माछापुच्छ्रे माविलाई बस सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०८१
machha bus

पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२ भुर्जुङखोलास्थित उक्त विद्यालयलाई बस उपहारस्वरुप प्रदान गरेको हो ।

नेपालका लागि भारतीय रक्षा सहचारी कर्णेल अमीत शर्माले विद्यालयमा आयोजित एक समारोहबीच बस शुभारम्भ गरे ।

प्रधानाध्यापक सन्तोष आचार्यले ७ सयभन्दा बढी विद्यार्थी अध्ययन गर्ने विद्यालयमा सार्वजनिक यातायात नियमित नहुँदा विद्यालय आउजाउ गर्न विद्यार्थीले भोग्नुपरेको कठिनाइ अब समाधान भएको बताए । विद्यालयको आवश्यकता बुझेर बस सहयोग गरेकामा उनले दुतावासप्रति आभार व्यक्त गरे । उनले भराभरी, करुवा, मिर्सा, धिप्राङ लगायत टाढाका गाउँबाट पैदल विद्यालय आउन २ घण्टा बढी समय लाग्ने गरेकाले ती बस सेवा सञ्चालन गरिने बताए ।

भारतीय रक्षा सहचारी शर्माले नेपाल र भारतबीचको सम्बन्ध अत्यन्त प्रगाढ रहेको बताउँदै आगामी दिनमा समेत सहयोगको प्रतिबद्धता जनाए । स्कुल बस सहयोगले २ देशबीचको सम्बन्ध थप बलियो बनाउन मद्दत पुग्ने उनको भनाइ छ । आफ्नो लागि अर्को मातृभूमि र पावन भूमि नेपाल रहेको बताउँदै नेपालमा सहयोग गर्न पाउँदा खुसी लागेको शर्माले उल्लेख गरे ।

गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले भारतीय सहयोगप्रति आभार व्यक्त गरे । उनले माछापुच्छ्रे गाउँपालिकाका अन्य विद्यालयहरुमा समेत सहयोगका लागि आग्रह गरे । वडाध्यक्ष गणेश आचार्यले स्कुल बस सुविधाबाट सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन र शैक्षिक गुणस्तर वृद्धि गर्न सहयोग पुग्ने बताए । विद्यालय व्यवस्थापन समिति पूर्व अध्यक्ष बमबहादुर गुरुङले दूतावासबाट बस प्राप्त गर्नका लागि लामो समयदेखि गरेको प्रयास अहिले सफल भएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width