बजेट अभावमा बागलुङका खानेपानी आयोजना अधुरै

आदर्श समाज सम्वाददाता
जेठ ९, २०८१
baglung khanrpani

ढोरपाटन (बागलुङ) ।  बागलुङमा वर्षौं अगाडि सुरु भएका खानेपानी आयोजना बजेट अभावमा सम्पन्न हुन सकेका छैनन् । जिल्लाका पाँच ठूला खानेपानी आयोजना बजेट अभावमा सम्पन्न हुन नसकेका हुन् । निरन्तर बजेट परेको अवस्थामा दुई वर्षमा सकिने ती आयोजना वर्षौंसम्म पनि अधुरै छन् ।

बडिगाड गाउँपालिका–३ मा चरम खानेपानीको अभाव भएपछि आर्थिक वर्ष २०६७÷६८ मा जिल्ला खानेपानी कार्यालयबाट ओखरगैँडा खानेपानी आयोजना परेको थियो । उक्त आयोजना हालसम्म पनि सम्पन्न हुन सकेको छैन ।

रु दुई करोड ८५ लाख २९ हजारमा काम सक्ने गरी सुरु भएको आयोजना १२ वर्षसम्म पनि ६४ प्रतिशत मात्रै काम भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले जनाएको छ । आयोजनाको लागत ठूलो हुने तर बजेट कम पर्दा समयमै सम्पन्न हुन नसकेको कार्यालयका प्रमुख किरण पौडेलले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु १५ लाख मात्रै विनियोजन गरेको भन्दै आयोजना सम्पन्न गर्न अझै रु एक करोड चार लाख ७० हजार आवश्यक पर्ने उहाँको भनाइ छ । उहाँका अनुसार यो योजनाका लागि हालसम्म रु एक करोड ८० लाख ५६ हजार खर्च भएको छ ।

ढोरपाटन नगरपालिका–२ र ३ मा आर्थिक वर्ष २०७४÷७५ मा पम्पिङ खानेपानी आयोजना परेको थियो । आयोजना परे पनि लामो समय बजेट नपर्दा हालसम्म २५ प्रतिशत मात्रै काम भएको छ । चालु आवमा सरकारले रु १५ लाख विनियोजन गरेको थियो ।

रु पाँच करोड ३४ लाख ५२ हजार लागतमा निर्माण हुन लागेको उक्त आयोजना सम्पन्न गर्न अझै रु तीन करोड आवश्यक पर्ने खानेपानी डिभिजन कार्यालयका प्रमुख पौडेलले जानकारी दिनुभयो । हालसम्म यो आयोजानामा रु ८५ लाख ७९ हजार खर्च भएको उहाँको भनाइ छ ।

जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेको उपल्लाचौरमा आर्थिक वर्ष २०७५÷७६ मा लामिचौर रमेटार खानेपानी आयोजना सञ्चालन भएको थियो । रु तीन करोड १४ लाख एक हजार लागतमा निर्माण थालिएको उक्त आयोजनाको हालसम्म ४५ प्रतिशत काम सम्पन्न भएको छ ।

चालु आवमा प्रदेश सरकारबाट रु १५ लाख बजेट विनियोजन भएको डिभिजन प्रमुख पौडेलले बताउनुभयो । उहाँका अनुसार आयोजना सम्पन्न गर्नका लागि अझै रु तीन करोड ५५ लाख छ हजार आवश्यक पर्दछ । आव २०७६÷७७ मा जिल्लाको बडिगाड गाउँपालिकामा भिरकटेरा खानेपानी आयोजना निर्माण सुरु गरिएको थियो । रु दुई करोड ९९ लाख ७९ हजार लागतमा निर्माण सुरु भएको आयोजनको हालसम्म ५० प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

चालु आवमा उक्त आयोजनाका लागि रु १० लाख बजेट विनियोजन भएको जनाउँदै आयोजना सम्पन्न गर्न थप रु एक करोड ४० लाख आवश्यक पर्ने प्रमुख पौडेलले बताउनुभयो । उहाँका अनुसार यस आयोजनामा हालसम्म रु तीन करोड १४ लाख एक हजार खर्च भइसकेको छ ।

