक्ष भवानी अधिकारी, सरस्वती माविकी छात्रा अदिती गोदार लगायतले तालिमको आवश्यकता र प्रभावकारिताबारे जानकारी गराइन् ।

त्रिभुवन आदर्श माविमा सञ्चालित तालिममा ब्यावहारिक एवं सैद्धान्तिक तालिम प्रदान गरिएको छ । तालिममा प्रहरी उपरीक्षक शालिकराम शर्मा, सामाजिक विकास कार्यालयका प्रमुख शोभाचन्द्र रेग्मीले आत्मरक्षासम्बन्धी सैद्धान्तिक प्रशिक्षण एवं सहायक प्रहरी हवल्दारद्वय तासवीन पुन मगर र सुशिल पुनले आत्मरक्षा सम्बन्धी व्यावहारिक प्रशिक्षण दिएका थिए ।

सामाजिक विकास कार्यालय प्रमुख शोभाचन्द्र रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नासु द्रोणप्रसाद पनेरुले गरेका थिए । तालिममा पुतलीबजारका ९ वटा सामुदायिक विद्यालयका ५० जना छात्रा तथा किशोरीले भाग लिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width