बडिगाड गाउँपालिका–४, ५ र ८ मा आव २०७६÷७७ मा नेटाखर्क जलजला बृहत् खानेपानी आयोजना सुरु भएको थियो । छ करोड नौ लाख ९० हजार लागत निर्माण हुन थालेको यस आयोजनाको हालसम्म २० प्रतिशत काम सकिएको छ ।

चालु आवमा प्रदेश सरकारबाट रु १० लाख विनियोजन भएको भन्दै आयोजना सकिन अझै रु तीन करोड ७९ लाख ९४ हजार लाग्ने प्रमुख पौडेलले बताउनुभयो । यस आयोजानमा हालसम्म रु ६६ लाख २५ हजार मात्र खर्च भएको उहाँको भनाइ छ ।

“आयोजना निकै ठूला–ठूला छन् तर बजेट थोरै आउँदा समयमै काम सम्पन्न गर्न समस्या भएको छ । करोडौँका आयोजना छन्, बजेट रु १०÷१५ लाख मात्रै आउँछ, यसरी हेर्दा एउटा आयोजना सकिन वर्षौं लाग्ने देखिन्छ”, प्रमुख पौडेलले भन्नुभयो, “बजेट अभावका कारण चाहेर पनि समयमै काम सम्पन्न गर्न सकिरहेका छैनौँ । आएको जति बजेटले धमाधम काम गरिरहेका छौँ ।”

ढोरपाटन नगरपालिका–२ का विकास सुनारले आयोजना सुरु भएको सात वर्षसम्म जम्मा २५ प्रतिशत काम हुनु दुःखद भएको बताउनुभयो । हिउँदको समयमा बुर्तिबाङसहित आसपासका ठाउँहरुमा खानेपानीको चरम अभाव हुने भन्दै यसतर्फ सरोकार भएकाको ध्यान नजाँदा आयोजनाको कामले गति लिन नसकेको उहाँको गुनासो छ ।

यहाँका हजारौँ नागरिक वर्षौंदेखि खानेपानीका लागि लाइन कुर्नुपर्ने बाध्यतामा रहेका भन्दै ती आयोजना सरकारको प्राथमिकतामा पर्न नसकेको सुनारले बताउनुभयो । “कतै करोडौँका योजना पर्छन्, करोडौँ बजेट पनि पुग्छ, तर यहाँका हजारौँ जनता खानेपानीको समस्याबाट ग्रसित छन्, आयोजना सुरु पनि भएको वर्षौं बितिसक्दा पनि बजेट अभावले काम सम्पन्न भएका छैनन्”, उहाँले भन्नुभयो, “करोडौँका आयोजनामा जम्मा रु १५ लाख आउँछ, यसरी २०औँ वर्षसम्म पनि काम सकिँदैन, जनता सधैँ खानेपानीको समस्यामा हुन्छन् ।”रासस

Related News

सम्बन्धित समाचार

  • गण्डकीको बजेट ३३ अर्ब

    प्रकाश ढकाल असार ३, २०८१
    पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि करिब ३३ अर्बको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा.…
  • एमाले अन्नपूर्णमा चूडामणि

    आदर्श समाज सम्वाददाता असार २, २०८१
    पोखरा । नेकपा (एमाले) अन्नपूर्ण गाउँपालिकाको दोस्रो अधिवेशनले चूडामणि अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले एकदेव देवकोटालाई…
  • एनटिभिएको रक्तदान

    आदर्श समाज सम्वाददाता असार २, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेश र लायन्स क्लब अफ पोखरा लेक भ्यालीद्वारा संयुक्तरुपमा आयोजित रक्तदान…
  • अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम

    आदर्श समाज सम्वाददाता असार २, २०८१
    पोखरा । अनुपम म्यूजिक पोखराले २०२ औं शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ । शनिबार पोखरामा आयोजित समापन…
  • प्रदेशस्तरीय टि–२० क्रिकेट: कास्की र तनहुँ निरन्तर विजयी

    आदर्श समाज सम्वाददाता असार २, २०८१
    पोखरा । कास्की र तनहुँले गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगितामा लगातार जित निकालेका छन् । यो जितसँगै कास्की र…

hero news full width